प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी पनि शान्तिपूर्ण, भयरहित वातावणमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्याएकी छिन् । प्रधानमन्त्रीले आज बालुवाटारमा आह्वान गरेको सर्वदलीय बैठकलाई सम्बोधन गर्दै निर्वाचन आयोग, सुरक्षा निकायका सबै अङ्गलगायत निर्वाचनसँग प्रत्यक्ष जोडिएका राज्यका निकायहरू निर्वाचनका लागि तयार रहेको जनाउँदै प्रतिनिधिसभाको निर्वाचन फागुन २१ भन्दा पछाडि नजाने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।
“चुनाव हुन्छ कि हुँदैन भन्ने अब नसोचौँ, कसरी चुनाव सफल पार्ने भनेर सोचौँ, सबैले एकचित्तले सोचेमा चुनाव नहुने कुरै छैन, १२६ वटै दलले चुनाव हुनुपर्छ भन्ने धारणा राख्नुपर्छ । हामी एकमत भयौँ भने निर्वाचनमा कसैले खलल पार्न सक्दैन, खराब तत्वले आक्रमण गर्न सक्दैन,” उनले भनिन् । उनले सुरक्षाको पहिलो कडी जनता नै भएको उल्लेख गर्दै त्यसपछि मात्र प्रहरी, सशस्त्र, भूतपूर्व सुरक्षाकर्मी भएको उल्लेख गरिन ।
“अहिलेको परिस्थितिमा हरेकले भनिरहेको एउटैमात्र बाटो निर्वाचन हो, यसबाहेक अर्को विकल्प छैन, हामी जेनजी आन्दोलनबाट आयौँ तर दलका विरोधी होइनौँ, राजनीतिक दललाई स्थापित गर्न नै चुनाव चाहिएको हो भनेर यहाँहरूले बुझ्नुपर्छ,” उनले भनिन्, “निर्वाचन आयोगले तत्कालै सक्रिय भएर निर्वाचनको तयारी अघि बढाएको छ, सुरक्षा निकायको प्रस्तुतिले हामी सक्रिय र सक्षम छौँ भनेको छ, सेनाले पनि आफ्नो काम सुरु गरिसकेको छ, प्रहरीले निरन्तर कानुनीराज स्थापनाका लागि काम गरिरहेको छ ।”
प्रधानमन्त्री कार्कीले आज भएको सर्वदलीय बैठकले दलहरू पनि निर्वाचनका लागि तयार रहेको जनाएको उल्लेख गरिन । “आज जुन भेला भयो, अहिलेसम्मकै महत्त्वपूर्ण हो भन्ने लागेको छ, समग्रमा निर्वाचन होस् र हुनुपर्छ भन्ने आवाज नै यहाँ सबैको रह्यो, कहीँकतै आशङ्काका कारण छन् भने पनि तिनले हामीलाई सचेत गराउँछन् र अगाडि बढ्न मद्दत गर्छन,” उनले भनिन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस