अर्थ संसार, काठमाडौं - कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ख्याल गर्दै आजदेखि लामो दूरीका सवारीसाधन आवागमन रोकिएको छ ।
सरकारको आजदेखि लामो दूरीका सवारीसाधन रोक्ने निर्णयलाई कार्यान्वयन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको आइतबार बसेको बैठकले आजदेखि लामो दूरीका सवारीसाधन आवागमन रोक्ने निर्णय गरेको थियो ।
सवारीसाधनमा हुने भीडभाडका कारण सो भाइरसको सङ्क्रमणको जोखिम बढ्ने जनाउँदै सरकारले चैत २१ गतेसम्म सार्वजनिक सवारीसाधन रोक्ने निर्णय गरेको थियो ।
महासङ्घका महासचिव सरोज सिटौलाले सरकारले गरेको निर्णयअनुसार नै लामो दूरीका सवारीसाधन आइतबार राति १२ बजेदेखि रोकिएको जानकारी दिएका छन् ।
“काठमाडौँ उपत्यकामा र छोटो दूरीमा चल्ने सवारीसाधन भने रोकिएका छैनन्, लामो दूरी कतिलाई मान्ने भन्नेबारे आज मन्त्रालयमा बैठक बस्दैछ”, उनले भने । कलङ्कीका स्थानीय व्यवसायी वीरेन्द्र घिमिरेले पोखरा, चितवन, गोेरखा, धादिङ, लमजुङ जाने सार्वजनिक सवारीसाधन फाट्टफुट्टरुपमा सञ्चालन भइरहेको जानकारी दिए । - रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस