अर्थ संसार, काठमाडौं - नारायण न्यौपाने धेरै वर्षपछि ठीक समयमा उपयुक्त मनसुन र जनशक्तिको उपलब्धताले ग्रामीण भेगमा यस वर्ष बर्खे खाद्यान्न उत्पादनमा वृद्धि हुने आशा गरिएको छ ।
कोरोना भाइरस (कोभिड–१९)को जोखिम नियन्त्रण तथा रोकथामका लागि गरिएको बन्दाबन्दी (लकडाउन) का कारण बिचल्लीमा परेका श्रमिक घर फर्किएर बाँझो जमिन खनीखोस्री बालीनाली लगाउन शुरु गरेका रामेछाप सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामा बताउनुभयो । मुलुक सङ्घीयतामा प्रवेश गरेको चार वर्ष बितिसके पनि उपयुक्त अवसर र रोजगारीका लागि शहरमा केन्द्रित जनशक्तिलाई कोभिड–१९ को सन्त्रासले गाउँ फर्कन बाध्य तुल्याएपछि दूरदराजका गाउँबस्तीमा अहिले मानिसको चहलपहल बाक्लिएको हो । कोभिड–१९ बाट सिर्जित असहज परिस्थितिले ग्रामीण भेगका जनतालाई आफ्नो जन्मथोलो फर्कन र लामो समयदेखि बाँझो रहेका खेतबारी र भिरपाखामा बालीनाली लगाएर आत्मनिर्भर बन्नलाई प्रेरणा प्रदान गरेको छ । कृषि कर्ममा लाग्न आह्वान रामेछापको मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतले भन्नुभयो, “कोभिड–१९ को जोखिमका कारण गरिएको बन्दाबन्दीपछि ठूलो सङ्ख्यामा रामेछापवासी घर फर्कनुभएको छ, अब बाँझो जमिन नराख्न र कृषि कर्म लाग्न हामीले उहाँहरुलाई प्रेरित गरेका छौँ, सहजरुपमा बीउबिजन र मलखाद उपलब्ध गराउन कोसिस भइरहेको छ ।” शहरमा दैनिक गुजारा गर्न नै सङ्कट भएपछि कतिपय स्थानीय तहले आफ्ना नागरिकलाई उद्धार गरी यातायातको व्यवस्था गरेर भएपनि गाउँ पु¥याएका थिए । काठमाडौँबाट ठूलो सङ्ख्यामा घर फर्कने दोलखा, रामेछाप, सिन्धुली, ओखलढुुङ्गा, अर्घाखाँची, रोल्पा, रुकुम, सल्यान, कैलालीलगायतका जिल्लाका नागरिक थिए । विश्वभर नै कोभिड–१९ जोखिम रोकथामका लागि सामाजिक दूरी कायम राख्नु पर्ने भएकाले एक मात्र उपाय लकडाउन बन्न गएको छ । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५० भन्दा बढी भए पनि हालसम्म यसबाट कसैको पनि ज्यान गएको छैन । एकाघरमा बस्ने संस्कृतिको पुनरागमन रोजगारीका लागि युवापुस्ता शहर र विदेश पलाएन भएपछि बूढाबूढी मात्र भेटिने गाउँबस्तीमा तीनै पुस्ताको जमघटले एकाघरमा रहने बस्ने नेपाली संस्कृतिलाई ब्यूँताएको छ । कोरोनाको कहरले धेरैलाई सङ्कट र त्रास फैलाए पनि नेपाली गाउँबस्तीका लागि भने अहिले अवसर प्रदान गरेको छ । अहिले भइरहेको वर्षाका कारण तराई र पहाडी जिल्लामा खासगरी मकैलगायतका तुलफूल लगाउन उपयुक्त वातावरण बनाएको छ । सिन्धुली दुधौली नगरपालिका प्रमुख घनश्याम राउतले भन्नुभयो, “ठूलो सङ्ख्यामा घर फर्केका नागरिकलाई तरकारी खेती, अन्नबाली र पशुपालन संलग्न गराएर उत्पादकत्व कसरी बढाउन सकिन्छ भनी छलफल शुरु गरेका छौँ ।” घर फर्केका नागरिकलाई कृषिमा आकर्षण गर्न तरकारी खेती, माछा, भैँसी, गाई, बाख्रापालन र बीउबिजनमा दिँदै आएको अनुदानको दायरालाई फराकिलो तुल्याई सहुलियत दरमा कर्जा प्रवाहका लागि पहल गरिने उहाँले बताउनुभयो । उदयपुरमा कोरोना सङ्क्रमित भेटिएसँगै सिन्धुलीको पूर्वी क्षेत्रका बासिन्दामा भने अहिले कोरोनाको त्रास बढेको छ । श्रमिकलाई कृषिमा जोड्न वडालाई रु ३० लाख मरिण गाउँपालिका अध्यक्ष पानीराज वमजनले लकडाउनपछि धेरै सास्ती खेपेर हिँडेरै गाउँ आइपुगेका श्रमिकलाई अब कृषिमा जोडेर अघि बढ्नुपर्छ भनेर प्रत्येक वडालाई कृषिका लागि रु ३० लाख रकमको व्यवस्था गरिएको प्रतिक्रिया दिनुभयो । घर फर्केका र अत्यन्त गरिब घरपरिवारलाई वितरण गर्न लागिएको राहतलाई वस्तुवादी र व्यावहारिक बनाउन सबै नागरिकसँग लिने काम भइरहेको उहाँले बताउनुभयो । लकडाउनको घोषणापछि कोरोना भाइरस नियन्त्रणमा योगदान त पुगेकै छ, यातायात र मानिसको चहलपहल कमीका कारण वातावरणमा सकारात्मक प्रभाव पर्न गई शहरका सडक छेउमा रोपिएका बोटबिरुवाका पाउला मनमोहक हरियाली दृश्य प्रदान गरेको छ । लकडाउनका कारण शहरबाट गाउँघरमा ठूलो सङ्ख्यामा मानिस गएपछि त्यहाँ जोहो गरिएको खाद्यान्नले तत्कालको माग धान्न कठिन हुने हो कि भन्ने चिन्ता पैदा गरेको छ । कतिपय स्थानीय तहले राहत वितरणमा रेकर्ड कायम राख्ने होडबाजीले आवश्यकताभन्दा बाहिर गएर वितरण गरिएको भनी आलोचनासमेत भएको छ । उत्पादन र श्रमसँग जोड्न तालिम सुनकोेशी गाउँपालिकाले शहरबाट फर्केका नागरिकलाई आफ्नो पुरानै पेशा कृषिका माध्यमबाट आत्मनिर्भर हुन आह्वान गरको छ । उक्त गाउँपालिका अध्यक्ष दीपा बोहराले गाउँपालिकाभित्रका १८ देखि ४० वर्ष उमेर समूहका युवायुवतीलाई उत्पादन र श्रमसँग जोड्ने तालिम प्रदान गरी सुपथ मूल्यमा बीउबिजन उपलब्ध गराएर आयआर्जनमा संलग्न हुन प्रेरित गर्ने कार्यक्रम बनाउँदै गरेको जानकारी दिनुभयो । सङ्कटमा जन्मथलो र विपत्तिमा आफन्त सम्झिन्छन् भन्ने कुरा कोभिड–१९ को जोखिम नियन्त्रणका लागि भएको लकडाउनपछि पुरानो थलो सम्झँदै गाउँघरमा पुगेको मानिसको लर्काेले पुष्टि गरेको छ । –––
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस