Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल ल्याइने २४ हजार १४८ नागरिकको सूची तयार, कुवेतबाट आज ३ सय फर्कंदै

अर्थ संसार

विहीबार, २९ जेठ २०७७, ०७ : ४२ मा प्रकाशित

नेपाल ल्याइने २४ हजार १४८ नागरिकको  सूची तयार,  कुवेतबाट आज ३ सय फर्कंदै

अर्थ संसार, काठमाडौं । सरकारले विदेशबाट पहिलो चरणमा स्वदेश ल्याउनुपर्ने नागरिकको तथ्याङ्क  सार्वजनिक गरेको छ । गत शुक्रबारदेखि संयुक्त अरब इमिरेट्स (यूएई) र म्यानमारबाट कोरोनाका कारण अलपत्र अवस्थामा रहेका नागरिकलाई स्वदेश ल्याउन थाले पनि पहिलो चरणमा ल्याउनुपर्नेको तथ्याक सोमबार मात्रै बाहिर ल्याएको छ ।  

सरकारले तोकेको प्राथमिकताको सूचीका आधारमा चार्टर्ड उडानमार्फत तत्काल २४ हजार १४८ नेपालीलाई स्वदेश ल्याउन लागेको छ । 

दूतावासबाट अहिलेसम्म उपलब्ध विवरणअनुसार  पहिलो चरणमा साउदी अरेबियाबाट छ हजार ६२४ जना, मलेसियाबाट छ हजार ४२५, कतारबाट तीन हजार ६०८ जना, संयुक्त अरब इमिरेट्स ९यूएई०बाट ४१० जना, बहराइनबाट ३७२, ओमानबाट ६५६, कुवेतबाट दुई हजार ९९१ रहेका छन् ।


यस्तै, अस्ट्रेलियामा कोरोनाका कारण समस्यामा परेका एक हजार ३००,माल्दिभ्सबाट २७४,दक्षिण कोरियाबाट २८२ जना, साइप्रसबाट ४७१ जना र जापानबाट ९१६ जनालाई ल्याउनुपर्ने भएको छ । त्यस्तै कोरोनाका कारण बङ्गलादेशबाट १८० जना, पाकिस्तानबाट १२५ जना र श्रीलङ्काबाट ३६ जना ल्याउनुपर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अमेरिकाबाट ६४६, क्यानडाबाट ७८ जना, इजरायलबाट ३९ जना, युगाण्डाबाट १६१ जना, नाइजेरियाबाट ९७ जना, दक्षिण सुडानबाट १८ जना, सुडानबाट ३१ जना, मोरक्कोबाट ६३ जना, थाइल्यान्डबाट ३५७ जना, सिङ्गापुरबाट ६१ जना, कम्बोडियाबाट ४१ जना, भियतनाम, लाओस, डेनमार्क, नर्वे, स्विडेन र फिनल्यान्डबाट ७६ जनाको उद्धार गर्नुपर्ने सूची दूतावासहरूले परराष्ट्र मन्त्रालयलाई पठाएका छन् ।

गएको शुक्रबार यूएईबाट १६८ जना र म्यानमारबाट २६ जना नेपाली स्वदेश फर्किसकेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

कुवेतबाट आज ३ सय नेपाली स्वदेश फर्कंदै

आज कुवेतमा अलपत्र परेका नेपाली स्वदेश फर्कंने भएका छन् । त्यहाँबाट २ वटा उडानमार्फत् ३ सय नेपाली नागरिक स्वदेश फर्कंन लागेका हुन् ।

दुवैतर्फको सहमतिमा बिहीबार दिउँसोको समयमा दुवै जहाज अवतरण हुने भएको छ ।

जसअनुसार कुवेतको जजिरा एयरलायन्सको २ जहाजमा त्यहाँबाट नेपाली नागरिक आउँदै छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले दिएको जानकारी अनुसार पहिलो फ्लाइट बिहान साढे ११ बजे आउनेछ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको