Like us!
Follow us!
Connect us!
Watch us!

आज सेबोन घेराउ गर्दै सेयर लगानीकर्ता, बिहान ९ बजे भेला हुन तिलक कोइरालाको आह्वान

अर्थ संसार

मंगलबार, ३० असार २०८३, ०७ : ४२ मा प्रकाशित

आज सेबोन घेराउ गर्दै सेयर लगानीकर्ता, बिहान ९ बजे भेला हुन तिलक कोइरालाको आह्वान

नेपालको पूँजी बजारमा देखिएको निरन्तर गिरावट, लगानीकर्ताको सम्पत्तिमा आएको ह्रास तथा बजार सुधारका लागि सरकारले प्रभावकारी कदम नचालेको भन्दै सेयर लगानीकर्ताहरू आज आन्दोलनमा उत्रने भएका छन्।

सेयर लगानीकर्ता तथा अभियन्ता तिलक कोइरालाको नेतृत्वमा हुने आन्दोलनअन्तर्गत आज नेपाल धितोपत्र बोर्ड (सेबोन) को केन्द्रीय कार्यालय, नेपाल स्टक ब्रोकर एसोसिएसनको कार्यालय तथा देशभरका ब्रोकर कार्यालयमा पुगेर विरोध कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

कोइरालाले सामाजिक सञ्जालमार्फत सम्पूर्ण सेयर लगानीकर्तालाई बिहान ९ बजे नेपाल धितोपत्र बोर्ड (सेबोन) को कार्यालयमा उपस्थित हुन आह्वान गरेका छन्। त्यसपछि सहभागीहरू सेबोनबाट ब्रोकर एसोसिएसनको कार्यालय र विभिन्न ब्रोकर कम्पनीका कार्यालयतर्फ जाने कार्यक्रम रहेको उनले बताएका छन्।

लगानीकर्ताहरूले पूँजी बजार सुधारका लागि सरकार, अर्थ मन्त्रालय तथा नियामक निकायले प्रभावकारी नीतिगत निर्णय नगरेको आरोप लगाउँदै आएका छन्। उनीहरू बजारमा देखिएको निरन्तर गिरावट रोक्न, लगानीकर्ताको विश्वास पुनःस्थापित गर्न तथा पूँजी बजारमैत्री नीति अवलम्बन गर्न दबाब दिने उद्देश्यले आन्दोलनमा उत्रिएका हुन्।

यसअघि कोइरालाले आन्दोलनको घोषणा गर्दै आवश्यक परे धितोपत्र बोर्ड र ब्रोकर कार्यालयहरूमा तालाबन्दीसम्म गर्ने चेतावनी दिएका थिए। उनले लगानीकर्ताका मागप्रति सम्बन्धित निकायले बेवास्ता गरेपछि आन्दोलनको विकल्प रोज्नुपरेको बताएका छन्।

पछिल्ला केही सातायता नेप्से परिसूचक लगातार ओरालो लाग्दै आएको छ। बजार पूँजीकरणमा ठूलो गिरावट आएपछि साना तथा मध्यम लगानीकर्तामा निराशा बढेको भन्दै विभिन्न लगानीकर्ता समूहले बजार सुधारका लागि तत्काल पहल गर्न सरकारसँग माग गर्दै आएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको