नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३/८४ का लागि पूँजी बजार सुधार तथा विकासका प्राथमिकताहरू सार्वजनिक गर्दै लगानीकर्ताको हितलाई केन्द्रमा राखेर व्यापक नीतिगत सुधार अघि बढाउने घोषणा गरेको छ।
बोर्डले मंगलबार जारी गरेको प्रेस नोटमार्फत नेपालको पूँजी बजारलाई विश्वसनीय, पारदर्शी, प्रतिस्पर्धी, समावेशी तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्ने लक्ष्यसहित आगामी वर्ष कार्यान्वयन गरिने प्रमुख कार्यक्रम सार्वजनिक गरेको हो।
सेबोनका अनुसार नेपालको पूँजी बजार संस्थागत विकास, डिजिटल प्रविधिको प्रयोग र लगानीकर्ताको पहुँच विस्तारतर्फ अघि बढिरहेको भए पनि बजारको आकार, गहिराइ, वित्तीय उपकरणको विविधीकरण, संस्थागत लगानीकर्ताको सहभागिता तथा कर्पोरेट ऋणपत्र बजारको विकासमा अझै सुधार आवश्यक रहेको निष्कर्ष निकालिएको छ।
बोर्डले सामाजिक सञ्जालमार्फत धितोपत्र बजारलाई प्रभावित पार्ने गतिविधिविरुद्ध कडा नियामकीय निगरानी गर्ने जनाएको छ।
विशेषगरी फिनफ्लुएन्सर (Finfluencers) मार्फत हुने लगानी सम्बन्धी अनधिकृत सल्लाह, भ्रामक प्रचार, सामाजिक सञ्जालमार्फत बजारमा कृत्रिम प्रभाव पार्ने प्रयास तथा वित्तीय ठगीका गतिविधिमाथि निगरानी बढाइने बोर्डले जनाएको छ।
यसका लागि धितोपत्र सम्बन्धी कसुरको प्रारम्भिक अनुसन्धानमा अन्तरनिकाय समन्वयलाई समेत थप प्रभावकारी बनाइने उल्लेख गरिएको छ।
प्रेस नोटअनुसार प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) लाई थप व्यवस्थित बनाउन नीतिगत व्यवस्था परिमार्जन गरिनेछ।
अब कम्पनीको वित्तीय अवस्था, व्यवस्थापकीय क्षमता तथा वस्तुगत मूल्याङ्कन का आधारमा मात्रै आईपीओ निष्काशनको अनुमति दिने व्यवस्था थप प्रभावकारी बनाइने सेबोनले जनाएको छ। यस क्रममा सरोकारवालाबाट प्राप्त सुझावलाई समेत समेटिने उल्लेख छ।
सेबोनले मार्जिन कारोबार सम्बन्धी निर्देशिका यसअघि नै जारी भइसकेको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनमा देखिएका अवरोध हटाइने जनाएको छ।
यसका लागि नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज (नेप्से), सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) तथा धितोपत्र दलाल व्यवसायीबीच समन्वय गरी मार्जिन कारोबार यथाशीघ्र सञ्चालनमा ल्याइने बोर्डको योजना छ।
सेबोनले सूचीकरणपछि दोस्रो बजारमा धितोपत्रको माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सामूहिक लगानी कोष (म्युचुअल फण्ड) को लकइन अवधि तथा बाँडफाँट सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने जनाएको छ।
यसले बजारमा अनावश्यक आपूर्ति दबाब कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
लगानीकर्ताको कारोबार लागत कम गर्ने उद्देश्यले प्राथमिक बजार (आईपीओ) तथा दोस्रो बजारमा लाग्ने शुल्क पुनरावलोकन गरिने बोर्डले जनाएको छ।
यसबाट लगानीकर्ताको लागत घटाउने तथा बजारलाई थप प्रतिस्पर्धी बनाउने लक्ष्य राखिएको छ।
सेबोनले हालको नेप्से सूचकाङ्कलाई 'अल इक्विटी इन्डेक्स (All Equity Index)' का रूपमा कायम राख्दै कारोबारयोग्य (Free Float) सेयरका आधारमा नयाँ बेन्चमार्क सूचकाङ्क विकास गर्ने घोषणा गरेको छ।
बोर्डका अनुसार नयाँ सूचकाङ्कले बजारको वास्तविक अवस्थालाई अझ प्रभावकारी रूपमा प्रतिबिम्बित गर्ने अपेक्षा गरिएको छ।
सामाजिक सञ्जालको प्रयोग गरी सर्वसाधारणबाट आईपीओ जारी हुनुअघि नै विभिन्न संगठित संस्थाले गर्ने पूँजी संकलन तथा लगानी संकलन गतिविधिलाई पनि नियमनको दायरामा ल्याइने सेबोनले जनाएको छ।
सेबोनले आगामी दशकलाई लक्षित गर्दै तयार पारेको 'नेपालको पूँजी बजार विकास मार्गचित्र–२०८३', आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति तथा कार्यान्वयन कार्ययोजना समेत बोर्डको वेबसाइटमार्फत सार्वजनिक गरिने जनाएको छ।
बोर्डका अनुसार यी नीतिहरूको उद्देश्य राष्ट्रिय बचतलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्दै पूँजी बजारमार्फत आर्थिक रूपान्तरणमा योगदान पुर्याउनु रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस