नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपालप्रसाद भट्टले ‘प्रि–आईपीओ’का नाममा अवैध कारोबार गर्ने कम्पनीहरुमाथी कारबाही हुने बताएका छन् । बुधवार अर्थ समितिको बैठकमा ‘प्रि–आईपीओ’का सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै उनले त्यस्तो गतिविधिमा संलग्न कम्पनी वा व्यक्तिमाथि कारबाही गर्ने बताएका हुन् ।
राज्यले अवैध कारोबारलाई वैधानिकता दिन नसक्ने उनको भनाइ छ । अध्यक्ष भट्टले योग्य कम्पनीलाई पुँजी बजारमार्फत वित्तीय पहुँच विस्तार गर्न बोर्डले विभिन्न योजना अघि बढाएको जानकारी दिए । स्टार्टअपदेखि मध्यम तथा अन्य योग्य उद्योगलाई पुँजी बजारमा प्रवेश गराउने व्यवस्था विकास भइरहेको उनको भनाइ छ । उनकाअनुसार प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आउने कम्पनीहरूले उच्च पारदर्शिता, कडा मापदण्ड र अन्तर्राष्ट्रिय अभ्यासअनुसारको सुशासन पूरा गर्नुपर्नेछ ।
सर्वसाधारण लगानीकर्ताको हित संरक्षणका लागि मूल्य निर्धारण प्रक्रियालाई पनि प्रतिस्पर्धात्मक र पारदर्शी बनाइने उनले बताए । नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोषलगायत संस्थागत लगानीकर्ताको सहभागिता बढाएर मूल्य निर्धारण प्रक्रियालाई थप प्रभावकारी बनाउने तयारी गरेको उनले जानकारी दिए । ‘प्रि–आईपीओ’ को कुरा उठ्यो । कम्पनीहरुले आईपीओ आउनु अगाडि नै चलखेल गर्छन्, भन्ने । ‘प्रि–आईपीओ’ अवैध चिज हो । त्यस्तो चिजहरू हुनुहुँदैन । कहीँ पनि थाहा पाइयो भने हामी कारबाही गर्छौँ । त्यो कुनै हाम्रो वैधानिक पद्धतिअनुसार आएका पैसाहरू होइनन् । कसैले चलखेल गरे भन्दैमा त्यस्तो चिजमा राज्य चुप लाग्न हुन्न । कुनै पनि योग्य कम्पनीहरूलाई हामीले आईपिओको लागी अनुमति दिने गरेका छौँ, कर्पोरेट सेक्टरमा हामीले तीन किसिमको मेकानिजम बनाएका छौँ,’ उनले भने ।
उनका अनुसार स्टार्टअपलाई पनि फाइनान्सिङ दिने प्रवृत्तिको लागि हामीले अहिले योजना ल्याइएको छ । अर्को साना र मध्यम टाइपका इन्डस्ट्रिजहरुलाई पनि क्यापिटल मार्केट एक्सेस होस्, कुनै पनि कर्पोरेटले पुँजी बजारबाट फन्डिङ पाओस् भन्ने विषयमा अहिले पूरा योजनाहरू ल्याएको उनको भनाइ छ । पुँजी बजारलाई केवल सेयर कारोबारमा सीमित नराखी ऋणपत्र, डेरिभेटिभ उपकरण तथा कमोडिटी फ्युचर्सतर्फ पनि विस्तार गर्ने तयारी पनि भइरहेको उनले बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस