अर्थ संसार, काठमाडौं - विगत १ वर्षदेखि बारंबार हामीले सुन्दै आएको नाम हो कोरोना भाइरस अर्थात् कोभिड-१९ । यसको चर्चा यसरी चुलियो कि एक वर्ष बित्दा पनि उतिकै छ, अझ भनौं झनै चुलिएको छ । चीनको वुहान शहरबाट गत डिसेम्बरमा फैलिएको यो भाइरसका कारण १ वर्षको अवधिमा विश्वभर ७० करोड ७२ लाखभन्दा मानिस संक्रमित भइसकेका छन्, भने १५ लाख ८८ हजारभन्दा बढी मानिसले यसैका कारण ज्यान गुमाइसकेका छन् ।
नेपालमा पहिलोपटक माघ १० गते पहिलाे पटक संक्रमण देखिएकाे भाइरसका कारण १० महिनाको अवधिमा २ लाख ४५ हजारभन्दा बढी व्यक्तिहरु संक्रमित भइसकेका छन् । यो अवधिमा एक हजार ६ भन्दा बढीले ज्यान गुमाइसकेका छन् । त्यतिखेर २ जना संक्रमित फेला परेलगत्तै सरकारले थप संक्रमण रोक्न भन्दै लकडाउन जारी गर्याे । एक साताको लागि भनेर चैत ११ गतेदेखि देशैभरिका नागरिकलाई घरबाहिर ननिस्कन उर्दी गर्दै गरिएको लकडाउन थपिँदै १२० दिन अर्थात् ४ महिना लम्बियो । लकडाउन जति लम्बिँदै गयो, कोरोना संक्रमित संख्या पनि उति बढ्दै गए । अझै बढिरहेकै छन् ।
चैत ११ गतेदेखि सबै कुरा बन्द भए, खुल्ला थियो त केवल अस्पतालकाे ढोका मात्रै ।स्कुल बन्द भए । संघारमा आइपुगेका परीक्षा स्थगित भए ।सबैतिर डरत्रास सिर्जना भयाे । मान्छे मान्छेसँगै डराएर भाग्न थाले । भविष्य अब कता जान्छ भन्ने अन्योलतामै कतिपयको समय बित्न थाल्यो । मान्छे अत्यावश्यक काममा बाहिर निस्कँदा पनि त्रासमै हुन्थे | मास्क, स्यानिटाइजर, साबुनपानी अनि सामाजिक दूरी भन्ने शब्द सबैको मुखमा झुण्डिन थाले | युवायुवतीहरु सामाजिक संजालमा झुमे | व्यस्त अनि अस्तव्यस्त दैनिकी भएका सबैलाई फुर्सद मिल्न थाल्यो | सामाजिक संजाल यतिसम्म चलायमान भयाे कि युवायुवतीहरु आफ्नो साथीको पुरोनो फोटो खोजि खोजि उल्लाउन लागे । स्कुल बन्द भएपछि बालबालिका मोबाइल र टिभीमा झुन्डिन थाले । अनि, वृद्धवृद्धाको दैनिकी भने भोलि के होला भन्ने द्विविधामा बित्न थाल्यो।
यसरी केहि समय त सजिलै अनि रमाइलोसँग नै बित्यो । बिस्तारै समस्याका चाङ थुप्रो लाग्न थाले । न काम न मामको स्थिति सिर्जना हुन थाल्यो | हुनेखानेले त गुजारा गर्न सक्थे, गरिहाल्थे । तर हुँदाखाने र मध्यम वर्गका आम मानिसमा यसले ठुलो प्रभाव पार्यो । अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सरकारको उर्दी थियो । निस्केर पनि कहाँ जानु ? कार्यालय बन्द, दैनिक ज्यालादारी पनि बन्द, विजनेश व्यवसाय सबै ठप्प । आर्थिक भार त उत्पन्न भयो नै कतिपय त बिहान बेलुकी छाक टार्न नसक्ने अवस्थामा पुगे । कतिपयले केहि संघसंस्थाको सहयोगमा आफ्नो छाक समेत टारे ।
समस्या यतिकैमा रोकिएन । अझै भयावह हुँदै गयो । कतिपय डिप्रेशनको शिकार भए, अनि कतिले आत्महत्याको बाटो पनि रोजे ! संक्रमितहरुलाई हेर्ने दृष्टिकोण यसरी बदलियो कि अब उनीहरु काम लाग्दैनन्, छुँदै हुँदैन भन्नेमा परिणत भयो । मान्छेलाई कोरोना भन्ने शब्द यति डरलाग्दो बन्यो कि उनीहरुलाई यस्तो मात्र लाग्थ्यो यसले छोयो कि जीवन सकियो ।मान्छेलाई घर बाहिर निस्कन डर थियो । मान्छेहरु सकारात्मक भन्दा बढी नकरात्मक भयलाई मनमा लिन थाले । समस्याहरुले नै मान्छेलाई पेल्न थाल्यो पछाडि धकेल्न थाल्यो ।
लकडाउनले कोरोना कोरोना संक्रमणको जोखिम कत्ति पनि घटेन । अन्ततः सरकारले ८० दिनपछि लकडाउन खुकुलो बनाउने निर्णय गर्यो । त्यो पनि सर्त तोकेर | उपत्यकाभित्र र अन्यत्र जिल्लाभित्र निजी सवारी साधन जोर बिजोर प्रणालीअनुसार चलाउन पाइने, सार्वजनिक यातायातका साधन, अन्तरिक तथा बाह्य हवाई सेवा बन्द, पसल र डिपार्टमेन्ट स्टोरहरू खोल्न पाइने, तर सपिङ मलहरू खोल्न नपाइने, सबै सरकारी, निजी र वित्तीय संस्थाका कार्यालय खुल्ने, तर त्यो पनि बिहान ८ देखि दिउँसो १ र दिउँसो १ देखि साँझ ६ बजेसम्म दुई सिफ्टमा चलाउनुपर्ने लगायत विभिन्न सर्त तोकेर सरकारले लकडाउन खुकुलो पार्यो। जोखिम झनै बढ्दै थियाे । सरकार बिना तयारी लकडाउन खोल्ने निर्णयमा पुगेकाे थियाे । १२० दिनपछी लकडाउन पूर्ण रुपमा खुल्यो ।त्यसपछि केद्रीय सरकारले कोरोना संक्रमण न्यूनीकरण र नियन्त्रणको जिम्मा स्थानीय तहलाई दियो । जहाँ संक्रमित फेला पर्छ त्यहाँ निषेधाज्ञा गरियो ।लकडाउन, सटडाउन, निषेधाज्ञा सबै गरिसक्दा पनि समस्या भने ज्युँ को त्यूँ नै छ ।
अहिले पनि कोरोनको जोखिम उत्तिकै छ । उपत्यकालगायत देशका ठूला शहरहरुमा भीडभाड बढ्न थालेको छ । यो रहर होइन, आम मान्छेको बाध्यता हो | रोगभन्दा ठूलो भोक रहेछ भन्ने निष्कर्षमा पुगिसके आम मान्छे । कोरोनाले मान्छेको दैनिकी, सोच, विचार सबै कुरामा परिवर्तन ल्याईदिएको छ | कतिपयको मानिसको सपनाका मालाहरु चुडिएर यत्रतत्र छरिएका छन्, भने कतिपय मान्छेहरु त्यसलाई फेरी बटुलेर गास्ने प्रयासमा जुटेका छन् | उनीहरुलाई भीडभाडदेखि डर नभएको होइन, आफ्नो ज्यानको माया नभएको पनि होइन | यदि डर नै थिएन भने ४ महिनासम्म मैदानबाट आउट भएको खेलाडीझैँ कोठामा थुनिएर कदापि बस्ने थिएनन् | सुनौलो आशा बोकेर गन्तव्यमा निस्केकाहरुका पाइलाहरु पछाडी हट्ने थिएन | सामाजिक दूरी कायम राख्नुपर्छ भन्ने सबैलाई थाहा छ । र पनि उनीहरुले भीड छल्नै सकेका छैनन् |
सार्वजनिक सवारी, अस्पताल, सपिङ महल बजार जता हेर्यो उतै भीड छ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा दोब्बर मान्छे चढेका छन्। गुद्रुक पनि धेरै खाद्दा गुम्सन्छ भनेर खाद्दैनन् भने कल्पना गर्नुहोस् त सार्वजनिक यातायातमा गुन्द्रुक जसरी खादिनु पर्दा कस्तो हुन्छ होला ? त्यसैमा पनि जोरबिजोर प्रणाली ! यसले झनै समस्या थपिदिएको छ ।
अब मरिन्छ कि भन्ने त्रासमा पनि बसियो । कष्टकर दैनिकीलाई पनि पार गरियो । सामाजिक दूरी, मास्क, स्यानिटाईजर पनि लगाइयो । हस्तरेखा नै मेटिएला कि झैँ गरी साबुनपानीले हात पनि धोइयो र पनि संक्रमणको जोखिम उस्तै छ ।
अब कति बस्ने ? कति लुक्ने ? सेमिफाइनलमा हारेको खेलाडी झैँ कति निरास भएर बस्ने ? कयौं सपनाहरु तुहिए कति अन्यौलमै छन्, तीनलाई पूरा गर्न अब संघर्षको मैदानमा उत्रिनै पर्छ।
कयौं समस्याहरु जुधेर मान्छेहरु अगाडि बढ्न थालेका छन् | अब अगाडि बढ्नु पनि पर्छ | हामीले कोरोनासँग लड्नलाई मनोबल उच्च बनाउनुपर्छ । सकरात्मक कुरालाई बढी प्राथमिकता दिनुपर्दछ । कोरोना लाग्दैमा मरिहाल्छु भन्ने भ्रमलाई हटाउनुपर्छ । विशेष सावधानी अपनाएर मैदानमा उत्रिनुपर्छ । कोरोना लागेर ज्यान गुमाउनेभन्दा निको हुनेको संख्या बढी छ । त्यो कुरालाई मनन् गर्नुपर्छ नेपालमा दुई लाख ४५ हजारभन्दा बढी संक्रमित हुँदा ९४.२ प्रतिशत दुई लाख ३१ हजारभन्दा बढी निको भइसकेका छन् ।
त्यसैले अब हामी पहिलेकै अवस्थामा फर्कनुपर्छ । स्कुल, कलेज, संघसंस्था सबै खुल्नुपर्छ । अब हामीले कोरोना विरुद्ध ओपन च्यालेन्ज गर्नुपर्छ | हाम्रो मनोबल उच्च बनाएर खानपान, स्वास्थ्य सुरक्षा अपनाएर कोरोनाविरुद्ध लड्नुपर्छ । आउनुहोस् अब हाम्रो मनोबल उच्च बनाऔं । अनि कोरोनाविरुद्ध लडौं ...!।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस