Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकको साधारण सभा आज हुँदै : शेयरधनीको हातमा ८.४२% लाभांश

अर्थ संसार

आइतबार, ०९ फागुन २०७७, ०७ : ५१ मा प्रकाशित

सिभिल बैंकको साधारण सभा आज हुँदै : शेयरधनीको हातमा ८.४२% लाभांश

सिभिल बैंक लिमिटेडकाे वार्षिक साधारण सभा आज (फागुन ९ गते, आइतबार) हुँदैछ । बैंककाे माघ १५ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे दशाैँ वार्षिक साधारण सभा बैंककाे केन्द्रिय कार्यालय, सुन्धारा, काठमाडाैँमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।

सभामा  बैंककाे पुस २७ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ८ प्रतिशत बोनस शेयर र ०.४२ नगद (कर प्रयाेजनका लागि) गरि कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसैगरी, अन्य कुनै बैंक तथा वित्तीय संस्था प्राप्ति गर्ने वा एकआपसमा गाभ्ने/गाभिने प्रयोजनका लागि उपयुक्त बैंक वा वित्तीय संस्थाको पहिचान र छनोट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन गर्न राष्ट्रिय वा अन्तर्राष्ट्रिय मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्ति गर्ने लगायतका कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । 

यसका साथै, सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि माघ २३ गते एक दिन बुकक्लोज गरेको थियाे । त्यसैले, माघ २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको