Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक सञ्जालमा लेखेकै भरमा हुनसक्छ ५ वर्ष जेल र १५ लाखसम्म जरिवाना !

पत्रपत्रिका

विहीबार, २६ चैत्र २०७७, १० : २४ मा प्रकाशित

सामाजिक सञ्जालमा लेखेकै भरमा हुनसक्छ ५ वर्ष जेल र १५ लाखसम्म जरिवाना !

सामाजिक सञ्जालमा लेखेबापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेको सूचना प्रविधिसम्बन्धी विधेयक बिहीबार प्रतिनिधिसभामा पेस हुने भएको छ । विकास तथा प्रविधि समितिले कांग्रेसबाहेकका सांसदको बहुमतबाट पारित गरेको विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेस गर्न लागिएको हो ।

विधेयकमा मौलिक हकअन्तर्गत रहेको अभिव्यक्ति स्वतन्त्रतालाई समेत अंकुश लगाउने खालका प्रावधान रहेको भन्दै सरकारको चर्को आलोचना भएको थियो । अनलाइन र सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर, इन्स्टाग्राम, टिकटकलगायत) मा सरकार र मन्त्रीहरूको विरोधमा लेखेकै भरमा पनि ५ वर्ष जेल र १५ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था विधेयकमा छ । संसद्मा पेस भएको विधेयक अड्किएपछि सरकारले विधेयकमा भएकै प्रावधान राखेर छुट्टै निर्देशिका ल्याउने प्रयाससमेत गरेको थियो । त्यसको चौतर्फी विरोध भएपछि सरकार पछि हट्न बाध्य भएको थियो ।

सरकारकै चाहनाअनुसार समितिले विधेयक अघि बढाएको कांग्रेस सांसदहरू बताउँछन् । समितिले पारित गरेको प्रतिवेदनअनुसारै कानुन बनेमा अनलाइनमा समाचार लेखेकै आधारमा त्यसका सञ्चालक र पत्रकार, त्यही समाचार सामाजिक सञ्जालमा सेयर गरेको र आफ्नो विचार लेखेकै आधारमा सर्वसाधारण जेल जानुपर्ने हुन सक्छ ।

सरकारले ल्याएको विधेयकलाई कांग्रेस सांसदको विरोध हुँदाहुँदै समितिबाट माओवादी र एमाले सांसदले बहुमतका आधारमा २०७६ पुस दोस्रो साता पारित गरेका थिए । विधेयकका प्रावधान संविधानको मर्म र भावनाविपरीत हुनुका साथै यसले नागरिकको स्वतन्त्रता र मौलिक हक हनन गर्ने भएकाले कांग्रेस विधेयकको विपक्षमा रहेको सांसद सञ्जय गौतमले बताए ।

विधेयकको यही प्रतिवेदन समितिले बिहीबार प्रतिनिधिसभामा पेस गर्ने सम्भावित कार्यसूचीमा छ । समितिबाट पारित प्रतिवेदनमा कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने, हप्काउने, घृणा तथा द्वेष उत्पन्न गराउने, चरित्र हत्या गर्ने वा गाली बेइज्जती मानिने विषयवस्तु सामाजिक सञ्जालमा राखेमा पाँच वर्षसम्म कैद र १५ लाखसम्म जरिवाना हुने व्यवस्था प्रतिवेदनमा छ ।

कुनै व्यक्तिले सामाजिक सञ्जालमा लेख्दा आफूलाई गाली गरेको भन्दै उजुरी दिएपछि लेख्ने व्यक्ति दण्डित हुनुपर्ने अवस्था आउने कानुन व्यवसायीहरू बताउँछन् । सामाजिक सञ्जालमा भएका सामग्री अदालतको आदेशबिनै सरकारी कर्मचारीको निर्देशनमा हटाउनुपर्ने बाध्यकारी प्रावधानका कारण अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन सकिने प्रावधानसहित समितिले पारित गरेको कानुन व्यवसायी बाबुराम अर्यालले बताए । विधेयकमा सूचना तथा प्रसारण विभागलाई सामाजिक सञ्जालमा लेखिएको सामग्री हटाउन निर्देशन दिन सक्ने अधिकार दिइएको उनले बताए ।

विधेयक जस्ताको तस्तै पारित भए सरकारको विरोध गर्ने व्यक्ति होस् वा विपक्षी दलका नेता धमाधम जेल पर्ने उनले बताए । ‘अभिव्यक्ति स्वतन्त्रतामाथि असीमित नियन्त्रण गर्न खोजिएको छ,’ उनले भने, ‘कारबाहीबाट जोगिन अदालत जान पनि नसक्ने व्यवस्था छ ।’ अपराध अनुसन्धानका लागि अदालतको आदेशबिनै विभागले दिएको निर्देशनका आधारमा सामाजिक सञ्जाल कम्पनीले प्रयोगकर्ताले लेखेको सामग्री हटाउनुपर्ने प्रावधान विधेयकमा छ । विधेयकको दफा ८८ मा विद्युतीय प्रणालीको दुरुपयोग गरेर राष्ट्रिय एकता, संघीय इकाईबीचको सम्बन्धमा खलल पार्न नहुने, निषेध गरेको सामग्री बिक्री, त्यसको विज्ञापन प्रकाशन, प्रसारण र प्रदर्शन गर्न नहुने उल्लेख छ ।

सरकारले पेस गरेको विधेयकमा यस्ता सामग्री प्रकाशन, प्रसारण गरेमा राज्यविरुद्धको अपराधमा सजाय हुने प्रस्ताव गरेको थियो । सामाजिक सञ्जालबाट राष्ट्रिय एकता, संघीय इकाईबीचको सम्बन्धमा खलल पार्न सक्ने, जातीय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक आधारमा घृणा, द्वेष वा अवहेलना उत्पन्न हुने कुनै कामकारबाही गरेमा १५ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था विधेयकमा छ ।

यसबाहेक जातीय भेदभाव वा छुवाछूतलाई दुरुत्साहन दिने श्रमप्रति अवहेलना गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने, शान्तिसुरक्षा भंग हुने गरी कुनै सामग्री प्रकाशन वा प्रसारण गरे पनि पाँच वर्ष जेल र जरिवानाको प्रावधान राखिएको छ । कानुनले बिक्री तथा वितरण गर्न निषेध गरेको सामग्री बिक्री गर्न, विज्ञापन प्रकाशन वा प्रदर्शन गरे पनि आपराधिक कार्य गरेसरह कारबाही हुने व्यवस्था छ ।

समितिले पारित गरेका प्रावधानमा कांग्रेसले फरक मत राखेको छ । ‘यसमा रहेका व्यवस्था फौजदारी न्यायको सिद्धान्त र अभिव्यक्ति स्वतन्त्रताविपरीत छन्,’ कांग्रेसले समिति सभापति कल्याणीकुमारी खड्कालाई बुझाएको फरक मतमा छ । सभापति खड्काले सरकारले ल्याएको विधेयक लामो छलफलपछि बहुमतबाट पारित गरेको बताइन् ।

अनलाइनमा एकपटक सम्प्रेषण गरिसकेको सूचना हेरफेर गरे वा मेटाए वा आर्थिक लाभ पुर्‍याउने नियतले यस्तो कार्य गरे विषयवस्तु हेरेर तीन वर्षसम्म कैद र दुई लाख रुपैयाँसम्म जरिवानाको प्रावधान राखिएको छ । त्यस्तै विद्युतीय माध्यमबाट कुनै सामान खरिद गरी मूल्य भुक्तान गरिसकेको अवस्थामा उपभोक्तालाई बिक्रीको अनलाइन करारबमोजिम भन्दा फरक खालको मालसामान वा सेवा उपलब्ध गराउन वा तोकेको समयभन्दा पछि पठाउनसमेत नहुने व्यवस्था राखिएको छ । यस्तो कार्य गरे एक लाख रुपैयाँसम्म जरिवानाको प्रावधान छ ।

फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जाल सम्बन्धित कम्पनीले नेपालमा दर्ता गर्नॅपर्ने हुन्छ । विधेयकको दफा ९१ मा सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने प्रावधान छ । दर्ता नभएको सामाजिक सञ्जालको प्रयोगमा सरकारले रोक लगाउन सक्ने प्रावधानलाई समितिले पनि पारित गरेको छ । यो कानुन जारी हुनुअघि नै सञ्चालनमा रहेका सामाजिक सञ्जाल पनि सरकारले तोकेको समयभित्र दर्ता हुनुपर्ने प्रावधान विधेयकमा छ । आजको कान्तिपुर दैनिकमा मकर श्रेष्ठले लेखेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको