वर्ष २०७७, त्रास र भयबीच व्यतित भएको संघर्षशील वर्ष । मान्छेले बाँच्नकै लागि संघर्ष गरेको वर्ष । महामारीले विश्वको ढोका ढकढकाएको वर्ष । अझ भनौं कोरोना वर्ष । धेरै त्रास अनि थोरै आसले भरिएको वर्ष । सम्भवत मानव जगतमा पहिलोपटक विश्व नै आक्रान्त बनाउने एउटा शक्तिशाली भाइरसले आतंक मच्चाएको वर्ष ।
मान्छेले अस्तव्यस्त जीवनलाई थन्काएर आराम गरेको वर्ष पनि २०७७ नै हो । अनेकौं सपनालाई थाती राख्दै भोलि के होला ? भन्ने त्रासले भरिएको वर्ष । २०७७ लाई यी सिमित शब्दले बयान गर्न सकिदैन किनभने यहाँ मान्छेका अनगिन्ति भोगाई र संघर्ष अनि कथा व्यथाहरुले भरिएको छ । कथा त लेख्न सकिएला पनि तर व्यथालाई कहाँ लेख्न सकिन्छ ?
भनिन्छ, समय सधैं एकनास हुँदैन । समयको आफ्नै गति हुन्छ र आफ्नै गतिमा दौडीरहन्छ । फरक यति हो कहिले राम्रो समयको आवागमन भइदिन्छ, भने कहिले नराम्रो । वर्ष २०७७ को सुरुवात पनि नराम्रो समयबाटै सुरु भयो ! केहि सुधार भए पनि अन्त्य पनि उत्साहजनक हुन सकेन । जीवनको यात्रामा आरोह अवरोहबीच अनेकौं चुनौती भोग्नुपर्ने हुन्छ । त्यसमा समय र परिस्थितिले कहिलेकाही झनै चुनौती थपिदिन्छ ।
वर्ष २०७७ ले मानव जीवनमा ठूलै चुनौती थपिदियो । वर्षको सुरुवातमा नै कोरोना भाइरसको महामारीको सामना गर्नुपर्यो । विश्व नै बिरामी पर्यो सबैतिर ढोका बन्द भए । भगवान थिए त केवलमा अस्पतालमा थिए, ढोका खुल्ला थियो त केवल अस्पतालको ढोका खुल्ला थियो । स्कुल, कलेज, अफिस सबै बन्द । यतिसम्म कि आफ्नै घरबाट बाहिर ननिस्कन उर्दी जारी भएको थियो । आफ्नासँग पनि टाढा हुनुपर्ने बाध्यतासँग मान्छेको दिनचर्या व्यतित हुन थाल्यो । कैदी जसरी घरभित्र थुनिएर बस्नुपर्ने बाध्यता आम मान्छेमा थियो । मान्छेले मान्छेसँग डराएर, भाकेर, लुकेर, टाढा भएर बस्नुपर्ने स्थिति निम्तिएको थियो । एक्लोपनमा सुरक्षित महसुस गर्नुपर्ने दिन आएको थियो र अझै पनि त्यो दिन कायम नै छ ।
यो सब चिज निम्त्याउने एउटै कारण थियो कोरोना भाइरस । वर्ष २०७७ कोरोनाबाट यति प्रभावित बन्यो कि जसको प्रभाव भूकम्पभन्दा बढी पर्यो । चीनको वुहान शहरबाट सन् २०१९ को अन्यतिर उत्पन्न भएको कोरोना भाइरस यति शक्तिशाली भएर फैलियो कि जसको कारण हालसम्म विश्वभर १३ करोड ९७ लाख भन्दा बढी मानिस यसबाट संक्रमित भईसके भने ३० लाखभन्दा बढी मान्छेले ज्यान गुमाइसके । उक्त भाइरस फैलिएको डेढ वर्ष बितिसक्दा पनि यसको प्रकोप अझै साम्य हुन सकेको छैन ।
अहिले कोरोना प्रकोपको दोस्रो लहर सुरु भएको छ । हाम्रै छिमेकी मुलुकमा भारतमा अहिले दैनिक २ लाखभन्दा बढी मानिस संक्रमित भैरहेका छन् भने नेपालमा पनि दैनिक पाँच सयभन्दा बढी संक्रमित फेला परिरहेको अवस्था छ । जसले गर्दा देश फेरी पहिलेकै जस्तो अवस्थामा फर्कने होकी भन्ने त्रास आम मान्छेमा फैलिएको छ ।
कोरोनाले विश्वलाई नै ठूलो पाठ सिकाएको छ । जीवनको महत्व सिकाएको छ, भने जीवनयापनको नयाँ तरिका सिकाएको छ । समय र परिस्थिति अनि प्रकृतिमा घट्ने अनेकौं घटनाले मान्छेलाई भिन्न भिन्न पाठ सिकाउँछ । भूकम्पले मानिसलाई एक हुन सिकाएको थियो भने कोरोनाले मानिसलाई अलग हुन सिकायो ।
आखिर मान्छेको जीवन के रहेछ र ? प्रकृतिमा नै हामी जन्मन्छौं, प्रकृतिसँगै संघर्ष गर्छौं अनि प्रकृतिमा नै बिलाउँछौं । हामीले प्रकृतिले दिएको हरेक चुनौतीको सामना गर्नैपर्ने हुन्छ । प्रकृतिका हरेक जीवले प्रकृतिको दिएको सजाय भोग्नैपर्ने हुन्छ । अझ त्यसमा मान्छे त चेतनशील प्राणीभित्रको प्रमुख हिस्सा । यसको बहन गर्नैपर्छ ।
चेतनशील प्राणीमध्ये सर्वश्रेष्ठ प्राणी मान्छे । तर पछिल्लो समय मान्छेमा चेतना नै हराइसक्यो, मान्छेको रुप कुरुपमा परिणत हुन थालिसक्यो । मान्छे मान्छेजस्तो मात्र भैदिए तर मान्छेमा हुनुपर्ने गुण हराउन थालिसक्यो । हत्या, हिंसा, बलात्कार दिनहुँ बढ्दो छ । मान्छेमा निस्वार्थता भन्ने चिज नै बिलाउन थालिसक्यो ।
वर्ष २०७७ लाई नै हेरौं, संघर्षशील जीवन बाँचिरहेका थियौं हामी आम मान्छे ! त्यहि बेला डरलाग्यो घटनाहरु घटे, जसले मान्छेलाई एकपटक सोच्न बाध्य बनाउँछ । क्वारेन्टाइनमै युवती बलात्कृत, आङ नै सिरिङ्ग बनाउने गोंगबु हत्याकाण्ड, रुकुम पश्चिम चौरजहारीको नवराज विक हत्याकाण्ड, सम्झना बलात्कारपछि हत्या प्रकरण, सितापाइलामा युवतीमाथि भएको एसिड प्रहार प्रकरण, भागरथी हत्या प्रकरण ! यी त सब २०७७ मा घटेका प्रतिनिधि चर्चित घटना मात्र हुन् । यी र यस्ता अन्य कयौं डरलाग्दो घटना कति छन् समाजमा । कति लुकाइए अनि कति दबाइए ! अब आफ्नै सोच्नुस् त हामीभित्र मानवता हराएन र ? हामी मान्छेरुपी मान्छे मात्र भएनौं र ? हरेक बर्ष घट्ने अपराधजन्य पुष्टि गरिरहेको छ मान्छेमा मानवता हराएको कुरा ।
मान्छे जन्मन्छ त उसको मृत्यु पनि निश्चित छ । तर मान्छे किन यो सोच्दैन कि मैले पनि मर्नुपर्छ ! आखिर के छ र जीवन ? हामी किन सकारात्मक बन्न सकेनौं । हामी किन स्वार्थमा मात्र लिप्त भयौं ? चेतनशील हुनुको अर्थ किन राखेनौं ? खुट्टा तान्नमै हामीले उर्जाशील समय किन खेर फाल्यौं ? हामी किन जुट्न सकेनौं ?
हिजो के भयो ? छादिदिनुहोस् ! हामी नयाँ वर्षमा प्रवेश गरिसक्यौं । हामीले विगत त्यागेर आफ्नो जीवनलाई सुन्दर बनाऔं, नयाँ विचारलाई भरौं । केहि राम्रो संकल्प गरौँ, सकारात्मक सोचको विकास गरौँ, चेतनाले आफ्नो दिमागलाई भरौं, कति पापको भारी बोकेर धर्तिको बोझ मात्र बन्ने ?
हिजो जे भयो भयो ? त्यसबाट पाठ सिकौं, जीवनलाई उर्जाशील बनाऔं । नयाँ वर्षसँगै नयाँ संकल्प गरौँ, तपाई, म अनि हामी सबैलाई नयाँ वर्षको शुभकामना ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस