Like us!
Follow us!
Connect us!
Watch us!

चीनले लगायो एक अर्बभन्दा धेरै डोज खोप, २१ किसिमका खोपहरु क्लिनिकल परीक्षणमा

अर्थ संसार

सोमबार, ०७ असार २०७८, १२ : ०८ मा प्रकाशित

चीनले लगायो एक अर्बभन्दा धेरै डोज खोप, २१ किसिमका खोपहरु क्लिनिकल परीक्षणमा

 चीनले शनिबारसम्ममा देशभर कोभिड–१९ विरुद्धको एक अर्बभन्दा बढी डोज खोप लगाएको छ । 

राष्ट्रिय स्वास्थ्य आयोगले आधुनिक चीनको इतिहासमा यो सबैभन्दा ठूलो खोप अभियान रहेको जनाएको छ । 

आयोगका अनुसार पछिल्लो पाँच दिनमा मात्र १० करोड डोजभन्दा बढी खोप लगाइएको छ । गत मार्चको अन्त्यदेखि चीनले व्यापक खोप अभियान सञ्चालन गरेको थियो । 

पहिलो चरणमा २५ दिनको अवधिमा दश करोडबाट २० करोड डोज खोप लगाइएकोमा पछिल्ला १६ दिनमा ३० करोड डोज खोप दिइएको थियो । तर खोप अभियान अझ तिब्र बनाएसँगै छ दिनको अवधिमा ८० करोडबाट ९० करोड खोप लगाइएको थियो ।

चीनमा गत वर्षदेखि हालसम्म २१ किसिमका खोपहरु क्लिनिकल परीक्षणमा रहेका छन् । त्यसमध्ये चार किसिमका खोपलाई शर्तसहित मार्केटिङको इजाजत दिइएको छ भने तीन किसिमका खोपलाई देशभित्र आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ ।

चीनमा सञ्चालित खोप अभियानमा १८ वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई समेटिएको छ । तर ३ देखि १७ वर्षको उमेरका बालबालिकालाई पनि खोप दिने योजना अघि बढेको स्वास्थ्य अनुसन्धान आयोगले जनाएको छ ।

आयोगका उपप्रमुख जेङ इक्सीनले यसै वर्षको अन्त्यसम्ममा कम्तीमा ७० प्रतिशत लक्षित जनसंख्यालाई खोप दिइसक्ने बताएका छन् । 

उनले खोपका कारण हालसम्म कुनै पनि समस्या नदेखिएको बताउँदै चिनियाँ खोप सुरक्षित रहेको प्रमाणित भइसकेको दाबी गरेका छन् । कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिमा देखिएका सामान्य लक्षणहरु अन्य नियमित खोपमा झैं सामान्य रहेको पनि उनले बताए । (रासस)
 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको