केही समय अघिसम्म सेयर बजार किन घटेको भन्दा सेयर बजारका लगानीकर्ताहरु र सेयर विश्लेषकहरुले स्थिर सरकार नभएको भन्दै जवाफ दिने गरेका थिए । अहिले आम नेपालीहरुले चाहेको जस्तो स्थिर सरकार बनेको छ । त्यो पनि करिब दुई तिहाइ नजिकको सरकार । अझै पुराना पार्टीहरु कमजोर भएर नयाँ राजनीतिक पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकार बनेको छ ।
यो सरकारका अर्थमन्त्री छन् अर्थशास्त्रका जानकार डा.स्वर्णीम वाग्ले । अर्थतन्त्रका जानकार व्यक्ति अर्थमन्त्री रहेको र स्थिर सरकार बन्दा पनि पुँजी बजारले भने सोचेजस्तो गति लिन सकेको छैन । नयाँ सरकार बनेपछि सेयर बजार लगातार रुपमा घटी रहेको छ । सरकार बन्नु भन्दा पहिले साढे २९ सयको विन्दुमा रहेको सेयर बजार अहिले २७३८ विन्दुमा पुगेको छ । नयाँ सरकार बनेपछि सेयर बजारमा २४ दिनका लागि कारोबार खुलेको छ । नयाँ सरकार बनेपछि राजनीतिक दलका नेताहरु र व्यवसायीहरुलाई समेत विभिन्न मुद्दामा नियन्त्रणमा लिएर हिरासतमा राखिएको छ । यसैको कारण लगानीकर्ताहरुमा त्रास उत्पन्न भएको र बजारले गति लिन नसकेको लगानीकर्ताहरुले बताउने गरेका छन् । स्थिर सरकार भए पनि नीतिगत रुपमा गर्नुपर्ने सुधारका काम नभएको र अर्थतन्त्र नै संकुचनमा रहेकाले पुँजी बजारले गति लिन नसकेको कतिपय लगानीकर्ताहरुको भनाइ छ । घटबढ नै पुँजी बजारको सौन्दर्यता भए पनि निरन्तर रुपमा बजार घट्नुलाई स्वभाविक मान्न नसकिने एक लगानीकर्ताले बताए । अहिलेको सरकारबाट धेरै आशा गरिएको भए पनि पुँजी बजारका विषयमा ठोस निर्णय गर्न नसक्दा बजारले गति नलिएको उनी बताउँछन् ।
नयाँ सरकार बनेपछि स्थिरता कायम हुने विश्वसामा रहेका लगानीकर्ता सरकारको नीतिका कारण लगानी गर्न डराएको अवस्था छ । सरकारले केही व्यवसायीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पुराना राजनीतिक दलका नेताहरुलाई पनि यो सरकारले पक्राउ गर्यो । यी यावत घटनाले बजारले गति लिन नसेको लगानीकर्ताहरुले बताउने गरेका छन् । अर्को तर्फ यो सरकारले भाषण मात्रै गरेको र नीतिगत रुपमा गर्नु पर्ने सुधारका कामहरु नगरेकाले बजार बढ्न नसकेको लगानीकर्ताहरुको भनाइ छ । सरकार बनेको एक महिनाको अवधिमा पनि सेयर बजारको सुधारका लागि गर्नु पर्ने काम हुन नसकेको लगानीकर्ताहरुले गुनासो गरिरहेका छन् । अहिले आम लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेका छन् । यो सरकार बन्नु भन्दा अघिल्लो कारोबार दिन चैत १२ गते सेयर बजार बढेर कारोबार भएको थियो । त्यो दिन बजार १४ अंकले बढेको थियो । चैत १३ गते नयाँ सरकार बने पछिको पहिलो कारोबार दिन चैत १५ गते सेयर बजार ७१.०५ अंकले घटेर कारोबार बन्द भयो । त्यस पछिका दिनहरुमा सेयर बजारले खासै हरियाली कायम गर्न सकेको छैन । नयाँ सरकार बन्नु भन्दा अघिल्लो दिनदेखि हालसम्मको अवधिमा सेयर बजार परिसूचक २११.४४ अंकले घटेको छ भने कारोबार रकममा पनि ९ अर्ब ८६ करोड ३८ लाख ७९ हजार ५०६ रुपैयाँ ५४ पैसाले गिरावट आएको छ ।
बालेन सरकार बन्नु भन्दा अघिल्लो दिन सेयर बजार परिसूचक २९५०.१६ विन्दुमा बन्द भएको थियो भने बिहीबार को कारोबार बन्द हुँदा नेप्से परिसूचक २७३८.७२ विन्दुमा पुगेको छ । त्यस्तै नयाँ सरकार बने पछिको पहिलो कारोबार दिन चैत १५ गते सेयर बजारमा १४ अर्ब ७८ करोड ५ लाख ६ हजार ३५५ रुपैयाँ १० पैसाको कारोबार भएको थियो भने बिहीबार पुँजी बजारमा ४ अर्ब ९१ करोड ६६ लाख २६ हजार ८४८ रुपैयाँ ५६ रुपैयाँको मात्रै कारोबार भएको छ ।
नयाँ वर्ष लागेपछि मात्रै पनि पुँजी बजारमा १२८.१५ अंकको गिरावट देखिएको छ । वैशाख २ गते २८६६.८७ विन्दुमा बजार बन्द भएको थियो भने वैशाख १७ गते बिहीबार नेप्से परिसूचक २७३८.७२ विन्दुमा पुगेको छ । नयाँ वर्ष पछि मात्रै पुँजी बजारमा ५ अर्ब ३६ करोड माथिको कारोबारमा गिरावट आएको छ । वैशाख २ गते १० अर्ब २८ करोड माथिको कारोबार भएको बजारमा वैशाख १७ गते बिहीबार ४ अर्ब ९१ करोड माथिको कारोबार भएको छ ।
सेयर बजारमा निरन्तर गिरावट आउँदा लगानीकर्ताहरु प्यानिकको अवस्थामा रहेका छन् ।
सरकार स्थिर भए पनि बजारका लागि हुनु पर्ने नीतिहरु बन्न नसकेकाले बजार बढ्न नसकेको इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारको भनाइ छ । बजारमा अन्यौलता कायम रहेकाले बजारले गति लिन नसकेको उनी बताउँछन् । पुँजी बजारका लागि आवश्यक पर्ने सबै सूचक सकारात्मक भए पनि नीतिगत रुपमा गर्नु पर्ने काम नहुँदा बजारले गति लिन नसकेको रौनियारले बताए । ‘अहिले पुँजी बजारका लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् । अन्यौलता बढेको छ । व्यवसायीहरुमाथि धरपकड भइरहेको छ । यसले पनि बजारलाई असर परेको छ,’ उनले भने ।
सरकारले मौखिक रुपमा भाषण गर्ने बाहेक वास्तविक रुपमा गर्नु पर्ने काम गर्न नसकेको उनको बुझाइ छ । ‘अहिले ब्याजदर कम रहेको र बजारमा तरलता पनि प्रशस्त भए पनि लगानीकर्ताको मनोविज्ञान सकारात्मक बन्न नसकेको अवस्था छ,’ उनले भने ।
समग्र अर्थतन्त्रमा सुधार नहुँदासम्म सेयर बजारमा पनि सुधार हुन सक्ने अवस्था नरहेको अर्थविद् डा. चन्द्रमणी अधिकारीको भनाइ छ । अहिले सबै क्षेत्र सुस्त रहेकाले पुँजी बजारमा पनि त्यसको प्रभाव परेको उनी बताउँछन् । अन्तराष्ट्रिय रुपमा भइरहेको द्धन्द्धका कारणले गर्दा नेपालको अर्थन्त्रमा नकारात्मक असर पर्ने अवस्थामा पुँजी बजार घट्यो भन्नुको कुनै तुक नरहेको अधिकारीको भनाइ छ । अवस्था अहिलेको भन्दा पनि भयाभह बन्न सक्ने उनी बताउँछन् ।
बजारमा आएका नकारात्मक कुराहरुले बजार घटेको नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव रविन कँडेलको भनाइ छ । बजारलाई सकारात्मक असर गर्ने खालका नीतिहरु आउन नसक्दा बजारले गति लिन नसकेको उनी बताउँछन् । बजार रातारात बढ्ने भन्दा पनि अर्थतन्त्रको अवस्था अनुसार बढ्ने भएकाले अहिले अर्थतन्त्र संकुचनमा रहेकाले बजार केही सुस्त देखिएको उनको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस