भारतमा कोरोना संक्रमण फेरि सक्रिय बन्दै गएको छ। देशभर सक्रिय संक्रमितको संख्या १,०८१ पुगेको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार मात्रै कर्नाटकमा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ जना नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी ४३० जना संक्रमित केरल राज्यमा सक्रिय रहेका छन्। यसैबीच गुजरातमा १३ जना संक्रमित निको भइसकेका छन्। उत्तर प्रदेशको फिरोजाबादमा मंगलबार ७८ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यो उत्तर प्रदेशमा नयाँ भेरियन्टबाट भएको पहिलो मृत्यु हो। यस्तै महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा गरी थप ११ जनाको मृत्यु भइसकेको छ। कुल मृतक संख्या १२ पुगेको भारतीय अधिकारीहरूले जनाएका छन्।
चार नयाँ भेरियन्टको पहिचान
भारतीय चिकित्सा अनुसन्धान परिषद् (ICMR) का निर्देशक डा. राजीव बहलका अनुसार हालसम्म भारतमा चार नयाँ कोरोना भेरियन्ट फेला परेका छन्। ती भेरियन्टहरू हुन् – एलएफ.७, एक्सएफजी, जेएन.१, र एनबी.१.८.१।
यीमध्ये सबैभन्दा धेरै देखिएको भेरियन्ट जेएन.१ हो, जुन परीक्षण गरिएका आधा भन्दा बढी नमूनामा भेटिएको छ। यो ओमिक्रोनको बीए.२.८६ स्ट्रेन हो, जसमा करिब ३० वटा म्युटेसन (जेनेटिक परिवर्तन) रहेको र यसले प्रतिरक्षा प्रणाली कमजोर बनाउन सक्ने बताइएको छ।
स्वास्थ्य संगठनको मूल्यांकन
विश्व स्वास्थ्य संगठन (WHO) ले यी भेरियन्टहरूलाई हालको अवस्थालाई हेर्दा ‘चिन्ताजनक होइन, तर निगरानी योग्य’ श्रेणीमा राखेको छ।
डा. बहलले भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै अवस्था अहिले गम्भीर नभए पनि जनसाधारणले सावधानी अपनाउनुपर्ने बताएका छन्। विशेषगरी जोखिम समूहका व्यक्तिहरूले मास्क लगाउने, भीडभाडबाट टाढा रहने र आवश्यक स्वास्थ्य सतर्कता अपनाउनु पर्ने उनले सुझाएका छन्। जेएन.१ भेरियन्टका लक्षण केही दिनदेखि लिएर हप्तौंसम्म रहन सक्ने बताइएको छ। लामो समय लक्षण देखिएमा ‘लङ्ग कोभिड’ हुने जोखिम रहेको विशेषज्ञहरूको भनाइ छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस