Like us!
Follow us!
Connect us!
Watch us!

मेलम्ची खानेपानी आयोजनामा एक अर्बको क्षति

अर्थ संसार

बुधबार, ०९ असार २०७८, १९ : २० मा प्रकाशित

मेलम्ची खानेपानी आयोजनामा एक अर्बको क्षति

गत साताको निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा रु एक अर्बभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’ बाहेक अरू संरचनामा क्षति पुगेको र निर्माण सामग्री र कर्मचारी बस्न बनाइएका संरचना बगाएको छ ।

अहिलेसम्म प्राविधिकहरू अम्बाथान नै भने पुग्न नसकेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार मङ्गलबार आयोजनाका डिभिजनल इन्जिनीयर लगायतको टोली चनौटेबाट झण्डै सातआठ घण्टा पैदल हिँडेर गएको थियो । त्यहाँसम्म पुग्ने सडक र पुल बाढीले बगाएकाले अम्बाथानसम्म पुग्न कठिन भएको छ । उनले भने, “प्रारम्भिक अनुमानअनुसार सुरुङ र हेडवर्कबाहेक अरू संरचनामा धेरै क्षति पुगेको छ ।”

निर्माणस्थलमा रहेका बालुवा, गिट्टीलगायत सबै निर्माण सामग्री र भण्डारण गर्ने ठाउँ नै बगाएको आयोजनाले जनाएको छ । त्यहाँ नै बसेर काम गर्नेका लागि बस्ने क्याम्प त्यहाँ रहेका खानेपानी, शौचालयलगायत सबै संरचना बगाएको छ । निर्माण व्यवसायीका उपकरण बगाएको सूचना अधिकारी पन्तले बताए । उनका अनुसार निर्माणस्थलमा पुगेको क्षतिले खर्च मात्रै बढाएको भन्दा त्यसलाई सफा गर्न समय बढी लाग्ने देखिन्छ । उनले भने, “कति समयमा सफा गरेर र क्षति मर्मत गर्न सकिन्छ भन्ने अझैसम्म अनुमान गर्न सकिएको छैन ।”

निर्माणस्थलसम्म पुग्न सडक र पुल बगाएकाले पनि निर्माणस्थलमा काम गर्न कठिन हुने प्रवक्ता पन्तले बताए । उनका अनुसार त्यहाँको मर्मत र बाँकी काम सम्पन्न गर्न खानेपानी मन्त्रालयले सहजीकरण गरिरहेको छ । प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायमा निर्देशन भएमा तत्काल बेलिब्रिज राखेर काम अघि बढाउन सकिन्छ । आयोजनाले त्यहाँका पालिकाहरू र वडासँगको समन्वयमा सडक खुलाउन पहल गरिरहेको छ ।

मुख्य संरचनामा क्षति नपुगे पनि अम्बाथान अडिट सुरुङमा गिट्टी बालुवा पसेकाले तत्काल त्यो सफा गर्नुपर्ने देखिएको आयोजनाले जनाएको छ । सुरुङको परीक्षणका लागि पहिले प्रवेशमार्ग (सडक) बनाउन आवश्यक रहेको उनले बताए । आयोजनाको सुन्दरीजलमा रहेका संरचनामा कुनै क्षति पुगेको छैन भने अम्बाथानमा समस्या रहेको छ । अडिट सुरुङ टालिएकामा त्यो सफा गर्न प्रवेशमार्ग र पुल चाहिने उनले बताए । उनले भने, “पुल र सडकका विषयमा हामीले सेना र सडक विभागलाई भनिरहेका छौँ ।”

सुरुङको परीक्षण सम्पन्न गरेर पहिले जसरी नै वैकल्पिक माध्यमबाट पानी ल्याउन सकिने सूचना अधिकारी पन्तले बताए । त्यसका लागि पनि अम्बाथानको अडिट सुरुङ खोल्नुपर्छ । अडिट सुरुङमा रहेको अवरोध हटाएपछि मुख्य सुरुङ चलाउन सकिन्छ । हेडवर्कमा कति क्षति भएको छ र सुधार गर्न कति समय लाग्छ त्यसैका आधारमा काठमाडौँमा कहिलेसम्म पानी आउने भन्ने निर्धारण हुने देखिएको छ । उनले भने, “आयोजना सम्पन्न भइनसकेर काम भइरहेकामा अहिले सम्पन्न गर्ने अवधि बढाएको छ ।”

अहिले बाढीका कारण वैकल्पिक पथान्तकरण प्रणाली (हेडवर्क डाइभर्सन सुरुङ) टालिएको छ । वैकल्पिक पथान्तरण गरेर पानी ल्याउन पनि वर्षा कट्नुपर्ने देखिएको उनले बताए । वर्षामा पानी हाल्न नसक्ने भएकाले मेलम्चीमा सफा पानी आएपछि वैकल्पिक पानी पथान्तरण चलाइने उनले बताए । उनले भने, “त्यसका लागि दुई साढे दुई महिना लाग्छ ।”

अम्बाथान अडिटको सुरुङ र हेडवर्क डाइभर्सन सुरुङ गरी दुई साता सुरुङ सफा गर्न सकेमा वैकल्पिक प्रणालीबाट काठमाडौँमा पानी ल्याउन सकिने आयोजनाले जनाएको छ । दुई महिनामा सुरुङ परीक्षणका लागि लाग्ने भनिएकामा दुईचार साता त्योभन्दा केही समय बढी लाग्नसक्ने उनले बताए । उनले भने, “अहिले हामीले पहिले जसरी नै वैकल्पिक माध्यमबाट भए पनि पानी ल्याउनुपर्छ भनेर पहल गरिरहेका छौँ ।”

वैकल्पिक पथान्तरण प्रणालीबाट चलाउन पनि हेडवर्क डाइभर्सन सुरुङ सफा गर्नुपर्छ । सुरुङ कति टालिएको छ । सफा गर्न लाग्ने समय त्यसका आधारमा निर्भर हुने सूचना अधिकारी पन्तले बताए । बालुवाले मात्र टालिएमा कामदार मात्र लगेर सफा गर्न सकिने भए पनि ठूला ढुङ्गाले टालेको भएमा सफा गर्न उपकरण नै लैजानुपर्ने उनले बताए । उपकरण लैजान पनि सडक चाहिने भएकाले वडा, पालिका र सडक विभागलाई भनिएको छ । भदौसम्ममा पहुँचमार्ग बनेमा आयोजनाले काम अघि बढाउनेछ । जनशक्ति र उपकरण लगेर डाइभर्सन टर्नेल र अम्बाथान अडिट सफा गरिने उनले बताए । उनले भने, “भित्र समस्या नभए त्यसपछि पानी चलाउन सकिन्छ ।”

अहिले विपद्का कारण तोकिएको अवधिमा काम नसकिने देखिएकाले निर्माण कम्पनीको अवधि थप गर्नुपर्ने सूचना अधिकारी पन्तले बताए । अवधि थपका विषयमा अहिले नै निर्णय भने भइसकेको छैन । निर्माणस्थलभन्दा माथिबाट आएको पहिराका कारण आठजना बेपत्ता भएका थिए । तीमध्ये तीनवटा शव भेटिएको छ । पाँचजनाको जानकारी आएको छैन । – (रासस)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको