पछिल्ला केही समयदेखि लगानीकर्ताको प्राथमिक रोजाइमा रहेको नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर बिहीबार नेप्सेमा १० प्रतिशतले घटेर १,४६८.७० रुपैयाँमा बन्द भएको छ।
अघिल्लो कारोबार दिन १,६३१.८६ रुपैयाँमा बन्द भएको यो सेयर एकै दिनमा १६३.१६ रुपैयाँले खस्किँदा लगानीकर्ताबीच प्रश्न र आशंका थपिएका छन्। बजार खुलेको सुरुवाती समयमै मूल्य १,५९९.३० रुपैयाँमा निर्धारण भए पनि त्यसपछि कारोबारमा कुनै उछाल देखिएन। दिनको उच्च मूल्य पनि सोही दरमा सीमित रह्यो भने न्यूनतम र अन्तिम दुवै मूल्य १,४६८.७० मा स्थिर रह्यो।
नेपाल रिइन्स्योरेन्स पछिल्ला महिनाहरूमा ‘हट केक’को रूपमा चर्चामा रहँदै आएको थियो। ठूला लगानीकर्तादेखि संस्थागत समूहसम्म यस कम्पनीमा पोजिसन लिएर बसेका अवस्थामा बिहीबारको कारोबार भने अत्यन्त न्यून देखियो। तथ्यांकअनुसार कुल २,९२२ कित्ता सेयर मात्र किनबेच भयो र यसबाट जम्मा ४२ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भयो। यति सानो परिमाणमै कम्पनीको मूल्य १० प्रतिशतसम्म घट्नु स्वाभाविक नभई शंकास्पद देखिएको लगानीकर्ताको टिप्पणी छ।
सामान्यतया, कुनै कम्पनीको मूल्यमा ठूलो गिरावट आउनु भनेको उल्लेख्य समाचार वा ठुलो मात्रामा विक्री दबाब हुनु हो।नेपाल रिइन्स्योरेन्सको सेयरमा आएको गिरावटलाई जेन-जी आन्दोलन र त्यसले ल्याएको अस्थिर वातावरणलाई पनि यस घटनासँग जोडेर हेरिएको छ।
सरकारी स्वामित्वको कम्पनी भएकाले नेपाल रिइन्स्योरेन्समाथि आन्दोलनको प्रत्यक्ष–अप्रत्यक्ष असर परेको विश्लेषण गरिएको छ। नन-लाइफ बीमा कम्पनीहरूसँग मिलेर ठूलो दायित्व बहन गर्नुपर्ने अवस्थामा रहेका कारण पनि बजारले नकारात्मक रुपमा लिएको हुनुसक्ने सम्भावना रहन्छ । तर, यति न्यून कारोबार परिमाणमै यस्तो गिरावट आउनु नियोजित दबाबको सम्भावनालाई नकार्न सकिँदैन।
नेपाल रिइन्स्योरेन्सजस्तो कम्पनीमा ठूलो दाबी आउनु, वा बजारको अनिश्चितता देखिनु भनेको कम्पनी सिधै पतन हुन्छ भन्ने पनि होइन। अन्तर्राष्ट्रिय पुनर्बीमा संरचना, रिजर्भ फन्ड र जोखिम बाँडफाँड प्रणाली भएकाले यस्तो कम्पनीमा तुरुन्तै समस्याको अवस्था सामान्यतया उत्पन्न हुँदैन।
केहि विश्लेषकहरूका अनुसार यस कम्पनीको सेयरमा माथिल्लो मुल्यमा ठुला लगानीकर्ताको लागत रहेको हुँदा सानो मात्रामा सेयर विक्री गरेर मूल्यलाई जबरजस्ती तल धकेलने र त्यसपछि तिनलाई ‘प्यानिक’ वातावरण सिर्जना गरी सस्तोमा खरिद गर्ने खेलको प्रयासलाई नकार्न सकिन्न।
नेपाल रिइन्स्योरेन्सको मूल्यमा आएको यो अचानक गिरावटबारे तपाईहरूको बुझाइ के छ ? तल कमेन्टमार्फत आफ्ना दृष्टिकोणहरू साझा गर्न सक्नुहुन्छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस