Like us!
Follow us!
Connect us!
Watch us!

विकासमा बेथितिः किन समयमै सकिँदैनन् ठूला आयोजना ?

अर्थ संसार

सोमबार, २१ असार २०७८, ११ : ३४ मा प्रकाशित

विकासमा बेथितिः किन समयमै सकिँदैनन् ठूला आयोजना ?

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी लोकमार्ग दुई वर्षमा सक्ने गरी सम्झौता भएकोमा पाँच वर्षमा सकिएको छैन । आयोजना समयमै नसकिएको भन्दै अहिले स्थानीय युवा आन्दोलित छन् । 

विसं २०७६ मा कालोपत्रे गर्ने लक्ष्य रहेको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड पनि अझै विस्तारकै क्रममा छ । बागलुङ खण्डको ४२ किलोमिटरमध्ये जम्मा १० किमी मात्रै कालोपत्रे गर्न सडक विभागलाई हस्तान्तरण गरिएको एक वर्ष बितिसक्यो । उक्त सडक कहिले कालोपत्रे हुने टुङ्गो छैन ।

अहिले डिपिआर (विस्तृत आयोजना प्रतिवेदन) सकेर कालोपत्रेका लागि वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहको कालीगण्डकी करिडोर आयोजना कार्यालयले जनाएको छ । 

 राष्ट्रिय गौरवको आयोजना त समयमै सकिँदैनन् भने अन्य आयोजनाको हालत के होला भन्ने बागलुङवासीमा चिन्ता बढेको छ ।  बागलुङका दुई ‘लाइफ लाइन’का सडक आयोजना मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर मात्र हैन, बागलुङका अधिकांश ठूला आयोजनाले यस्तै नियति भोगिरहेका छन् ।

आयोजना समयमा नसकिँदा स्थानीयवासी आक्रोशित हुँदै आएका मात्रै छैनन्, बिहुँका स्थानीय मध्यपहाडी लोकमार्गको काममा ढिलाइ र चरम लापरवाही भएको र त्यसबाट सास्ती भोग्नुपरेको भन्दै चरणबद्ध आन्दोलनमा छन् । सडकलाई कमाइ खाने भाँडो बनाउन दुई वर्षमा सक्नुपर्ने काम पाँच वर्षमा नसकेका कारण आन्दोलन गर्नुपरेको स्थानीयवासी दिपेश कँडेलले बताए । 

बागलुङको भविष्यसँग जोडिएको लोकमार्गको २५ किलोमिटर सडक दुई भागमा विभाजन गरेर ठेक्का भएको थियो । उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाधे खण्ड २०७२ माघ १० गते एमपी÷एससिएफ÷इसीसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता गरिएको थियो तर पटकपटक म्याद थप्दासमेत आयोजना अझै सकिएको छैन । 

लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीका अनुसार बागलुङको जिल्ला सदरमुकामदेखि घोडाबाँधेसम्मको सडक अहिले कालोपत्रे गर्ने योजना भए पनि बर्सातका कारण जम्मा दुई किलोमिटर मात्रै कालोपत्रे भएको छ । उनका अनुसार साउनमा कालोपत्रे गरिने लक्ष्य रहेको उनको भनाइ छ । 

मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर त एउटा उदाहरण मात्रै हो । बागलुङको आधुनिक बसपार्क निर्माण कम्पनीले सम्झौता गरेको अवधिमा दुई पटक म्याद थप हुँदासमेत सम्पन्न हुन सकेको छैन । बहुवर्षे आयोजनाका रूपमा र रु सात करोडको लागतमा गत वर्षदेखि निर्माणको चरणमा रहेको बलेवा विमानस्थलको धावन मार्ग अझै कालोपत्रे भएको छैन । 

असारमा जहाज चलाउने योजनाका साथ नागरिक उड्डयन प्राधिकरणले रु सात करोडको लागतमा ठेक्का सम्झौता गरे पनि निर्माण सामग्रीको अभाव देखाउँदै विमानस्थल कालोपत्रेमा ढिलाइ भएको छ । अहिले मौसमका कारण कालोपत्रे गर्न नसकिएको धावनमार्ग कालोपत्रेको जिम्मा पाएको काष्ठमण्डप कन्ट्रक्सनका प्रतिनिधि वासु थापाले जानकारी दिए । 

विसं २०७६ कात्तिक २६ गते एक वर्षमा सक्ने गरी रु आठ करोड ७० लाखमा ठेक्का सम्झौता भएको आधुनिक बसपार्क समयमै नसकिँदा दुई पटक छ÷छ महिना म्याद थप गरिएको छ । पछिल्लो पटक पुनः कोरोनाको कारण देखाउँदै छ महिना म्याद थपिएको थियो । अहिले टर्मिनल र व्यावसायिक भवन निर्माण सम्पन्न भएको र पार्किङ स्थल कालोपत्रेसमेत भइरहेको छ तर सम्पन्न भएर सञ्चालनको लागि अझै केही समय लाग्ने बागलुङ नगरपालिकाका इञ्जिनीयर मनोज शर्माले बताए ।  

बेनी बागलुङ सडक ठेक्का म्याद सकिएपछि कालोपत्रे शुरु भएको छ । बागलुङको रामरेखादेखि रत्नेचौरसम्मको ११ किलोमिटर सडक स्तरोन्नतिसँगै कालोपत्रे गर्ने सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । उक्त सडक २०७६ माघ १३ गते दुई वर्षमा सक्ने गरी रु तीन करोड ३७ लाख ७७ हजारमा फेवा÷बिएमए जेभीसँग ठेक्का सम्झौता भएको थियो ।

म्याद थपको प्रक्रियासँगै सडक कालोपत्रे भइरहेको छ । आयोजना समयमै नसकिँदा बागलुङले विकासमा फड्को मार्न समस्या भएको छ । ठूला विकासे आयोजनामा समेत चरम बेथिति भएसँगै नागरिकमा निराशा छाएको स्थानीय रामप्रसाद शर्माले बताए । (रासस)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको