Like us!
Follow us!
Connect us!
Watch us!

संसद भवनभित्रै भिडन्तजस्तो दृश्य : सत्ता र प्रतिपक्ष आमनेसामने

अर्थ संसार

आइतबार, १७ जेठ २०८३, २० : ३९ मा प्रकाशित

संसद भवनभित्रै भिडन्तजस्तो दृश्य : सत्ता र प्रतिपक्ष आमनेसामने

प्रतिनिधिसभा बैठकमा नियमावलीसम्बन्धी विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षी सांसदबीच तीव्र विवाद भएको छ । विवाद बढ्दै जाँदा संसद बैठक कक्षमै सांसदहरूबीच धकेलाधकेल र घम्साघम्सीको अवस्था सिर्जना भएको हो ।

प्रतिनिधिसभा नियमावलीमाथिको दफावार छलफल टुंग्याएर संशोधन प्रस्तावलाई निर्णय प्रक्रियामा लैजाने तयारी भइरहेका बेला प्रतिपक्षी दलका सांसदहरूले असहमति जनाएका थिए । उनीहरूले नियमावलीका संशोधन प्रस्तावलाई थप छलफलका लागि संसदीय समितिमा पठाउनुपर्ने अडान राखेका थिए।

बैठकमा प्रतिपक्षी सांसदहरूले विरोध जनाउँदै नाराबाजी गरेका थिए भने केही सांसदले वेल घेरेर अवरोधसमेत गरेका थिए । स्थिति तनावपूर्ण बन्दै जाँदा मर्यादापालक र सांसदहरूबीच केहीबेर धकेलाधकेल भएको देखिएको थियो।

यसक्रममा सत्ता पक्षका सांसदहरू पनि प्रतिवादमा उत्रिएपछि संसद बैठक कक्षको वातावरण थप तातिएको थियो । केही सांसदहरू एकअर्कासँग नजिकिएर चर्को बहसमा उत्रिएको तथा हातपातको अवस्था समेत देखिएको स्रोतहरूले बताएका छन् । घटनाक्रमका बीच केही सांसद कुर्सी र टेबुलतर्फ उक्लिएको दृश्यसमेत देखिएको थियो।

यसअघि नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले संशोधन प्रस्तावलाई विषयगत समितिमा पठाएर थप दफावार अध्ययन गरिनुपर्ने माग राखेकी थिइन् । तर सभामुख डोलप्रसाद अर्यालले सदनमै दफावार छलफल गर्ने कार्यसूची तय भइसकेको जनाउँदै प्रक्रिया अघि बढाएका थिए।

तनाव बढेपछि सभामुखले केही समयका लागि बैठक स्थगित गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको