Like us!
Follow us!
Connect us!
Watch us!

दुवै छोरा गाउँपालिका अध्यक्षका उम्मेदवार !

शनिबार, २७ जेठ २०७४, ०९ : २१ मा प्रकाशित

दुवै छोरा गाउँपालिका अध्यक्षका उम्मेदवार !

अर्थ संसार, बैतडी– बैतडीको डिलाशैनी गाउँपालिका–१ का ६८ वर्षीया जञ्जाली रानालाई करिब दुई दशकपछि आएको स्थानीय तहको निर्वाचनले खुसी तुल्याए पनि भोट दिन भने निकै सकस परेको छ । 

आफैँले जन्म दिएका दुई छोरा अलगअलग पार्टीबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बनेपछि जञ्जालीलाई भोट दिन समस्या भएको हो । जञ्जाली रानाका जेठो छोरा कर्णबहादुर राना नेपाली काँग्रेसबाट डिलाशैनी गाउँपालिकाबाट अध्यक्ष पदका उम्मेदवार बनेका छन् ।  कान्छा छोरा लोकेन्द्र राना (शीतल) नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार बनेका छन् । “दुवै छोरा मेरा लागि समान हुन् भोट कसलाई दिउँ ?” जञ्जालीले भन्नुभयो – “दिन मिल्ने भए त दुबै छोरालाई दिने थिए तर मिल्दैन ।” 

उहाँले कसलाई भोट दिने भनेर निर्णय गर्न सक्नुभएको छैन । जञ्जालीलाई दुवै छोरा उम्मेदवार बनेकामा खुसी एकातिर छ भने भोट कसलाई दिने भन्ने चिन्ता अर्कातिर आइपरेको छ । उहाँले भन्नुभयो – “दुवै छोरा उम्मेदवार बन्दा खुसी छु तर एउटालाई भोट हाल्न नपाउँदा नियास्रो लाग्छ ।” 

दुवै छोरा उम्मेदवार बनेपनि गाउँ घुम्न नपाएकामा आफू दुःखी भएको जञ्जालीले बताउनुभयो । “म पञ्चायत कालमा राजनीति गर्ने मान्छे हुँ तर दुवै छोरा उम्मेदवार भएपछि गाउँमै जान सकिएको छैन,” उहाँले भन्नुभयो – “कुन छोराको प्रचारप्रसारमा हिँड्ने भनेर प्रचारमै गइनँ ।” 


काँग्रेसबाट डिलाशैनी गाउँपालिकाबाट अध्यक्ष पदका उम्मेदवार बनेका जेठो छोरा कर्णबहादुर रानाले भन्नुभयो – “भाइ माओवादी केन्द्रबाट लडेका छन् । दुवै एउटै आमाको कोखबाट जन्मेका हौँ, काँग्रेसको विचार राम्रो लाग्यो भने बुबाले मलाई दिनुहुन्छ, माओवादीको राम्रो लागे भाइलाई दिनुहुन्छ । तर पनि बुबाले मलाई नै भोट दिनुहुन्छ भन्नेमा म विश्वस्त छु । बुबाको भोट मैले पाउँछु, आमाले भाइलाई दिनुहुन्छ ।” 

एक प्रश्नमा उहाँले भन्नुभयो – “भाइले पनि जित्छु भनेर उम्मेदवारी दिएको हो । मैले नि जित्छु भनेरै उम्मेदवारी दिएको हुँ । को जित्छ भन्ने थाहा पाउन मत परिणामलाई पर्खिनुपर्छ ।” 

यता माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार बनेका कान्छा छोरा लोकेन्द्र राना (शीतल)  बुबाले आफूलाई मत दिने दाबी गर्नुहुन्छ । “दाइलाई हराएर गाउँपालिका अध्यक्ष हुन्छु भन्नेमा म ढुक्क छु, डिलाशैनीबाट म भारी मतका साथ विजयी हुन्छु,” उहाँले भन्नुभयो – “योे सुनौलो मौका हो, यसलाई कसरी उपयोग गर्नुपर्छ भन्ने रणनीति बनाइसकेको छु ।” 

डिलाशैनीका स्थानीय बासिन्दालाई समेत एकै घरका सहोदर दाजुभाइ उम्मेदवार बनेपछि कसलाई भोट दिने भनेर अन्योलमा परेका छन् । रासस 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको