समृद्ध सिन्धुली नागरिक अभियानले राजधानीमा सिन्धुलीका स्थानीय तहका पदाधिकारीलाई बधाइ ज्ञापन तथा सिन्धुलीगढीमा मनाइने २५० औं विजयोत्सव तयारीबारे आयोजना गरेका अन्तक्र्रियामा उनीहरुले मुलककै गौरवका रुपमा रहेको सिन्धुलीगढीलाई देश, विदेशमा चिनाउन सबै जनप्रतिनिधि लाग्ने प्रतिवद्धता जनाए ।
समृद्ध सिन्धुली अभियानले हरेक बर्षको विजयोत्सवका बेला काठमाडौंबाट सिन्धुलीगढीसम्म साइकल यात्रा गर्ने योजना बनाएको छ । आउँदो कात्तिक २३, २४ र २५ गते सिन्धुलीगढीहुँदै सिन्धुलीमाढीसम्म गरिने साइकलयात्रामा २५० जनालाई सहभागी गराउने लक्ष लिएर पूर्वाधार तयार गर्न लागिरहेको अभियानका संयोजक लीलानाथ घिमिरेले बताए ।
कार्यक्रममा सिन्धुलीको कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्री, उपप्रमुख मञ्जु देवकोटा, सुनकोशी गाउपालिका अध्यक्ष दीपा बोहरा, तीनपाटन गाउपालिका अध्यक्ष कर्णबहादुर थापा, मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जन, उपाध्यक्ष, संगीता माझी, हरिहरपुरगढी गाउपालिका अध्यक्ष कारसाङ थिङ र उपाध्यक्ष अनिता राईलाई अभियानले सम्मान गरेको थियो ।
कार्यक्रममा स्थानीय निकायका पदाधिकारीलाई चुनावमा गरेका प्रतिबद्धता अनुसार गाउँलाई समृद्ध बनाउन समृद्ध सिन्धुली अभियानले सघाउने अभियन्ता सौरभ ढकालले बताए । अभियानले गाउँलाई सुन्दर बनाउने ‘ड्रिम सिटी’ भिजन तयार गरेको बताउँदै त्यसलाई कार्यान्वयन गर्न जनप्रतिनिधिसँग सहकार्य आवश्यक रहेको उल्लेख गरे । अर्का अभियन्ता भुवन थापाले हरेक गाउँलाई स्मार्ट बनाउन आवश्यक रहेको बताउँदै सहकार्यका लागि जनप्रतिनिधिसँग आग्रह गरे ।
सुनकोशी गाउँपालिका प्रमुख बोहराले सिन्धुलीगढी जाने साइकल यात्रीहरुलाई स्वागत गर्न आफूहरु आत्तुर रहेको बताइन् । उनले गाउँको विकासका लागि आफूले विज्ञहरुसँग छलफल गरिरहेको बताउँदै त्यसमा सघाउन समृद्ध सिन्धुली अभियानलाई आग्रह गरिन् ।अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस