पछिल्लाे समय विभिन्न कम्पनीहरुले धमाधम हकप्रद सेयर निष्कासन गरिरहेका छन् । तोकिएको समयमा चुक्ता पूँजी पुर्याउनका लागि अर्थात् चुक्ता पूँजी वृद्धि गर्न विभिन्न कम्पनीहरुले हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् ।
हकप्रद सेयर कै कुरा गर्नुपर्दा विभिन्न ६ वटा कम्पनी नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा हकप्रद सेयर निष्कासन तथा स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन् ।
हकप्रद निष्कासन गर्न लागेका ६ वटा कम्पनीहरूमध्ये, आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड प्रारम्भिक समीक्षा अन्तर्गतकाे (Under Preliminary Review) सूचीमा छ । शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड समीक्षा गरी टिप्पणी पठाइएकाे (Reviewed and Comment Sent) सूचीमा छन् । बाँकी ३ वटा अर्थात् कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेड र नारायणी डेभलपमेन्ट बैंक लिमिटेड जवाफ र समीक्षा (Replied and Under Review) अन्तर्गत छन् ।
सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछियपछि अहिले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना निलम्बित छन् अर्थमन्त्रालयले दैनिक कार्य संचालनका लागि प्रमुख कार्यकारी अधिकृत निरज गिरीलाई जिम्मेवारी दिएको छ । धितोपत्र बोर्ड श्रोतका अनुसार अहिले दैनिक प्रशासनिक कार्यसञ्चालनका लागि मात्र निमित्तको जिम्मेवारी दिएकाले आईपिओ र हकप्रदसमबन्धी कुनै पनि निर्णय हुन सकेको छैन ।
१. आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड
कम्पनीले हाल कायम चुक्ता पुँजीकाे १ अर्ब १५ करोड ७६ लाख रूपैयाँकाे ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न भदाै १७ गते, बिहीबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेकाे छ । कम्पनीले १:०.४ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेकाे हाे । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको गत वैशाख १२ गते सम्पन्न २३औँ वार्षिक साधारण सभाले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । बीमा समितिले पनि कम्पनीलाई हकप्रद सेयर निष्कासनको अनुमति दिइसकेको छ ।
२. नारायणी डेभलपमेन्ट बैंक लिमिटेड
नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले १:१ काे अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ बराबरकाे १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद निष्कासन गर्न असार ४ गते सेबाेनमा निवेदन पेश गरेकाे छ । बैंककाे हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
३. समृद्धि फाइनान्स कम्पनी लिमिटेड
समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएकाे हाे । कम्पनीले २:१ काे अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ५० प्रतिशतले हुन आउने २७ करोड २९ लाख ७० हजार ५ सय रूपैयाँ बराबरकाे २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद सेयर निष्कासन गर्न साउन १५ गते, शुक्रबार सेबाेनमा निवेदन पेश गरेकाे छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि बिओके क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ।
४. कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड
कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले १:१.५ अनुपात अर्थात १५० प्रतिशत हकप्रद निष्कासन गर्नका लागि पुस २६ गते बोर्डमा निवेदन दिएको थियाे । बैंकले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेकाे हाे । बैंकले हकप्रद निष्कासनका लागि सिभिल क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ ।
५. छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेड
छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले १० बराबर ३ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति माग्दै वैशाख १५ गते बोर्डमा निवेदन दिएको छ । कम्पनीले ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको हो । कम्पनीकाे उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ।
६. शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले १०:३० को अनुपातमा ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गर्न जेठ २५ गते मंगलबार सेबाेनमा निवेदन पेश गरेकाे छ । कम्पनीकाे उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको हकप्रदलाई ‘एपीआरए’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा आफ्नाे वित्तीय दायित्व पूरा गर्न सक्ने रहेको संकेत गर्दछ ।
त्यसैगरी, एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले असोज २५ गतेबाट हाल कायम चुक्ता पुँजी १०:३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ रुपैयाँ ४२ पैसा बराबरको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद सेयर निष्कासन गर्दैछ । बैंकले हकप्रद सेयर निष्कासन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंकले हकप्रद प्रयोजनका लागि असोज १ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र हकप्रद सेयर भर्न पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस