Like us!
Follow us!
Connect us!
Watch us!

सेबोनले सार्वजनिक गर्‍यो ‘नेपालको पूँजी बजार विकास मार्गचित्र–२०८३’, २०३६ सम्मका महत्वाकांक्षी लक्ष्य सार्वजनिक

अर्थ संसार

बुधबार, ३१ असार २०८३, ०८ : ३५ मा प्रकाशित

सेबोनले सार्वजनिक गर्‍यो ‘नेपालको पूँजी बजार विकास मार्गचित्र–२०८३’, २०३६ सम्मका महत्वाकांक्षी लक्ष्य सार्वजनिक

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालको पूँजी बजारलाई दीर्घकालीन रूपमा रूपान्तरण गर्ने उद्देश्यसहित ‘नेपालको पूँजी बजार विकास मार्गचित्र–२०८३’ सार्वजनिक गरेको छ। बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टले असार २९ गते मार्गचित्र सार्वजनिक गर्दै पूँजी बजारलाई राष्ट्रिय आर्थिक विकासको दोस्रो स्तम्भ का रूपमा स्थापित गर्ने लक्ष्य अघि सारेका हुन्।

सेबोनका अनुसार विगत तीन दशकमा नेपाली पूँजी बजारले उल्लेखनीय प्रगति हासिल गरेको छ। सरकारी ऋणपत्र कारोबारबाट सुरु भएको बजार अहिले डिम्याट प्रणाली, मेरोसेयर, सी–आस्बा, अनलाइन कारोबार प्रणाली र विद्युतीय सार्वजनिक निष्काशनजस्ता आधुनिक पूर्वाधारमा आधारित प्रणालीमा रूपान्तरण भइसकेको छ।

हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २९७ कम्पनी सूचीकृत छन्। बजार पूँजीकरण करिब ४६ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ, जुन नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) को करिब ७०.५२ प्रतिशत बराबर हो। त्यस्तै, डिम्याट खाताको संख्या ७७ लाख ६६ हजारभन्दा बढी पुगेको बोर्डले जनाएको छ।

सेबोनले परम्परागत बैंकिङ प्रणालीमा अत्यधिक निर्भर वित्तीय संरचनाले मात्रै तीव्र आर्थिक वृद्धि, औद्योगिकीकरण तथा डिजिटल अर्थतन्त्रको आवश्यकतालाई सम्बोधन गर्न नसक्ने निष्कर्ष निकाल्दै दीर्घकालीन पूँजी परिचालनका लागि पूँजी बजारको भूमिका थप विस्तार गर्न मार्गचित्र तयार गरेको जनाएको छ।

मार्गचित्रले आगामी दशकका लागि सात रणनीतिक आधार तय गरेको छ। यसमा सुदृढ कानुनी तथा नियामकीय संरचना, बजारको गहिराइ र विविधीकरण, संस्थागत लगानीकर्ताको विकास, प्रविधिमा आधारित पूँजी बजार, लगानीकर्ता संरक्षण तथा वित्तीय साक्षरता, अन्तर्राष्ट्रियकरण र विदेशी लगानी तथा नवप्रवर्तन, साना तथा मझौला उद्यम (SME) वित्तीयकरण र हरित वित्तलाई प्राथमिकतामा राखिएको छ।

बोर्डले मार्गचित्रलाई तीन चरणमा कार्यान्वयन गर्ने योजना पनि सार्वजनिक गरेको छ। पहिलो चरणमा सन् २०२६–२०२७ सम्म कानुनी, संस्थागत र नियामकीय सुधार गरिनेछ। दोस्रो चरण (२०२८–२०३०) मा बजार विस्तार, नयाँ वित्तीय उपकरणको विकास तथा डिजिटल रूपान्तरणलाई तीव्रता दिइनेछ। तेस्रो चरण (२०३१–२०३६) मा नेपालको पूँजी बजारलाई अन्तर्राष्ट्रियकरण गर्दै क्षेत्रीय वित्तीय बजारसँग जोड्ने र विश्वस्तरीय पूँजी बजारका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

मार्गचित्रले सन् २०३६ सम्मका महत्वाकांक्षी लक्ष्यहरू पनि निर्धारण गरेको छ। त्यसअनुसार बजार पूँजीकरणलाई GDP को १५० प्रतिशतभन्दा माथि पुर्‍याउने, सूचीकृत कम्पनीको संख्या ५०० भन्दा बढी बनाउने, दैनिक कारोबार ३० अर्ब रुपैयाँ पुर्‍याउने तथा डिम्याट खाताको संख्या १ करोड २० लाखभन्दा बढी पुर्‍याउने लक्ष्य राखिएको छ।

त्यस्तै, कुल कारोबारमा संस्थागत लगानीकर्ताको सहभागिता ४० प्रतिशतभन्दा बढी बनाउने, कर्पोरेट ऋणपत्र बजारलाई कुल पूँजी बजारको २० प्रतिशत सम्म विस्तार गर्ने, म्युचुअल फन्ड योजनाको संख्या १५० भन्दा बढी पुर्‍याउने तथा २०० भन्दा बढी एसएमई कम्पनी लाई पूँजी बजारमा सूचीकृत गर्ने लक्ष्य पनि मार्गचित्रमा समावेश गरिएको छ। हरित बन्ड (Green Bond) को नियमित निष्काशन र विदेशी पोर्टफोलियो लगानीकर्ताको चरणबद्ध प्रवेशलाई समेत दीर्घकालीन लक्ष्यका रूपमा राखिएको छ।

सेबोनले हाल पूँजी बजारमा सीमित वित्तीय उपकरण, कमजोर कर्पोरेट ऋणपत्र बजार, न्यून संस्थागत लगानी, विदेशी पोर्टफोलियो लगानीको अभाव तथा प्रविधिगत सीमितता प्रमुख चुनौतीका रूपमा रहेको जनाएको छ। यी चुनौती समाधान गर्दै पूँजी बजारलाई बैंकिङ प्रणालीको पूरक मात्र नभई राष्ट्रिय आर्थिक रूपान्तरणको प्रमुख वित्तीय माध्यम बनाउने उद्देश्य मार्गचित्रले लिएको छ।

बोर्डले अन्तर्राष्ट्रिय प्रतिभूति आयोगहरूको संगठन (IOSCO) का सिद्धान्त तथा विश्वव्यापी असल अभ्यासअनुसार नियमन र सुपरिवेक्षण प्रणालीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ। सेबोनका अनुसार सरकार, निजी क्षेत्र र बजारसँग सम्बन्धित सबै निकायबीचको सहकार्यबाट आगामी दशकमा नेपाललाई दक्षिण एशियाकै आधुनिक, प्रविधिमैत्री र प्रतिस्पर्धी पूँजी बजारका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको