Like us!
Follow us!
Connect us!
Watch us!

सेबोनलाई 'स्मार्ट रेगुलेटर' बनाउने तयारी, रियल टाइम बजार निगरानी प्रणाली ल्याइने

अर्थ संसार

बुधबार, ३१ असार २०८३, ०७ : ५१ मा प्रकाशित

सेबोनलाई 'स्मार्ट रेगुलेटर' बनाउने तयारी, रियल टाइम बजार निगरानी प्रणाली ल्याइने

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३/८४ मा संस्थागत सुदृढीकरणलाई प्रमुख प्राथमिकतामा राख्दै आफूलाई परम्परागत अनुमतिप्रदाता निकायबाट प्रविधिमैत्री, जोखिममा आधारित र तथ्याङ्क–निर्देशित आधुनिक नियामक संस्थाका रूपमा रूपान्तरण गर्ने घोषणा गरेको छ।

आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति अन्तर्गत सार्वजनिक गरिएको संस्थागत सुदृढीकरण कार्यक्रमअनुसार सेबोनले पूँजी बजारको विकास, लगानीकर्ता संरक्षण र वित्तीय स्थायित्वलाई सन्तुलित रूपमा अघि बढाउन नियामकीय क्षमता, प्रविधि र मानव स्रोतमा व्यापक सुधार गर्ने भएको हो।

सेबोनका अनुसार पूँजी बजारको आकार, कारोबारको जटिलता, वित्तीय उपकरणको विविधीकरण, डिजिटल कारोबारको विस्तार तथा अन्तर्राष्ट्रिय वित्तीय प्रणालीसँग बढ्दो सम्बन्धका कारण नियामक निकायको भूमिका पनि परिवर्तन हुँदै गएको छ। त्यसैले अब बोर्डलाई केवल अनुमति दिने संस्थाका रूपमा नभई बजार विकासको नेतृत्व गर्ने सक्षम नियामकका रूपमा विकास गरिने नीति लिइएको छ।

यसअन्तर्गत बोर्डले जोखिममा आधारित नियमन (Risk-Based Regulation), प्रविधिमा आधारित सुपरिवेक्षण (SupTech) तथा नियामकीय प्रविधि (RegTech) लाई संस्थागत गर्ने जनाएको छ। यी प्रणालीमार्फत नियमनलाई थप प्रभावकारी, वैज्ञानिक र तथ्यमा आधारित बनाइने लक्ष्य राखिएको छ।

बजारको वास्तविक समय (Real-Time) मा निगरानी गर्न सक्ने एकीकृत डिजिटल सुपरिवेक्षण प्रणाली पनि विकास गरिने भएको छ। सेबोनका अनुसार उक्त प्रणालीले भित्री कारोबार (Insider Trading), मूल्य हेरफेर (Market Manipulation), अस्वाभाविक कारोबार तथा अन्य अनुचित गतिविधिलाई तत्काल पहिचान गरी आवश्यक नियामकीय कारबाही गर्न सहयोग पुर्‍याउनेछ।

बोर्डले आफ्नो संगठन तथा व्यवस्थापन (O&M) अध्ययन गरी अनुसन्धान तथा नीति विश्लेषण इकाई स्थापना गर्ने भएको छ। साथै, आधुनिक कानुन कार्यान्वयनका लागि मार्केट इन्टेलिजेन्स तथा इन्भेस्टिगेसन डिपार्टमेन्ट स्थापना गर्ने योजना पनि सार्वजनिक गरिएको छ। यसबाट नियामकीय निर्णय प्रक्रिया थप पारदर्शी, तथ्यमा आधारित र पूर्वानुमानयोग्य हुने अपेक्षा गरिएको छ।

सेबोनले अनुमतिपत्र, स्वीकृति, सूचना प्रवाह, अनुगमन तथा गुनासो व्यवस्थापनलगायतका सबै सेवा चरणबद्ध रूपमा एकीकृत डिजिटल प्लेटफर्ममा ल्याउने जनाएको छ। यसले सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउने विश्वास बोर्डको छ।

मानव स्रोत विकासलाई पनि संस्थागत सुधारको प्रमुख आधार बनाइएको छ। कर्मचारीहरूलाई पूँजी बजार, डिजिटल वित्त, वित्तीय प्रविधि, कृत्रिम बुद्धिमत्ता (AI), साइबर सुरक्षा, फरेन्सिक अनुसन्धान, जोखिम व्यवस्थापन तथा अन्तर्राष्ट्रिय प्रतिभूति नियमनसम्बन्धी नियमित तालिम र अध्ययनको व्यवस्था गरिनेछ। विश्वविद्यालय, अनुसन्धान संस्था तथा अन्तर्राष्ट्रिय नियामक निकायसँग सहकार्य विस्तार गर्दै ज्ञानमा आधारित नियमन प्रणाली विकास गर्ने लक्ष्य पनि राखिएको छ।

बोर्डले आफूलाई नियामक मात्र नभई पूँजी बजार विकासको उत्प्रेरक संस्थाका रूपमा स्थापित गर्न निजी क्षेत्र, बजार पूर्वाधार संस्था, व्यवसायिक संघ–संगठन, विकास साझेदार तथा अन्य नियामक निकायसँग सहकार्यलाई थप सुदृढ बनाउने जनाएको छ।

यसैगरी, पूँजी बजार सुधारका लागि नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी), मर्चेन्ट बैंकर एसोसिएसन, स्टक ब्रोकर एसोसिएसन अफ नेपाल, क्रेडिट रेटिङ कम्पनी तथा विशिष्टीकृत कोष व्यवस्थापकका प्रतिनिधि सम्मिलित क्यापिटल मार्केट टास्क फोर्स (Capital Market Task Force–CMTF) गठन गरिने भएको छ। उक्त कार्यदलले पूँजी बजार सुधारका नीतिगत तथा कार्यान्वयनसम्बन्धी विषयमा समन्वय गर्नेछ।

सेबोनले सेवा प्रवाहलाई नतिजामुखी (Delivery-Based Governance) बनाउने, सीमापार नियामकीय सहकार्य (Cross-Border Regulatory Cooperation) विस्तार गर्ने तथा अन्तर्राष्ट्रिय ज्ञान र अनुभव आदान–प्रदानलाई पनि आगामी वर्षको प्राथमिकतामा राखेको जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको