Like us!
Follow us!
Connect us!
Watch us!

तीनै तहको निर्वाचनपछि मात्र एमाले सरकारमा जान्छ – अध्यक्ष ओली

सोमबार, २९ जेठ २०७४, १६ : २८ मा प्रकाशित

तीनै तहको निर्वाचनपछि मात्र एमाले सरकारमा जान्छ – अध्यक्ष ओली

अर्थ संसार, काठमाडौँ,– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तीनैै तहको निर्वाचनपछि मात्र पार्टी सरकारमा जाने बताउनुभएको छ । 

नेकपा (एमाले) ३ नं प्रदेश कमिटीले आज स्थानीय तहको निर्वाचनमा ३ नं प्रदेशभर एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो – “स्थानीय तह, प्रदेश र सङ्घको चुनाव सकिएपछि अरु सबै दलहरु मिले पनि सरकारमा जानबाट एमालेलाई रोक्न सक्दैन ।” 

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रलगायतका दलहरु मिलेर एमालेलाई प्रतिपक्षमा राखेजस्तो अवस्था तीनै तहको निर्वाचनपछि नहुने उहाँले बताउनुभयो । 

उहाँले भरतपुरमा मतपत्र च्यातिएको, भक्तपुरको चाँगुनारायण नगरपालिकामा मतगणना स्थगित गरिएको र एमालेले जित्ने ठाउँमा सत्तारुढ दलले षड्यन्त्र गरेको आरोप लगाउनुभयो । 

“अरुले दौडेर जित्ने अवस्था छैन, छिर्के लगाएर लडाउने काम भएको छ, ललितपुरमा त्यही काम भएको हो, जितेको मान्छेलाई हराइएको छ” – पार्टीको सजगतामा कमी भएको तथ्य औँल्याउँदै उहाँले भन्नुभयो । 

अध्यक्ष ओलीले जनप्रतिनिधिलाई संविधान पढ्न र जिम्मेवारीपूर्वक काम गर्न सुझाव दिँदै स्थानीय सरकार पहिलेको स्थानीय निकायजस्तो नभएको हुँदा संविधानले तोकेको जिम्मेवारी पूरा गर्न जनप्रतिनिधि सक्रिय हुनुपर्ने बताउनुभयो । “संविधान पढ्नुभएको थिएन होला, अब संविधानको सबै पाना पल्टाउनुपर्छ, अनुसूची भनेको के हो थाहा पाउनुपर्छ” – अध्यक्ष ओलीले थप्नुभयो । 

स्थानीय तहमा उपाध्यक्षले न्यायिक समितिको नेतृत्व गर्नुपर्ने स्मरण गराउँदै उहाँले भन्नुभयो – “तपाईंहरुले न्यायाधीशको काम गर्नुपर्छ । निष्पक्ष रुपमा गर्नुहोला । जोखाना हेरेर हुँदैन । जितेर अबिर लाउनुभयो तर अब प्रमाणित गरेर देखाउनुपर्ने बेला भयो ।” 

अध्यक्ष ओलीले निर्वाचित महिलालाई घरव्यवहार धान्ने र स्थानीय तह कुशलतापूर्वक सञ्चालन गर्ने दोहोरो जिम्मेवारी आइपरेको पनि उल्लेख गर्नुभयो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको