Like us!
Follow us!
Connect us!
Watch us!

रंगशाला निर्माणमा हात नझिकेको धुर्मुसको दाबी, अपनत्व ग्रहण गरिदिन सरकारलाई आग्रह

अर्थ संसार

मंगलबार, ३० कार्तिक २०७८, १५ : ४४ मा प्रकाशित

रंगशाला निर्माणमा हात नझिकेको धुर्मुसको दाबी, अपनत्व ग्रहण गरिदिन सरकारलाई आग्रह

चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ऋणमा चुर्लुम्म डुबेको छ । धुर्मुस सुन्तली फाउण्डेसनले जनस्तरबाट आर्थिक सहयोग संकलन गरेर निर्माण गरिरहेको रंगशालाको काम चार महिनादेखि ठप्प छ । 

तीन अर्ब लागतको रंगशाला निर्माण गर्दा १७ करोडभन्दा बढी ऋण लागिसकेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बताएका छन् । रंगशाला निर्माणमा ५४ करोडभन्दा बढी खर्च भइसकेको छ । रंगशालाको अपनत्व र अभिभावकत्व ग्रहण गरिदिन उनले सरकारलाई आग्रहसमेत गरेका छन् । 

धुर्मुस सुन्तली फाउण्डेसनको आधिकारीक फेसबुक पेजबाट १४ मिनेट नाै सेकेण्डको भिडियो सार्वजनिक गर्दै धुर्मुसले देशको जितकै लागि भए पनि सरकारले अपनत्व ग्रहण गरिदिनुपर्ने बताए । यस्तै अवस्था रहेर भोलिका दिनमा आफूहरू विचलित हुने दिन आएमा सिंगो देशको हार हुने उनले बताए ।  

३० हजार क्षमताको हुने रंगशालामा तीन हजार दर्शकले बसेर खेल हेर्न मिल्ने प्याराफिट बनिसकेको छ । मैदान पनि तयार भइसकेको छ । पिच निर्माण गर्न बाँकी छ । कोरोना महामारीका बेला पनि क्रिकेट रंगशालाको काम धमाधम भएको थियो । 

‘निर्माण सामग्री दिने विभिन्न कम्पनी र व्यक्तित्वहरू धेरै कुरिसक्नुभयो । कति कम्पनी त बन्द हुने अवस्थामा पुगेका छन् । उहाँहरूको तारन्तर फोन आइरहन्छ । तारन्तार मेसेज गरिरहनुहुन्छ, कहिले कहिले ? मसँग पनि जवाफ छैन कहिले ?’, उनले भावुक हुँदै भने । 

सरकारकै नेतृत्वमा निर्माण गर्ने भए पनि आफुहरू सहयोगी भूमिका निर्वाह गर्न तयार रहेको उनले बताए । तीन तहकै सरकारलाई परियोजनाको अभिभावकत्व ग्रहण गरिदिन उनले आग्रह गरे । 

महामारी र चाडपर्वमा पनि आराम नगरी रंगशाला निर्माण अभियान जारी राखिएको स्मरण गर्दै उनले दर्शकको माया र ममता पाएर नै सामाजिक काममा हात हालिएको बताए । रंगशाला निर्माण परियोजनाको आफूहरू माध्यम मात्र भएको उनले बताए । 

‘हरेक विषम परिस्थितिको सामना गर्दै रंगशाला जसरी पनि बन्नुपर्छ भनेर त्यो आँट, त्यो हिम्मतका साथ हामी अघि बढेका थियौँ । तर, बिडम्बना विगत चार महिनादेखि रंगशाला निर्माण अभियान रोकिएको छ’, उनले भने ।

सरकारको उपस्थितिमा घोषित परियोजना निर्माणका लागि सके जतिको उपाय अपनाइएको तर थोरै सहयोग अनि धेरै आश्वासन र धोका पाइएको उनले बताए ।

‘सरकारलाई सुरुवाती दिनदेखि नै अभिभावकत्व ग्रहण गरिदिन अनुरोध गरिरह्यौँ’, उनी भन्छन्, ‘संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार । सबैको ढोकामा हामी पटकपटक पुग्यौँ । सिंहदरबार, ७५३ वटै सरकारका ढोकामा पत्राचार गरेका छौँ । अनुरोध गरेका छौँ । हामी नपुगेको ठाउँ, सायदै कम होला ।’

आर्थिक अनियमितता हुन नदिन आफूहरू सुरुवाती दिनदेखि नै सचेत रहेको उनले बताए । फाउण्डेसनले असार मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन केही दिनमा सार्वजनिक गर्ने तयारी गरेको छ । त्योसँगै भोगाइ र पीडा पनि सार्वजनिक गर्ने सुरमा छन्, धुर्मुस । हरेक आलोचना र टिप्पणीको जवाफ दिइने उनले बताए ।

‘एकचोटी फेरि सबै जुर्मुराएर जुट्ने हो भने अबको ६ महिनादेखि वर्षदिनमा इतिहासमा पहिलो पटक ३० हजार क्षमताको अन्तर्राष्ट्रिय मादण्डको रंगशाला नेपालले पाउने छ’, उनले भने । रंगशालाको लागि सहयोग गरिसकेका ४० हजार जनाभन्दा बढीको भावनाको कदर सरकारले गर्नुपर्ने उनले बताए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको