Like us!
Follow us!
Connect us!
Watch us!

रोकिएका हकप्रद र आईपीओ निष्काशनको अनुमति दिने बोर्डको तयारी : दिनभरका आर्थिक समाचार (भिडियाे)

अर्थ संसार

शनिबार, १८ मंसिर २०७८, ०८ : ०४ मा प्रकाशित

हामीले दिनभरकाे आर्थिक समाचारहरू समेटी तयार पारिएकाे "अर्थसंसार बुलेटिन" नामक भिडियाे केही समय अघिदेखि नै हाम्राे आधिकारिक युट्युब च्यानल मार्फत् हाम्रा पाठक/दर्शक माझ प्रस्तुत गर्दै आइरहेका थियाैँ । साेही समाचारहरूकाे संकलन हामीले समाचारमार्फत् पनि पाठकहरूमाझ पुर्याउन सुरू गरेका छाैँ ।

आज (मंसिर १७ गते, शुक्रबार) दिनभरका मुख्य आर्थिक समाचारहरू यस प्रकारका छन् :

१. नेप्सेमा एभरेष्ट बैंकसहित ३ कम्पनीको सेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज शुक्रबार एभरेष्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र सबैको लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन भएको हो । एभरेष्ट बैंक लिमिटेडको ६ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ५ सय ५० रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ५ सय ८३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको १०.९३ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ४ सय ३ रूपैयाँ ८६ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ४ सय ४८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । त्यसैगरी सबैको लघुवित्त वित्तीय संस्थाको ३१.०५ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार ५ सय ४ रूपैयाँ १ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य १ हजार ९ सय ७१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

२. बुद्धभुमी नेपालकाे सेयर रजिष्ट्रार नियुक्त, आईपीओ सूचिकरणकाे तयारी हुँदै

भर्खरै आईपीओ निष्कासन गरेकाे बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्ती गरेको हो । अब उप्रान्त कम्पनीको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू सिद्धार्थ क्यापिटल लिमिटेड मार्फत हुनेछ । कम्पनीको आईपीओ बाँडफाँडको काम असोज २३ गते सम्पन्न भइसकेको भएतापनि हालसम्म पनि कम्पनीको आईपीओ दोस्रो बजारमा सुचिकृत भएको छैन । सेयर रजिष्ट्रार चयन गरेसँगै आईपीओ सूचिरणकाे प्रक्रिया पनि अघि बढेको र छिट्टै नेप्सेमा सुचिकृत हुने कम्पनीले जनाएको छ । 

३. नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद पुस ७ गतेबाट बजारमा आउँदै , मंसिर २३ गतेसम्म कायम हुनेले भर्न पाउने

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले पुस ७ गते, बुधबारबाट हकप्रद सेयर निष्कासन तथा  बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले १ बराबर १ को अनुपातमा  कुल १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि मंसिर २४ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । पुस ७ गतेबाट निष्कासन गरिने उक्त हकप्रदमा पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल, नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि(आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

४. लाभांश पारित गर्न लुम्बिनी विकास बैंकले डाक्यो साधारण सभा, मंसिर २७ गतेदेखि बुकक्लोज

लुम्बिनी विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको हिजाे (मंसिर १६ गते, बिहीबार) बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको चौधौँ वार्षिक साधारण सभा पुष ९ गते, शुक्रबार बैंकको केन्द्रिय कार्यलय डिल्लीबजार, काठमाडौँमा बिहान ११ः१५ बजेदेखि सुरू हुनेछ । सभामा बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८४२ प्रतिशत नगद गरी कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २७ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

५. एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद बाँडफाँड, २७ हजार २५७ कित्ता सेयर लिलामीमा आउने

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले असोज २५ गते, साेमबारबाट कार्तिक २९ गते, साेमबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे हकप्रद सेयर बाँडफाँड गरिएकाे छ । बैंकले हिजाे (मंसिर १६ गते, बिहीबार) हकप्रद सेयर बाँडफाँड गरेकाे हाे । बैंकले हाल कायम चुक्ता पुँजी १०ः३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ रुपैयाँ ४२ पैसा बराबरको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने ६ हजार एक सय ८० जना आवेदकहरूलाई २४ लाख ६ हजार एक सय ६ दशमलव ४७३८ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएकाे बैंकले जनाएकाे छ । जस अनुसार अब नबिकेकाे २७ हजार २ सय ५७ कित्ता हकप्रद बैंक लिलाम बढाबढ गरी बिक्री गर्नेछ । बैंककाे हकप्रद सेयर निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धककाे काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गरेकाे थियाे ।

६. भर्खरै आईपीओ निष्कासन गरेकाे तेह्रथुम पावरकाे नाफासँगै अधिकांश सूचकमा चमक

तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीकाे नाफासहित प्रमुख वित्तीय सूचकहरूमा आकर्षक सुधार देखिएकाे छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले १ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा कम्पनी ८६ लाख ७० हजार रुपैयाँ नोक्सानमा थियो।समिक्षा अवधिसम्म कम्पनीकाे विद्युत बिक्रीबाट हुने आम्दानी पनि १०७.१६ प्रतिशतले बढेर ४ करोड ७६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट २ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीकाे नाफा बढ्न मद्दत पुगेकाे हाे । त्यस्तै, कम्पनीको चुक्ता पुँजी ४० कराेड रुपैयाँ रहेको छ । कम्पनीकाे जगेडा काेष ८ करोड ४५ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीकाे प्रतिसेयर आम्दानी (ईपीएस) १२ रुपैयाँ (वार्षिक) र प्रतिसेयर नेटवर्थ ७९ रुपैयाँ रहेकाे छ ।

७. सेबाेनमा अध्यक्ष नियुक्ती प्रक्रिया लम्बियो : हकप्रद र आईपीओ निष्कासनको अनुमति दिने बोर्डको तयारी

नेपाल धितोपत्र बोर्डका प्रमुख कार्यकारी अधिकृत निरज गिरीले अब बोर्डका अध्यक्षको नियुक्ति नभएपनि प्रक्रिया पुरा गरेका कम्पनीहरुलाई साधारण सेयर (आईपिओ) र हकप्रद निष्कासनको अनुमति दिने बताएका छन् । यसअघि पनि एउटा कम्पनीलाई हकप्रद जारी गर्ने अनुमति दिइसकेकाे र अब क्रमशः प्रक्रिया पुरा गरेका कम्पनीहरुलाई आईपीओ र हकप्रद निष्कासनको अनुमति दिने तयारी भइरहेकाे उनले बताए ।

८. पिपुल्स हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । कम्पनीले ९६ कराेड रूपैयाँ बराबरकाे ९६ लाख कित्ता आईपीओ निष्कासन गर्न प्रत्याभूतिकर्तामा नागरिक लगानी कोषलाई नियुक्त गरेकाे छ । उक्त सेयर प्रत्याभुतिकर्ता सम्बन्धी सम्झौतामा शुक्रबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरको तर्फबाट कम्पनीका प्रबन्ध सञ्चालक केशव बहादुर रायमाझीले हस्ताक्षर गरेका हुन् । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धको रुपमा सानिमा क्यापिटल रहेको छ ।

९. नेपाल इन्भेष्टमेन्ट बैंककाे साधारण सभा सम्पन्न, १६ लाभांश पारित

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ३५ औँ साधारण सभा आज शुक्रबार बैंककाे केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौँमा सम्पन्न भएको छ । बैंकका सञ्चालक समितिको अध्यक्ष पृथ्वीबहादुर पाँडेकाे अध्यक्षतामा भर्चुअल माध्यमबाट सम्पन्न साधारण सभामा आर्थिक वर्ष २०७७/७८ मा बैंकका प्रमुख उपलब्धिहरू, भविष्यका योजनाहरू, कार्यसम्पादन लक्ष्य र रणनीतिहरूका बारेमा छलफल भएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमाेजिम गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १२.६११ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३.३८९ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेकाे छ । 

१०. २ सयले घट्याे सुनकाे भाउ, चाँदीकाे मूल्य स्थिर

शुक्रबार सुनकाे मूल्य ताेलामा २ सय रूपैयाँले घटेर प्रतिताेला ९१ हजार ३ सय रूपैयाँ कायम भएकाे छ । शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज पनि चाँदी प्रतिताेला १ हजार १ सय ५० रुपैयाँमा नै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

भिडियाे पनि हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको