Like us!
Follow us!
Connect us!
Watch us!

बंगालमा ‘जवाद' सामुन्द्रिक आँधी, नेपालमा भाेलिबाट अर्काे माैसमी प्रणाली

अर्थ संसार

शनिबार, १८ मंसिर २०७८, ०८ : ४७ मा प्रकाशित

बंगालमा ‘जवाद' सामुन्द्रिक आँधी, नेपालमा भाेलिबाट अर्काे माैसमी प्रणाली

बंगालको खाडीको मध्यपश्चिम भूभागमा ‘जवाद’ नामक सामुन्द्रिक चक्रवात बनेको छ। उक्त चक्रवात आज शनिबार बिहान भारतको ओडिसाको तटीय क्षेत्रमा पुग्ने  र तत्पश्चात उत्तर उत्तर पूर्व तर्फ सर्ने देखिएको छ ।

उक्त चक्रवातका कारण नेपालमा खासै ठूलो प्रभाव पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । विशेष बुलेटिन जारी गर्दै महाशाखाले  चक्रवातको अप्रत्यक्ष प्रभावले शनिबार रातिबाट प्रदेश १, २ र बागमतीमा आंशिकदेखि सामान्य बदली रहने छ ।  ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना  पनि रहेको र एक(दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ । 

सोमबार बाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने देखिन्छ ।

‘आइतबारबाट पुनः अर्को पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने सम्भावना देखिएको छ,’ महाशाखाले भनेको छ, ‘सो पश्चिमी न्यून चापिय प्रणालिको प्रभावले आइतबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा र सो प्रदेशहरुको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको संभावना रहेको छ।’

 सोमबार सो प्रणालीले देशभर प्रभाव पारी केही स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ ।

आइतबार राति र सोमबार दिउँसो सो प्रणालीका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको छ । सो प्रणाली सोमबार रातिबाट कमजोर बन्दै जाने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको