Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री सकारात्मक, नेप्से म्याराथनमा जसरी दौडियो

अर्थ संसार

मंगलबार, २८ मंसिर २०७८, २० : ४५ मा प्रकाशित

आज (मंसिर २८ गते, मंगलबार) दिनभरका मुख्य आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् । 

१. अर्थमन्त्री र लगानीकर्ताबीच भेटवार्ता, माग पुरा गर्न मन्त्री सकारात्मक

सेयर बजारका लगानीकर्ता र अर्थमन्त्री जनार्दन शर्माबीच आज (मंसिर २८ गते, मंगलबार) भेटवार्ता भएकाे छ । (लगानीकर्ताका सबै संघसंस्थाहरुको संयुक्त कार्यदल) पूँजी बजार सुदृढीकरण बृहत कार्यदलका पदाधिकारीहरुले अर्थमन्त्रीजनार्दन शर्मासँग अर्थ मन्त्रालयमा भेट गरि पूँजी बजारको वर्तमान अवस्था, सेयर धितो कर्जा, धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्ती, ५८ बुँदेका बाँकी कामहरु र तत्काल गर्नु पर्ने सुधारका कार्यहरुको बारेमा सकारात्मक छलफल गरेका हुन् । छलफलका क्रममा अर्थमन्त्रीले आफु पूँजीबजारको दिगो विकास र बिस्तारको लागि लागिरहेको र कार्यदलले उठाएका मागहरु धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्तिसँगै पुरा गरिने विश्वास दिलाएका पूँजी बजार सुदृढीकरण बृहत कार्यदलका संयाेजक अम्बिका प्रसाद पाैडेलले बताएका छन् ।

२. लाभांश पारित गर्न नेपाल पुनर्बीमा कम्पनीले डाक्याे साधारण सभा, पाैष १४ गते बुकक्लाेज

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे मंसिर २७ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे पाचाैँ वार्षिक साधारण सभा पाैष २२ गते, बिहीबार, कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीले सञ्चालक समितिले निर्णय गरे अनुसार चुक्ता पुँजीको १६.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.५० प्रतिशत नगद गरी कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १४ गते बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले पाैष १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

३. नेपाल एसबिआई बैंकले डाक्याे साधारण सभा, लाभांश पारित मुख्य एजेन्डा

नेपाल एसबिआई बैंक लिमिटेडले वार्षिक साधारण सभा बाेलाएकाे छ । बैंककाे मंसिर ७ गते, बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे अठ्ठाइसाैँ वार्षिक साधारण सभा पाैष २० गते, मंगलबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा बैंकको मंसिर ७ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी  १.८१ प्रतिशत नगद गरी कुल ५.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष ७ गतेदेखि पाैष २० गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष ६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

४. ग्लोबल आइएमई समुन्नतले पठायाे १००% लाभांश, खाता अद्यावधिक गराउन आग्रह

ग्लोबल आईएमई बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे ग्लोबल आईएमई क्यापिटल अन्तर्गत सञ्चालित ग्लोबल आइएमई समुन्नत योजना १ ले मंसिर २६ गतेदेखि आफ्ना इकाईधनीहरुको बैंक खातामा १०० प्रतिशत लाभांश जम्मा गरेकाे छ । फण्डले नगद लाभांश वितरण गर्नको लागि मंसिर २२ गते, बुधबार एक दिनका लागि बुकक्लोज गरेको थियाे ।  त्यसैले मंसिर २१ गते, मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले मात्र याे लाभांश प्राप्त गर्नेछन् । फण्डले हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखी हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेकाे छ । फण्डकाे योजना व्यवस्थापक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

५. ६ प्रतिशतले बढ्यो सेयर बजार, साढे २ घन्टामा कारोबार बन्द

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) ६ प्रतिशतकाे वृद्धि भएकाे छ । १ बजेर २६ मिनेट जाँदा नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि आजका लागि सेयर काराेबार बन्द गरिएकाे थियाे । आज १२ बजेर ३८ मिनेट जाँदा नेप्से परिसूचक ५.०१ प्रतिशतले बढेपछि पहिलाे सर्किट ब्रेक लगाइएकाे थियाे । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर काराेबार मापक नेप्से परिसूचक ६.०१ प्रतिशत अर्थात् १३७.१८ अंकले बढेर २४१८.८४ विन्दुमा पुगेकाे छ । सेन्सेटिभ परिसूचक पनि २२.७२ अंकले बढेर ४६०.३० विन्दुमा पुगेको छ । कूल २२० वटा कम्पनीकाे ४० लाख ८५ हजार ९ सय ५६ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ८४ करोड २६ लाख ४७ हजार एक सय ४४ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहकाे सेयर बढेको छ । यस दिन ४३ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेकाे छ । विकास बैंक र फाइनान्समा लगानीकर्ताको आकर्षण देखिएकाे छ । 

६. इष्टर्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन

इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ ।कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १२ करोड ४० लाख रूपैयाँ बराबरकाे १२ लाख ४० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न मंसिर २४ गते सेबाेनमा निवेदन दिएकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । 

७. नेप्सेमा ९४ लाख २६ हजार कित्ता ऋणपत्र सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कृषि विकास बैंक लिमिटेडको ऋणपत्र सूचिकृत भएको छ । स्टकका अनुसार ९ वर्ष अवधि भएकाे “४ प्रतिशत कृषि विकास बण्ड, २०८७” को ३४ लाख २६ हजार ९ सय ७५ कित्ता र ८ वर्ष अवधि भएकाे “४ प्रतिशत कृषि विकास बण्ड, २०८६” काे ६० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

८. २६ प्रतिशत लाभांश पारित गर्न महुली लघुवित्तले डाक्याे साधारण सभा, पाैष १२ गते बुकक्लाेज 

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे हिजाे (मंसिर २७ गते, साेमबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे नवाैँ वार्षिक साधारण सभा पाैष २४ गते, शनिबार, संस्थाकाे केन्द्रिय कार्यालय, महुली, सप्तरीमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा संस्थाकाे कार्तिक १३ गते, शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १२ गते, साेमबार एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

९. मेगा बैंककाे साधारण सभा सम्पन्न, १२.०७ प्रतिशत लाभांश पारित

मेगा बैंक लिमिटेडकाे पन्ध्राैँ वार्षिक साधारण सभा आज (मंसिर २८ गते, मंगलबार) नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौँमा सम्पन्न भएकाे छ ।सभामा बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.०७ प्रतिशत नगद गरी कुल १२.०७ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएकाे छ । सभामा बैंकका अध्यक्ष भाेज बहादुर शाहद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएकाे छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण पनि स्वीकृत गरेकाे छ । सभामा २०७८/७९ को लागि लेखापरीक्षककाे नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिएकाे छ ।

१०. ३ सयले बढ्याे सुनकाे भाउ, २० रूपैयाँले बढ्याे चाँदी

मंगलबार सुनकाे मूल्य ताेलामा ३ सय रूपैयाँले बढेर प्रतिताेला ९२ हजार ८ सय रूपैयाँ कायम भएकाे छ । अाज चाँदीकाे मूल्य पनि ताेलामा २० रूपैयाँले बढेर प्रतिताेला एक हजार २ सय १० रूपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको