Like us!
Follow us!
Connect us!
Watch us!

हल्लाले लागेको हो त हिमालयन डिष्टिलरीमा सकारात्मक सर्किट? मध्य भोटेकोशीकाे आईपीओ सूचीकरणमा किन ढिलाई? (भिडियो सहित )

अर्थ संसार

सोमबार, ०५ पुस २०७८, २२ : १० मा प्रकाशित

आज (पाैष ५ गते, साेमबार) दिनभरका मुख्य आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् । 

१. उन्नति सहकार्य लघुवित्तले डाक्याे साधारण सभा, लाभांश वितरणसँगै एफपीओ निष्कासन गर्ने एजेन्डा

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे पाैष ३ गते, शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे साताैँ वार्षिक साधारण सभा पाैष २८ गते, बुधबार, हाेटल माैर्या, रूपन्देहीमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनी हालै मर्जर प्रक्रियामा गएकाले कम्पनीले वितरण गर्ने बोनस सेयरमा कर लाग्दैन । बाेनस सेयर वितरण पश्चात् सर्वसाधारण सेयर स्वामित्व अनुपात ३०% कायम गर्न एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १४ गते एकदिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

२. मध्य भोटेकोशीकाे आईपीओ सूचीकरणमा ढिलाई, २ देखि ३ दिन भित्रमा सूचीकृत गर्ने क्यापिटलकाे भनाई 

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड भएकाे २ महिना हुन लागिसकेकाे छ ।कम्पनीकाे साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कहिले सूचिकृत हाेला भन्ने कुरा कम्पनीकाे आईपीओ पर्ने लगानीकर्ताहरूलाई चासाेकाे विषय बनेकाे छ । लगानीकर्ताकाे यही चासाे मेटाउन हामीले कम्पनीको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापीटल लिमिटेडसँग कुरा गरेका छाैँ । ग्लोबल आइएमई क्यापीटलका अनुसार हाल सूचीकरणकाे काम भइरहेकाे छ र २ देखि ३ दिन भित्रमा कम्पनीकाे साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत हुनेछ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले असाेज २० गते, बुधबारबाट असाेज २५ गते, साेमबारसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । उक्त आईपीओ कार्तिक १२ गते, शुक्रबार गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे ।

३. बरुण हाईड्रोपावरले डाक्याे साधारण सभा, भर्चुअल माध्यमबाट सञ्चालन हुने

बरुण हाईड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे पाैष १ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे आर्थिक वर्ष २०७७/०७८ को वार्षिक साधारण सभा पाैष २९ गते, बिहीबार कम्पनीको केन्द्रिय कार्यलय, अनामनगर काठमाण्डौंमा बिहान १० बजेदेखि सुरू हुनेछ । कोभिड-१९ महामारीको जोखिम कायम नै रहेको हुनाले साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधि मार्फत सहभागी हुन सक्ने गरी शेयरधनीहरुलाई Zoom Meeting ID तथा Password उपलब्ध गराउने व्यवस्था गरिएको कम्पनीले जनाएकाे छ । 

४. राेकिएन सेयर बजारकाे ओरालो यात्रा, दाेहाेराे अंककाे गिरावट

आज (साेमबार) पनि सेयर बजार घटेकाे छ । लगातार घटिरहेकाे सेयर बजारले साेमबार पनि ओरालो यात्रालाई नै निरन्तरता दिएको हो । साेमबार नेप्से परिसूचक दाेहाेराे अंकले घट्दा काराेबार हुने ११ वटा उपसमूह ओरालो लागेका छन् । नेपाल स्टक एक्सचेञ्जका आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १७.९३ अंकले घटेर २३५८.८१ विन्दुमा झरेकाे छ । नेप्से ०.७५ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक २.३४ अंकले घटेर ४५१.१९ विन्दुमा पुगेको छ । कूल २३१ वटा कम्पनीकाे ५४ लाख ३९ हजार ८७ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८ सय ६३ रुपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । साेमबार गाेर्खाज फाइनान्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १९ कराेड २७ लाख १० हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज गाेर्खाज फाइनान्स कम्पनी लिमिटेड र हिमालयन डिष्टिलरीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । गाेर्खाज फाइनान्सकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार १५ रूपैयाँ ३० पैसा पुगेकाे छ । हिमालयन डिष्टिलरीकाे सेयरमूल्य पनि १० प्रतिशतले बढेर ६ हजार २ सय ३७ रूपैयाँ पुगेकाे छ । यस दिन माउन्टेन इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीकाे सेयरमूल्य ६.१७ प्रतिशतले घटेर एक हजार १५ रूपैयाँ १० पैसामा झरेकाे छ ।

५. नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंककाे बाेनस सूचिकृत, थपियाे २७ लाख ३६ हजार कित्ता सेयर

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे २७ लाख ३६ हजार ९ सय ७२ दशमलव ४२ कित्ता सेयर सूचिकृत भएकाे छ । बैंककाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । उक्त लाभांश  कार्तिक १६ गते मंगलबार, लैनचाैर ब्यांक्वेट, लैनचाैर, काठमाडाैँमा सम्पन्न भएकाे बैंककाे १७औँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । 

६. प्राविधिक विश्लेषक सन्दीप चौधरी भन्छन्: बजार बटम बनाउने तयारीमा, पुस तेस्रो साता पछि नेप्से बढ्छ

चर्चित प्राविधिक विश्लेषक सन्दीप चौधरीले बजार २२०० भन्दा तल नजाने बताएका छन् ।  अर्थसंसार डट कमको कार्यक्रम अर्थसंसार विशेषमा कुराकानी गर्दै उनले बजार हरेक हिसाबले बटममा आइसकेको बताएका हुन् । उनले भने, "अब बजारमा फेरी अर्को नयाँ ट्रेन्डको सुरुवात हुने विन्दुमा हामी आइपुगेका छौँ।  अर्को पार्ट भनेको के हो भने प्रोफेसनल इन्भेस्टरहरु, ठूला इन्भेस्टरहरु पुष १५ लाइ कुरिरहेका छन।  त्यसपछि बजारमा राम्रो बुल आउँछ। विगतको इतिहास हेर्नुभयो भने हरेक क्वार्टर इण्डको १ हप्ता अगाडीबाट बजार बढ्छ।"

७. आकर्षक लाभांशको हल्लाले हिमालयन डिष्टिलरीको सेयर मूल्यमा सकारात्मक सर्किट

हिमालयन डिष्टिलरी कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट १०० प्रतिशत लाभांश वितरणको हल्ला पछि आज (सोमबार) कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । अहिले लगानीकर्ताहरुका बीचमा कम्पनीले ७० प्रतिशत बोनस सेयर र ३० प्रतिशत नगद लााभांश वितरण गर्ने हल्ला फैलिएको छ । साेमबार कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ६ हजार २ सय ३७ रूपैयाँ पुगेकाे छ ।

८. २ सयले बढ्याे सुनकाे भाउ, चाँदीकाे मूल्य स्थिर

साेमबार सुनकाे मूल्य ताेलामा २ सय रूपैयाँले बढेर प्रतिताेला ९३ हजार ८ सय रूपैयाँ कायम भएकाे छ । आज चाँदीकाे मूल्य भने स्थिर रही प्रतिताेला एक हजार २ सय ४५ रूपैयाँमा नै काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको