Like us!
Follow us!
Connect us!
Watch us!

नेपाललाई युरोपेली युनियनको कालोसूचीबाट हटाउन सरकार संवेदनशील छ : मन्त्री आले

अर्थ संसार

आइतबार, १८ पुस २०७८, १७ : २० मा प्रकाशित

नेपाललाई युरोपेली युनियनको कालोसूचीबाट हटाउन सरकार संवेदनशील छ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले नेपाललाई युरोपेली युनियनको कालोसूचीबाट बाहिर ल्याउन सरकार संवेदनशील रहेको बताएका छन् ।

नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री आलेले युरोपेली युनियनको कालोसूचीबाट बाहिर ल्याउन गर्नुपर्ने कानुनी र नियमनकारी सुधारका लागि संसदमा विधेयक पेश भएको भन्दै ती विधेयक छिट्टै पारित गराउने बताए ।

‘राष्ट्रिय सभाबाट दुवै विधेयक पारित भइसकेका छन्, अब प्रतिनिधिसभाबाट पनि छिट्टै विधेयक पारित गराएर नेपाललाई युरोपेली युनियनको कालोसूचीबाट बाहिर ल्याउछौँ,’ उनले भने, ‘यी विषयमा सरकार संवेदनशील छ ।’ मन्त्री आलेले नेपालबाट बेलायतसम्मको सिधा हवाई उडानको प्रस्ताव पनि आफूले राखेको जानकारी गराएका छन् ।

मन्त्री आलेले सरकारी कर्मचारीलाई भ्रमण काज बिदा दिने कार्यविधि जारी गर्ने तयारी अन्तिम चरणमा पुर्याइएको पनि उल्लेख गरेका छन् । ‘कार्यविधिको मस्यौदा अर्थ मन्त्रालयमा पठाइएको छ, त्यसलाई पनि छिट्टै जारी गर्छौँ,’ मन्त्री आलेले भने ।

उनले कोभिड–१९ को गम्भीर प्रभाव परेको पर्यटन क्षेत्रको पुनरोत्थानका काम अघि बढाउन उच्चस्तरीय समिति नै गठन गरेर काम अघि बढाउन लागिएको पनि जानकारी गराएका छन् । यस समितिमा निजी क्षेत्रका प्रतिनिधिलाई पनि समावेश गरिने उनले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको भेटमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड–१९ बाट अतिप्रभावित पर्यटन क्षेत्रको शीघ्र पुनरोत्थानका लागि आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनका लागि काम गर्नुपर्नेमा जोड दिए । उनले कोभिड १९ विरुद्धको भ्याक्सिनको पूर्ण मात्रा सबै नेपालीलाई शीघ्र उपलब्ध गराई बुस्टर डोज समेत छिटो लगाउने प्रबन्ध मिलाउन आग्रह गरेका छन् । 

अध्यक्ष अग्रवालले कोभिडका कारण शिथिल भएका व्यवसायको पुनरोत्थानका लागि सरकारले दिने घोषणा गरेको राहतका कार्यक्रम अझै कतिपय व्यवसायीले नपाएको गुनासो रहेकाले त्यसको सम्बोधनका लागि पनि आग्रह गरे । उनले बंगलादेशका लाखौँ पर्यटक नेपाल भित्र्याउने गरी दुई पक्षीय सम्झौता गरेर अघि बढ्न पनि सरकारसँग आग्रह गरेका छन् ।

भेटमा परिसंघको पर्यटन समिति सभापति पम्फा धमला, परिसंघका राष्ट्रिय परिषद सदस्य एवं प्रदेश नं १ का अध्यक्ष भीमप्रसाद घिमिरे, परिसंघ पर्यटन समितिका सदस्य हिक्मत सिंह ऐर र परिसंघका महानिर्देशक यादवप्रसाद पौड्यालको उपस्थिति थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको