Like us!
Follow us!
Connect us!
Watch us!

‘भ्यालेन्टाइन डे’ को लागि भारतबाट दुई लाख सात हजार गुलाफको फूल ल्याइँदै

अर्थ संसार

मंगलबार, २५ माघ २०७८, १३ : ५१ मा प्रकाशित

‘भ्यालेन्टाइन डे’ को लागि भारतबाट दुई लाख सात हजार गुलाफको फूल ल्याइँदै

फ्लोरिकल्चर एशोसिएसन नेपाल (फान) ले यस वर्षको ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गरी भारतबाट दुई लाख सात हजार थान (स्ट्रिम) गुलाफको फूल ल्याउने भएको छ । ‘यस वर्षको भ्यालेनटाइन डेलाई लक्षित गरी हामीले भारतबाट दुई लाख सात हजार थान गुलाफको फूल मगाएका छौं,’ फानका अध्यक्ष मीनबहादुर तामाङले भने, ‘एक करोड रुपैयाँको गुलाफ भारतबाट ल्याउँछौ ।’ 

'भ्यालेनटाइन डे' पश्चिमी संस्कृति भए पनि पछिल्ला वर्षहरूमा नेपालमा यो दिनलाई युवायुवतीले विशेष रुपमा मनाउने गरेका छन् । १४ फेब्रुअरीलाई भ्यालेनटाइन डे अर्थात प्रणय दिवसको रुपमा विश्वभर मनाउने गरिन्छ । 

भ्यालेनटाइन डेको दिनमा आफूले माया गर्ने व्यक्तिलाई गुलाफको फूल दिने प्रचलन रहेको छ । सोहीकारण उक्त दिन गुलाफको फूलको माग बढी हुने गर्छ । नेपालमा पनि अन्य दिनको तुलनामा भ्यालेनटाइन डेको दिन गुलाफको फूलको माग १३ गुणा बढी हुने गरेको छ । 

फानका अध्यक्ष तामाङका अनुसार आउँदो 'भ्यालेनटाइन डे' मा नेपालमा दुई लाख ३० हजार गुलाफको फूल बिक्री हुने अनुमान छ । जसमध्ये १० प्रतिशत माग नेपालमा उत्पादन भएको गुलाफ र बाँकी ९० प्रतिशत भारतबाट ल्याइने गुलाफले धान्ने तामाङले बताए । 

यस वर्षको भ्यालेन्टाइन डेमा नेपालमा उत्पादन भएको २३ हजार थान गुलावको फूल बजारमा आउने छ । 

गत वर्षको भ्यालेनटाइन डेमा एक लाख ८० हजार थान गुलाफको फूल बिक्री भएको थियो । यस वर्ष गुलाफको माग र बिक्री बढ्ने अनुमान गरिएको छ । ‘कोरोना संक्रमण दर घट्दै गएको छ । बजार पनि खुल्दै गएका छन् । यसकारण यस वर्षको भ्यालेनटाइन डेमा गत वर्षको भन्दा बढी गुलावको माग हुने हाम्रो अनुमान हो,’ फानका अध्यक्ष तामाङले भने । 

सामान्य बेला नेपालमा दैनिक आठ हजार देखि १० हजार थानसम्म गुलावको फुल बिक्री हुने गर्छ । भ्यालेनटाइन डेको दिन भने गुलावको बिक्री निकै बढी हुने गर्छ । भ्यालेनटाइन डेलाई लक्षित गरी भारतबाट गुलावको फूल ल्याउने कार्य सुरु भइसकेको उनले जनाए । 

नेपाल नौ महिना गुलावमा आत्मनिर्भर 

फानका अध्यक्ष तामाङका अनुसार वर्षमा नाै महिना नेपाल गुलावको फुलमा आत्मनिर्भर रहँदै आएको छ । चैतदेखि मंसिरसम्म गुलाफको फूल भारतबाट आयात गर्नु पर्दैन । नाै महिना नेपाली बजारको मागलाई नेपालमै उत्पादिन गुलाफले धान्दै आएको छ । ‘नौ महिना गुलाफमा हामी आत्मनिर्भर छौं,’ तामाङले भने, ‘बाँकी महिना पनि हामी आत्मनिर्भर बन्न सक्थ्यौं तर कोरोना महामारीले गर्दा हुन सकेका छैनौं ।’
 
चिसो मौसममा गुलाफको फूल कम मात्रामा फुल्ने गर्छ । पुसदेखि फागुनसम्म नेपालमा सबैभन्दा बढी चिसो हुनेगर्छ । यसैकारण यी महिनामा त्यसै पनि गुलाफको फूल कम उत्पादन हुन्छ । ‘कोरोना महामारीको बेला लकडाउन भयो । लकडाउनमा गुलाफ व्यवसायीलाई फार्मसम्म आवतजावत गर्न दिइएन । जसका कारण नयाँ बिरुवाहरू मरे र उत्पादन घट्यो । दुई वर्षदेखि पुरानै बिरुवाले धानिरहेको छ । कोरोनाका कारण थप लगानी पनि हुन सकेको छैन,’ पूर्ण रुपमा आत्मनिर्भर हुन नसक्नुको कारण अध्यक्ष तामाङले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको