अवकाश पाएपछि निजामती कर्मचारीले पेन्सन पट्टालगायतका कागजात तयार गर्न किताबखाना धाउनुपर्ने अवस्था अन्त्य गरिने भएको छ ।
किताबखानाले सबै निजामती कर्मचारीको व्यक्तिगत विवरणसहितको कर्मचारी सङ्केत नम्बर डिजिटलाइजेसन गरी ई–पेन्सन प्रणाली कार्यान्वयन गर्न लागेकाले कर्मचारी अवकाश हुँदा किताबखानासम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य गर्न लागिएको हो । राष्ट्रिय किताबखाना (निजामती) का महानिर्देशक बाबुराज श्रेष्ठले ई–पेन्सन प्रणाली कार्यान्वयनका लागि अहिले विज्ञसहितको टोलीले अध्ययन गरी प्रतिवेदन तयार गर्न लागेको जानकारी दिए ।
उनका अनुसार कर्मचारी अवकाश हुने छ महिना पूर्व नै सम्बन्धित कर्मचारीलाई अनलाइनका माध्यमबाट जानकारी दिने, कर्मचारीले जुनजुन विवरण पठाउनुपर्ने हो सो विवरण अनलाइनकै माध्यबाट पठाउने, मासिक, पेन्सन स्केल पनि अनलाइनबाटै जानकारी दिने र कर्मचारीको सम्बन्धित कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, निवृत्तभरण कार्यालय, पेन्सन लिने बैङ्कबारे अनलाइन माध्यमबाट जानकारी दिइनेछ ।
सबै तहका कर्मचारीको नियुक्तिपत्र, नागरिकता, शैक्षिक योग्यता, सरुवा, बढुवा, बिदा, जोडिएको सेवा अवधि, कर्मचारीले पाएको पुरस्कार र विभागीय कारबाहीलगायतका दस्तावेजलाई डिजिटलाइजेसन गरी ई–पेन्सन प्रणाली लागू गर्न लागिएको हो । सबै कर्मचारीको व्यक्तिगत विवरणको अभिलेख डिजिटलाइजेसन भएपछि विस्तृत विवरण कम्युटरमा निश्चित कोड नम्बर हानेपछि प्राप्त गर्न सकिने बताउँदै उनले भने, “अबको एक वर्षमा ई–पेन्सन प्रणाली कार्यान्वयनमा ल्याउने गरी काम अगाडि बढाइरहेको छौँ ।” गोरखापत्र दैनिकमा समाचार छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस