Like us!
Follow us!
Connect us!
Watch us!

यतिबेला रिस्क टु रिवार्ड रेसियो निकै आकर्षक छ; होटेल सेक्टरमा राम्रो बुलिश सेटअप देखियो

बसन्त पाण्डे

शनिबार, ०५ चैत्र २०७८, १७ : ३७ मा प्रकाशित

यतिबेला रिस्क टु रिवार्ड रेसियो निकै आकर्षक छ; होटेल सेक्टरमा राम्रो बुलिश सेटअप देखियो

केहि समयअघि नेप्से २५०० को आसपास पुग्यो।  २९८३ को बिन्दुबाट घट्न थालेको नेप्से परिसूचक छोटो समयमै ४०० भन्दा धेरै अंकले घट्यो। २४९७ को बिन्दुबाट बढ्न थालेको नेप्से गत बुधबार २६३१ को बिन्दुमा बन्द भएको छ। 

अहिले कतिपय लगानीकर्ताहरु बजार अब नघट्ने; बढेर माथि नै जाने अनुमान गरिरहेका छन भने कतिपय चाहिँ तरलताको समस्या समाधान हुन नसकेको, मुलुकको अर्थतन्त्र कमजोर अवस्थामा रहेका कारण तत्कालै बजार माथि जान नसक्ने विश्लेषण गरिरहेका छन। चैत्रमा वाणिज्य बैंकहरुले निक्षेपतर्फको ब्याज बढाएका भए अहिले बजार तहसनहस भईसक्थ्यो, धन्न ब्याजदर स्थिर राखिदियो भन्ने विश्लेषण बजार अब घट्छ भन्नेहरुले गरिरहेका छन भने चुनाव नजिक आइसकेको, विश्व राजनीतिमा रुस र युक्रेनबीच चलिरहेको युद्ध छिट्टै अन्त्य हुने, अब तरलता सहज हुँदै जाने र यी कारणहरुले बजार बढ्ने विश्लेषण अब बजार बढ्छ भन्नेहरुको छ।  

यहि सन्धर्भमा अहिले बजार ठ्याक्कै कस्तो अवस्थामा छ र बजारको आगामी यात्रा कस्तो हुन सक्छ भन्ने विषयमा लगानीकर्ताहरुले निकै रुचाएका दुई युवा प्राविधिक विश्लेषकहरु बिपिन कंडेल र रामहरी नेपालसँग कुराकानी गरेका छौं। 

बिपिन कंडेल

दुईवटा प्रोस्पेक्टिभ छन अहिले।  २७३७ देखि २८०० को एरियामा बजारले कसरी रियाक्ट गर्छ भन्ने कुरा एकदम महत्वपूर्ण छ।  यदि यो एरियामा बुलिश सेटअप बन्यो अथवा एकुमुलेसन भयो भने बजारको यात्रा ३५०० देखि ४००० को हुन सक्ने सम्भावना पनि छ।  तर त्यसो भएन २७३७ देखि २८०० को एरियामा पुगेर मार्केट कमजोर बन्यो अथवा त्यो एरियामा डिस्ट्रिब्युसन देखियो भने चाहिँ बजार तलातिरै खस्न सक्छ।  त्यसैले अब लगानीकर्ताहरुले विशेष ध्यान दिनुपर्ने एरिया चाहिँ २७३७ देखि २८०० को एरिया हो। 

कमर्सियल बैंकहरु अहिले निक्कै सस्ता भैसकेका छन।  मिडटर्म, लंगटर्म इन्भेष्टरहरुको लागि बैंकमा लगानी गर्ने यो एकदमै उचित समय हो।  तर अहिले नै बैंकमा स्विंग ट्रेड गर्ने अथवा शर्ट टर्म ट्रेड गर्न सक्ने अवस्था बनेको छैन।  

यतिखेर बुलिश सेटअप बन्न खोजेको सेक्टर चाहिँ लाइफ र नन लाइफ इन्स्योरेन्सको सेक्टर हो।  तर भोलुम कम छ त्यसैले कन्फरमेसन चाहिँ आइसकेको छैन। इन्स्योरेन्स सेक्टरमा भविष्यमा केहि 'गुड न्युज' आउन सक्ने किसिमको संकेत गरेको हो कि जस्तो देखिएको छ।  

होटेल एण्ड टुरिज्म सेक्टरमा बटम लागिसकेको अनुमान मैले गरेको छु। यो पेण्डेमिकको बेलामा जसरी अरु सेक्टरहरु बढे त्यसरी होटेल सेक्टर बढ्न सकेन।  अब पेण्डेमिक सकिएको अवस्थामा होटेल सेक्टरमा राम्रै राइज आउने मैले देखेको छु।  विशेषगरि सोल्टी होटेलको राम्रो रिपोर्ट आएपछि अब होटेल सेक्टर राम्रो हुन सक्छ है भन्ने हिसाबमा होटेल सेक्टर बढेको हो। सोल्टी होटेलकै कुरा गर्ने हो भने सेयर मूल्य २०० भन्दा पनि तल आयो तर त्यो लेभलमा बेच्नेहरु नै थिएनन बजारमा। डिस्ट्रिब्युसन थिएन, एकुमुलेसन मात्रै थियो। होटेल सेक्टरका प्राय: सबै कम्पनीहरुमा अकुमुलेसन नै देखिएको छ। होटेल सेक्टरमा राम्रो बुलिश सेटअप बनेको छ। 
 
म चाहिँ सेयर बजारमा भोलि मूल्य यति पुग्न सक्छ, अथवा बढेर यो लेभल सम्म पुग्न सक्छ वा घटेर यहाँसम्म आउन सक्छ भनेर फ़ोर्कास्ट गर्नु भन्दा पनि बजारको अवस्था जस्तो बन्दै जान्छ त्यसरी नै अघि बढ्नुपर्छ भन्ने कुरामा विश्वाश गर्छु र सबै लगानीकर्ताहरुलाई मैले दिने सल्लाह पनि यहि हो।  

रामहरी नेपाल 

खासमा दुईवटा कुराहरु हुन्छन।  एउटा सेयर 'सस्तो' भएको अवस्था हुन्छ भने अर्को सेयर 'घटेको' अवस्था हुन्छ। यो सेयर घटेको पनि र सस्तोमा पनि पाइएको अवस्था हो।  अब फेरी भन्नुहोला कि घट्नु र सस्तो हुनु त एउटै कुरा हो नि, यसमा के फरक छ र ? फरक छ।  बुलिश मार्केटमा सेयर मूल्य घट्नु भनेको ट्रेडरको लागि किन्ने अवसर हो।  किनकि घटेपछि बढ्छ। बढेपछि घटेको मूल्यमा किनेको सेयर महँगोमा बेच्न पाइन्छ। अनि अर्कातर्फ सस्तो हुनु भनेको भ्याल्यु इन्भेस्टिङ्ग  गर्नेहरुले किन्न खोज्ने भाऊमा सेयर पाइनु हो। अहिले प्राय: कम्पनीहरुको मूल्य 'सस्तो' भएको अवस्था छ।  त्यसैले यो इन्भेष्टरले पनि र ट्रेडरले पनि सेयर किन्ने उपयुक्त समय हो। यो बेला बजारमा रिस्क टु रिवार्डको रेसियो १:४ छ।  यदि बजार घट्यो भने त्यहि २०० अंकले घट्ला तर बढ्यो भने ८०० अंकले बढ्न सक्छ।  सेयर बजारमा लाग्नेहरुले रिस्क पनि त लिन सक्नुपर्यो। रिस्क नै लिन नसक्नेहरु त सेयर बजारमा आउनु ठिक पनि होइन।  

होटेल सेक्टर चाहिँ जति घट्नु घटिसक्यो।  अब घट्ने ठाउँ छैन।  अब होटेल सेक्टर बढेर नै जाने हो। कोरोनाको कारण होटेल सेक्टरको व्यवसाय नै धरासायी भएको थियो।  अब कोरोनाको प्रभाव सकिएको छ।  त्यसैले होटेल सेक्टर बढेर नै जान्छ।  

यतिबेला मैले दिने सल्लाह भनेको यो सेयर एकुमुलेसन नै गर्ने बेला हो। बजार यहि र्यालीमा मज्जाले बढ्न सक्छ अथवा एउटा सानो करेक्सन पछि बढ्ला तर अल्टिमेट्लि बजार बढ्ने नै हो। अहिले किनिएन भने ३००० माथि किन्नुपर्दा महँगोमा परिन्छ। लगानीकर्ताले रिस्क रिवार्ड रेसियोको क्यालकुलेसन गरेर किनबेच गर्ने हो।  मेरो क्यालकुलेसनमा अहिले रिस्क रिवार्ड रेसियो निकै आकर्षक छ र स्पष्ट रुपमा यो किन्ने बेला हो।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको