अर्थ संसार, ललितपुर- प्रधानमन्त्री शेरबहादुर देउवाले सहकारी आर्थिक विकासको मेरुदण्ड भएको धारणा राख्नुभएको छ ।
राष्ट्रिय सहकारी विकास बोर्डको नवनिर्मित आधुनिक भवनको यहाँ आज उद्घाटन गर्दै उहाँले ‘जहाँ अवसर त्यहाँ चुनौती’ भएजस्तै सहकारीको मर्यादित विकास आजको आवश्यकता रहेको औँल्याउनुभयो ।
प्रधानमन्त्री देउवाले सहकारी क्षेत्रको विकासमा पूर्वप्रधानमन्त्री बिपी कोइरालाको योगदानको चर्चा गर्दै उहाँको प्रधानमन्त्रीत्वकालमा विसं २०१६ मा पहिलो सहकारी ऐन आएको बताउनुभयो ।
रु १६ करोड ६६ लाख ५४ हजारको लागतमा बनेको उक्त भवन सात तले रहेको छ र एक रोपनी क्षेत्रफलमा छ ।
टेलिभिजन तथा रेडियो स्टेशन, तालीम तथा सभाहलसहित अत्याधुनिक सो भवनलाई सहकारीकर्मीले गौरवका रुपमा लिएका छन् । कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपालको संविधानले सहकारी क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।
नेपालको पहिलो सहकारी संस्था चितवनको बहानसिंह सहकारी संस्थाको स्थापना विसं २०१३ चैत २० गते भएको हो । सहकारी विभागका अनुसार विसं २०७३ असार मसान्तसम्म ३३ हजार ५९९ सहकारी दर्ता भएका छन् । उक्त सहकारीमा रु ६० लाख ३० हजार ८५७ सदस्य आबद्ध छन् ।
कार्यक्रममा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी, पूर्वमन्त्री बालकृष्ण खाँण, राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडाल, राष्ट्रिय सहकारी बोर्डका पूर्वअध्यक्ष दीपकप्रकाश बास्कोटालगायतले नेपालमा सहकारीको भूमिका र विकासका बारेमा धारणा राख्नुभएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस