ठ्याक्कै ६ महिनाको अन्तरालपछि आज छोरा घरमा आउँदैछ । छोरा घर आउने दिन गनेर बसेकी आमा बिहानैदेखि आज भान्सामै व्यस्त छिन् । छोरालाई मिठो लाग्ने खानेकुराहरूले भान्सा मगमगाएको छ । कुइरीमण्डल धुवाँले आँखा पीरो भएर आँशु बगिसकेको छ तरपनि छोरा आउने खुसीमा उनले सबैकुरा बिर्सीसकेकी छिन् । खाना पकाउँदा पकाउँदै कम्तीमा पनि १० - २० चोटी त उनले बाहिर निस्किँदै छोरा आउने चौतारीतिर आँखा नियाली सकिन् ।
भान्सामा अनेकथरी परिकार पाकिसकेको छ । खाना खाएर औषधी खानुपर्ने उनलाई आज भने भोक प्यास केही लागेको छैन । छोरालाई भेट्ने खुसीले नै अघाइसकेकी छिन् उनी । २८ वर्षअघि यही छोराको चिच्याहट रूवाई सुन्दा प्रशव पीडाले अत्तालिएकी उनलाई बढो आनन्द दिएको थियो । आफ्नो बुढेसकालको साहारा त्यही छोरालाई ठानेकी उनले आफ्नो सहयात्रीलाई २२ वर्षअघि नै गुमाइसकेकी छिन् । एक्लोपनले अत्याइसकेको उनी रातमा अनिन्द्राले छटपटिन्छिन् अनि दिउँसै विपनामै अनेकौँ सपना देख्दछिन् । रोगले च्यापेर अकालमै श्रीमानको देहान्तपछी आफ्ना वर्षौँदेखीका अनेकौँ इच्छा र चाहानालाई तिलाञ्जली दिएर हरसम्भव छोराका हरेक झिना मसिना सपना साकार पारेकी छिन् उनले ।
आफू भोकोपेट बसेर भएपनि छोरालाई सधैँ टिफिन फेरिफेरि पठाएकी उनलाई विगतका कतिपय तीता भोगाईहरूले अहिले पनि चसक्क बनाउँछ । हुन त थाप्लोमा नाम्लोको डाम, ढाडमा डोकोको छाप, हातमा हँसियाले उठाएका ठेलाहरू र चरचर फुटेका कुर्कुच्चाले उनको साथ अहिले पनि छाडेका छैनन् । तर दिनहुँ हुर्कदैँ गएको छोराले आफ्नो जीवनमा सुनौला रङहरूले भरीपूर्ण खुसीयाली ल्याउला भन्नेमा ढुक्क र मख्ख छिन् उनी ।
बिहान मात्रै रातो माटोले पोतेर चिटिक्क पारिएको पेटीमाथि छोरो आउने बाटो हेर्दै टोलाएर बसेकी उनी बाइकको टिटिटको हरनले झस्किइन् । उनी जसको प्रतिक्षामा थिइन् उही छोरा उनको समीपमा आइपुग्यो । दशैँमा टीका लगाएर बिदाई गरेपछि छोरा भेट्न उनले मातातीर्थ औँसी कुर्नु परेको थियो । ६ महिनापछि छोरा भेट्दा हर्षका आँशुले उनका आँखा भरिए । आँखाको डीलसम्म आइपुगेको आँशुको मोटो ढिक्कालाई बुढी औँलाको सहायताले रोकिन् उनले ।
घरको आँगनमा बाइक रोकेर आमाको मुहारमा राम्ररी हेरी नसक्दै छोराको हात गोजीमा रहेको मोबाइल समाउन पुगीसकेको थियो । महिनौँदेखि मन मस्तिष्कमा अटाई नअटाई थाती राखिएका प्रश्नका चाँङहरू छोरासँग बसेर फुकाउन चाहान्थिन् उनी । मोबाइल चलाउँदै छोरा घरभित्र पसेपछि उनी पनि छोराको पछिपछि लागिन् ।
छोरालाई भनी बिहानैदेखि तयार पारिएका खानेकुरा कुनबेला खुवाउँ र छोराको मुखबाट प्रतिकृया सुनौँ जस्तो भएको थियो उनलाई । भित्र छिर्ने बित्तिक्कै छोराले भन्यो, "आमा ल हाँस्नु त एउटा सेल्फी खिचेर फेसबूकमा हाल्नु पर्यो । अरू सबैले बिहानै हालिसके ।" आफ्ना सारा खुसी छोराकै लागी साँचेकी उनी पनि छोरासँगै फिस्स हाँसिन् । गाग्रीहरू राखिएको गग्रेटोमा मोबाइल अड्याएर आएपछि उसले मोबाइलतिर फर्केर आमाको हातमा एउटा झोला राखिदियो मोबाइलबाट खिचिक्कको आवाज सुनेपछि बल्ल थाहा भयो उनलाई छोराले त टाइमरमा रोखेर झोला दिएको फोटो पो खिचेको रहेछ ।
छोराले फेसबूकमा फोटो पोष्ट गरूञ्जेलमा उनले खानेकुराहरूले थाल सजाईसकेकी थिइन् । खाना खान बोलाउँदासमेत उसको आँखा मोबाइलबाट हटेको थिएन । खाना खाँदै गर्दा पनि उसको ध्यान मोबाइलमै थियो । भोकाएकी आमा भने एकटकले घरी मोबाइल र घरी छोरालाई नियाल्दा नियाल्दै अघाइसकेकी थिइन् । घरी मोबाइल तर घरी छोरालाई हेरीरहेकी उनलाई आफू र छोराको बीचमा अड्चन बनेर आएको मोबाइलदेखि कताकता रिस उठीसकेको थियो ।
आएदेखि नै राम्ररी दोहोरो कुराकानी गर्न नपाएकी उनलाई न्यास्रो मेटिन नपाउँदै छोराले जाने तरखर गर्न थाल्यो । एकरात भएपनि एक्लोपनलाई हटाएर छोरासँगै गफ गर्दै बिताउने उनको सपना सपनामै सिमित रह्यो । सहरमा कामका चाङ थन्क्याएर आएको छोराको अमूल्य समयको ॠणी पो भएँ की जस्तो लाग्यो उनलाई । अनि मन हुँदाहुँदै पनि हिँड्न तम्तयार भएको छोरालाई रोक्न सकिनन् उनले ।
मातातीर्थ औँसीको अवसरमा आमाको मुख हेर्न आएको छोरा एकचोटी राम्ररी आमाको मुख पनी नहेरी एउटा हातले मोबाइल चलाउँदै अर्को हातले बाइक स्टार्ट गर्न थाल्यो । मोबाइलबाट आँखा हटाएर कमसेकम एकचोटी ती आमाको बुढ्यौलीले चाउरिन लागिसकेका गाला र आँशुले रसिला बनेका आँखालाई हेरेको भए उसले देख्ने थियो होला उमेरसँगै ढल्किँदै गएको उनका गुम्सिएका चाहाना र पिल्सिएका सपना । आफ्नो हातबाट मोबाइल हटाई एकचोटी आमाका हातमा उठेका ठेलाहरू नियालेको भए सायद उसलाई याद आउँथ्यो होला उसको भविष्य उज्जवल बनाउन भनी आमाले गरेका दुख र सङ्घर्ष । तर अफसोच मोबाइलबाट हटाएर छोराको ध्यान आफूतिर केन्द्रित गर्न ती आमाले सकिनन् ।
यत्तिकैमा छोराको बाइक स्टार्ट भयो जाने बेलामा छोराले भन्यो, "ल गएँ है आमा कामहरू टन्नै छन् अब दशैँअघि आइन्न होला ।" मौन रहेकी आमाले आँशुले टिलपील भरिएका आँखासहित छोरालाई बिदाईका हात हल्लाइन् । छोरा बाइक हाँकेर दुई कोष पर पुग्दासम्म उनका हात भने एकनासले हल्लिरहे.........
मनमनै उनले सोचिन्, "सायद फेसबूकमा फोटो पोष्ट गर्न नपर्ने भए छोराको यस्तो अमूल्य समय मेरा लागि खर्च हुँदैन थियो होला है । म त उसको किम्ति समयको ॠणी पो भएछु ।"
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस