Like us!
Follow us!
Connect us!
Watch us!

केन्द्र र प्रदेशको निर्वाचन एकैदिन गर्ने तयारी

विहीबार, १२ साउन २०७४, २१ : ३९ मा प्रकाशित

केन्द्र र प्रदेशको निर्वाचन एकैदिन गर्ने तयारी

अर्थ संसार, काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको तयारी थाल्न निर्वाचन आयोगका पदाधिकारीलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्री र आयोगका पदाधिकारीहरु सहभागी बैठकमा प्रधानमन्त्रीले जनताको मत बदर नहुने गरी मतदान प्रक्रियामा सुधार गर्न आयोगलाई आग्रह गर्नुभयो ।

संवैधानिक व्यवस्थानुरुप सरकार आगामी माघ ७ गतेभित्रै प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव गर्न प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्रीले सोअनुसार तयारी तत्काल थाल्न आयोगका पदाधिकारीलाई आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।

तोकिएको समयमा चुनाव गर्न क्षेत्र निर्धारण आयोगले काम थालिसकेको र निर्वाचनसम्बन्धी दुई कानुन पनि केही दिनभित्रै पारित हुने तयारीमा रहेको प्रधानमन्त्रीले बैठकमा जानकारी दिनुभयो । प्रधानमन्त्रीले निर्वाचन खर्च घटाउनका लागि एकैदिन केन्द्र र प्रदेशको चुनाव गर्ने तयारीमा सरकार रहेको पनि आयोगका पदाधिकारीलाई जानकारी गराउनुभयो ।

बैठकमा आयोगका पदाधिकारीले निर्वाचनसम्बन्धी विधेयक छिटो पारित गर्न सरकारको ध्यानाकर्षण गराएको आयोगका कामु सचिव महेश्वर न्यौपानेले जानकारी दिनुभयो ।

यसैगरी प्रदेश विभाजनका क्रममा रुकुम र नवलपरासी जिल्लालाई विभाजन गरिएको अवस्थामा त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने विषयसमेत छिटो टुङ्याउन आग्रह गरिएको न्यौपानेले बताउनुभयो ।

आगामी माघ ७ भित्र केन्द्र र प्रदेशको दुई तहको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने संवैधानिक जटिलताका बीच दुवै निर्वाचनलाई एउटै मितिमा गर्न सकिने वा नसकिने भन्ने विषयमा समेत बैठकमा छलफल भएको थियो ।

बैठकमा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जनार्दन शर्मा र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव, आयुक्त, मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीलगायत सहभागी हुनुहुन्थ्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको