Like us!
Follow us!
Connect us!
Watch us!

राइड क्यान्सिल गरेर यात्रा गरेको पठाओ कोटेश्वरमा दुर्घटना भएपछि...

अर्थ संसार

मंगलबार, ३१ जेठ २०७९, १३ : ५७ मा प्रकाशित

राइड क्यान्सिल गरेर यात्रा गरेको पठाओ कोटेश्वरमा दुर्घटना भएपछि...

पाँचथरको मिक्लाजुङ गाँउपालिका वडा नम्बर ५ घर भई हाल काठमाडौंको काडाँघारी बस्ने सम्झना राईले सोमबार बेलुका आफ्नो मोबाइलमा भएको एपबाट पठाओ सवारी अर्डर गरिन् ।

राइड एसेप्ट भएको केहि मिनेटमै राईले आफैँ मोवाइलमा सवारी अर्डर क्यान्सिल गरिन् तर फेरि तिनै राइडरसँग चढेर अफलाइनमा जडिबुटीतर्फ लागिन् ।

जडिबुटीतर्फ जानेक्रमा कोटेश्वरमा ना ५ ख २८१९ नम्बरको मिनी ट्रकले राई चढेको बा. ७१ प ३०५४ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा उनी गम्भिर घाईते भईन् ।

गम्भिर घाईते भएकी ३४ वर्षीया राईको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा राति सवा १० बजे मृत्यु भयो । ट्रकले मोटरसाइकललाई करिव ९ बजेर ४५ बजे ठक्कर दिएको थियो ।

अफलाइन जाँदा १० लाखको बीमा रकमबाट बन्चित:

मृत्यु भएकी राई पठाओमा अफलाइन यात्रा गर्दा उनको परिवार १० लाख रुपैयाँ बीमा दाबी भुक्तानीबाट बन्चित भएका छन् । यदि राईले पठाओको अर्डरलाई क्यान्सिल नगरी यात्रा गरेको भए उनका परिवारले १० लाख रुपैयाँ बीमाबापतको रकम पाउने थिए ।

पठाओ एपमार्फत सहजीकरण गरि उपलब्ध सेवाहरु प्रयोग गर्ने सेवाग्राही तथा राइडरहरुको एक लाखसम्मको दुर्घटना उपचार बीमा र सवारी दुर्घटनाका कारण मृत्यु वा अपांगता हुन पुगेको खण्डमा दस लाखसम्म वीमा दाबी गर्न सकिने पठाओ नेपालका प्रबक्ता सुरक्षा हमालले अर्थ संसारलाई बताईन । अफलाइन राइड गर्दा बीमालगायतका कुनै पनि सुविधा नहुने उनले जानकारी दिइन् ।

अफलाइन राइड सेवा लिने र दिने दुबै असुरक्षित

पठाओलाई दिने थोरै कमिसन बचाउने लोभमा पछिल्लो समय सडकमा बसेर यात्रुलाई बार्गेनिङ गरि राइड लिने प्रवृत्ति बढ्दो छ । बार्गेनिङ गरि अफलाइन राइड गर्दा हुने सक्ने दुर्घटना र लुटपाट लगायतका घटनाको पठाओ नेपाल कुनै जिम्मेवार नहुने हमाल बताउँछिन् ।

मोबाईल एपमार्फत राइड रिक्वेस्ट नगरी वा रिक्वेस्ट गरेको राइड क्यान्सिल गरि अफलाइन राइड लिँदा सेवाग्राही र राइडर दुवैको ब्यक्तिगत बिवरण र राइड तथा सवारीको बिवरण रेकर्डमा नहुने हुँदा त्यसको जिम्मेवारी पठओसँग नहुँने हमालको भनाइ छ । अनलाइन राइडको समयमा कसैले गलत काम गरि हालेमा ब्यक्तिगत, राइड र सवारीको जानकारी मोबाइल एप तथा पठाओको आइटी सिस्टममा हुने भएकाले सप्रमाण प्रहरीमा उजुरी दिन सकिने ब्यवस्था छ । सोही जानकारीका आधारमा पिडकलाई नियन्त्रणमा लिन प्रहरी प्रशासनलाई समेत सहज हुन्छ ।

अनलाइन राइड सुरक्षित:

अनलाइन राइड गर्दा लिने र दिने दुवै सुनिश्क्षित र सुरक्षित हुने पठाओ नेपालकी प्रवक्ता हमाल बताउँछिन् । ‘हामीले अनलाइबाट राइट बुक गर्ने र अनलाइनमै राइड गर्नुपर्छ’ प्रवक्ता हमाल भन्छिन– ‘अनलाइन राइड लिँदा सेवाग्राही र राइडर दुवैको ब्यक्तिगत बिवरण पठाओको सिस्टममा हुन्छ । यदि राइडको क्रममा दुर्घटना, लुटपाट, चोरी वा भुत्तानी नदिइ भाग्नेलगायतका समस्याबाट दुवै ढुक्का हुनेछन् ।’ ‘पठाओ’ अनलाइन राइड सेयरिङ प्लेटफर्म हो । पठाओको सेवा लिन र दिन मोबाइल एपमार्फत बुकिङ गर्न आवश्यक हुन्छ । यसरी सेवा प्रदान गर्दा यात्रा गरिरहेको सवारीको बिवरण, सेवाग्राही र राइडर दुबैको ब्यक्तिगत जानकारी तथा यात्रा गरिरहेको स्थानको बिवरण पठाओको एपमा उपलब्ध हुन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको