Like us!
Follow us!
Connect us!
Watch us!

भरतपुर–१९ मा आज पुनः मतदान

शुक्रबार, २० साउन २०७४, ०९ : १३ मा प्रकाशित

भरतपुर–१९ मा आज पुनः मतदान

अर्थ संसार, गत जेठ १४ गते राति मतगणनाका क्रममा मतपत्र च्यातिएपछि विवादित बनेर रोकिएको भरतपुर–१९ मा सर्वोच्च अदालतको फैसलासँगै आज  पुनःमतदान हुँदै छ ।

वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनका क्रममा प्रदेश नम्बर ३ मा रहेको चितवन जिल्ला भरतपुर महनगरपालिका वडा नं १९ मा मतगणनाका क्रममा मतपत्र च्यातिएपछि अवरुद्ध  निर्वाचन प्रक्रिया शुक्रवार कडा सुरक्षाका बीच पुनःमतदान हुँदै छ ।

तीनओटा मतदानस्थल र छओटा मतदान केन्द्र रहेको उक्त वडामा ३ हजार ७ सय ९७ मतदाता रहेका छन् । तीन मतदानस्थलमध्ये किरण मावि, किरणगञ्ज मतदानस्थलमा एक हजार २ सय ४८, जीवनज्योति स्कुल गुञ्जानगरमा १ हजार ३ सय ६ र शारदानगर माविमा १ हजार २ सय ४३ मतदाताले शुक्रवार मतदान गर्न पाउनेछन् ।

पुनःमतदानका लागि मतदान अधिकृतसहित ३६ जना कर्मचारी खटिएको भरतपुरका सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताएका छन् । उनले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताए ।

पुनःमतदानका लागि सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । बुधवारदेखि नै  मौनअवधि शुरू गरिएको यस वडामा मतदानस्थलको सय मिटरवरपर निषेधित क्षेत्र घोषणा गरेर सुरक्षाकर्मी परिचालन गरिएको चितवन जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकालले बताए ।

एउटा वडाको निर्वाचनका लागि नेपाल प्रहरीका ४ सय ६१ र सशस्त्र प्रहरीका २ सय ९५ जना परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले बताएका छन् । यसबाहेक सुरक्षाको बाहिरी घेरामा नेपाली सेना र भित्री घेरामा राष्ट्रिय अनुसन्धानका कर्मचारी पनि परिचालन भएका छन् ।

यहाँको निर्वाचन तयारी र सुरक्षा अवस्थाका बारेमा बुधवार निर्वाचन आयोगमा छलफल भएको र सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताएका छन् ।

भरतपुर–१९ को विषयमा सर्वोच्च अदालतमा परेको मुद्दाको फैसला गर्दै शनिवार सर्वोच्चले निर्वाचन आयोगको पुनःमतदान गर्ने निर्णय सदर गरेपछि शुक्रवार निर्वाचन हुन लागेको हो । भरतपुर महानगरमा वडा नं २० को पनि मतगणना गर्न बाँकी रहँदा प्रमुख पदका उम्मेदवार नेकपा एमालेका देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालभन्दा अगाडि रहेका छन् ।

नेपाली काङ्ग्रेससँग गठबन्धन गरेर उठेकी दाहाल र ज्ञवालीवीच प्रतिष्ठाको विषय पनि भएकाले यहाँको निर्वाचनलाई सर्वत्र चासोका साथ हेरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको