Like us!
Follow us!
Connect us!
Watch us!

शर्माको सुनुवाइ हेर्दाहेर्दैमा बुधबार सुनुवाइ हुने

आइतबार, २२ साउन २०७४, २१ : ४५ मा प्रकाशित

शर्माको सुनुवाइ हेर्दाहेर्दैमा बुधबार सुनुवाइ हुने

अर्थ संसार, काठमाडौँ – सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई गैरकानुनीरुपमा थुनामा राखेको भनी दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा बुधबारका लागि तोकेको छ ।

न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलासमा आज सुनुवाइ हुँदाहुँदै नभ्याएपछि बुधबार (२५ गते) का लागि राखिएको हो ।

सो निवेदनमाथि आयोगका तर्फबाट अधिवक्ताहरु परशुराम कोइराला र चेतनाथ घिमिरे, निवेदकका तर्फबाट अधिवक्ता ललित बस्नेतले बहस गर्नुभएको थियो ।
गत बुधबार सरकारका तर्फबाट महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट अधिवक्ता बोर्णबहादुर कार्की, नरेन्द्रप्रसाद पाठक र यज्ञमूर्ति बन्जाडेले बहस गर्नुभएको थियो ।

शर्मालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि अहिले थुनामा राखिएको छ । मंगलबारदेखि अदालतले शर्मालाई न्यायिक हिरासतमा राख्न आदेश दिएको छ ।

गत असार ४ गते न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा र प्रकाश राउतको संयुक्त इजलासले शर्माको विशेष अदालतको मुद्दालाई यथास्थितिमा राखी सो मुद्दा पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो ।

शर्माकी श्रीमती कल्पना उप्रेतीले विशेष अदालतलाई विपक्षी बनाई शर्मालाई गैरकानुनीरूपमा थुनामा राखेको जनाउँदै गत असार २७ गते बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गर्नुभएको थियो ।

कर फछ्र्यौट आयोगका सदस्यसचिवसमेत रहनुभएका शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाई एनसेललाई उन्मुक्ति दिएको रु २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेकोलगायत आरोप लगाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको