Like us!
Follow us!
Connect us!
Watch us!

एमसीसीका परियोजनामा यस वर्ष साढे ८ अर्ब खर्च

पत्रपत्रिका

मंगलबार, ३१ साउन २०७९, ०८ : ३३ मा प्रकाशित

एमसीसीका परियोजनामा यस वर्ष साढे ८ अर्ब खर्च

बहुचर्चित अमेरिकी अनुदान सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत विद्युत् र सडकका संरचनामा चालू आर्थिक वर्ष (आव) २०७९/८० मा साढे ८ अर्ब रुपैयाँभन्दा बढी खर्च गरिने भएको छ ।

एमसीए नेपालका अनुसार सडक मर्मत आयोजनामा ७ अर्ब ५७ करोड र विद्युत् प्रसारण लाइन आयोजनामा १ अर्ब ७ करोड रुपैयाँ खर्च हुनेछ । चालू आवका लागि एमसीसीअन्तर्गतका परियोजनालाई छुट्ट्याइएको बजेट ९ अर्ब २७ करोड रुपैयाँ हो । त्यसमध्ये ८ अर्ब ९१ करोड ४१ लाख रुपैयाँ अमेरिकी अनुदानको हुनेछ । नेपाल सरकारको स्रोतबाट ३६ करोड ५६ लाख रुपैयाँ बेहोरिने अर्थ मन्त्रालयको भनाइ छ । यो आयोजनाको अधिकांश रकम पूँजीगत प्रयोजनमा खर्च हुन्छ ।

एमसीसीको लक्ष्य करीब ३१५ किलोमीटर लामो ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन र तीनओटा ४०० केभी क्षमताका सबस्टेशन निर्माण गर्ने र ७७ किलोमीटर सडकलाई नयाँ प्रविधिबाट मर्मत र विस्तार गर्ने हो । उक्त लक्ष्य प्राप्तिका लागि यसै वर्षबाट आयोजना कार्यान्वयन हुँदै छ ।

एमसीए नेपालका अनुसार यसले हाल नेपालमा अभाव भइरहेको हाई भोल्टेज ग्रीडको निर्माण गर्नेछ । उक्त प्रसारण लाइन तीन प्रदेश – बागमती, गण्डकी र लुम्बिनीका काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, तनहुँ, पाल्पा, नवलपुर र परासी गरी १० जिल्लाका १८ ओटा गाउँपालिका, ११ ओटा नगरपालिका र एउटा उपमहानगरपालिका भएर जानेछ ।

विद्युत् प्रसारण लाइन आयोजनाको सबस्टेशनतर्फ तीनओटा नयाँ ४०० केभीका इन्डोर ग्यास कुचालक सबस्टेशन बनाइँदै छ । रातमाटे सबस्टेशन नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा, नयाँ दमौली सबस्टेशन तनहुँ जिल्लाको दमौलीमा र नयाँ बुटवल सबस्टेशन परासी जिल्लाको भूमहीमा निर्माण गरिनेछ । यी तीनओटा सबस्टेशनका अतिरिक्त एमसीसीअन्तर्गतको प्रसारण लाइन लप्सीफेदी र नेपाल विद्युत् प्राधिकरणको नयाँ हेटौंडा सबस्टेशनमा पनि जोडिनेछ ।

आर्थिक अभियान दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको