Like us!
Follow us!
Connect us!
Watch us!

एमसिसी नेपाल कम्प्याक्ट पुनः सक्रिय, दुई प्रसारण लाइन निर्माणका ठूला सम्झौतामा हस्ताक्षर

अर्थ संसार

शुक्रबार, ३० साउन २०८२, ०८ : २२ मा प्रकाशित

एमसिसी नेपाल कम्प्याक्ट पुनः सक्रिय, दुई प्रसारण लाइन निर्माणका ठूला सम्झौतामा हस्ताक्षर

संयुक्त राज्य अमेरिका सरकारबाट वैदेशिक सहायता समीक्षा सफलतापूर्वक सम्पन्न भएपछि मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) अन्तर्गतको नेपाल कम्प्याक्ट पुनः सक्रिय भएको छ। यससँगै मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल (एमसिए–नेपाल)ले बिहीबार दुई प्रमुख विद्युत् प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर गर्दै आयोजना कार्यान्वयनको नयाँ चरण सुरु गरेको छ।

एमसिए–नेपालले प्रतिस्पर्धात्मक अन्तरराष्ट्रिय बोलपत्र प्रक्रियाबाट रातमाटे–नयाँ दमौली प्रसारण लाइन निर्माणका लागि एञ्जेलिक–स्किपर संयुक्त उपक्रम र नयाँ दमौली–नयाँ बुटवल प्रसारण लाइन निर्माणका लागि वाइबा–सलासर संयुक्त उपक्रम चयन गरेको हो। दुवै सम्झौतामा १५ दशमलव ४५ करोड अमेरिकी डलर बराबरको संयुक्त लागत रहनेछ।

यी परियोजनाअन्तर्गत करिब १८० किलोमिटर लामो ४०० केभी प्रसारण लाइनहरूको डिजाइन, स्थापना, परीक्षण र सञ्चालनसम्मका सम्पूर्ण काम हुनेछन्। सम्झौता हस्ताक्षर कार्यक्रममा अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, एमसिसीका कार्यवाहक उपाध्यक्ष, नेपालस्थित अमेरिकी दूतावासका अधिकारीलगायतका सरोकारवालाको उपस्थिति थियो।

एमसिसीका कार्यवाहक उपाध्यक्ष जोन विङ्गलले सम्झौतालाई नेपाल र अमेरिकाबीचको पारस्परिक प्राथमिकता तथा विकास लक्ष्यमा संयुक्त प्रतिबद्धताको प्रमाण भनेका छन्। उनले नेपालको विद्युत् आपूर्ति र विश्वसनीयता सुधारसँगै क्षेत्रीय ऊर्जा व्यापार र अन्तरआबद्धता विस्तारमा एमसिसीको सहकार्य रहने उल्लेख गरे।

अर्थ मन्त्रालयका सचिव तथा एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष घनश्याम उपाध्यायले प्रसारण लाइन र सबस्टेशन निर्माणमा अमेरिकी सहयोगको प्रशंसा गर्दै सरकारी तर्फबाट परियोजनामा निरन्तर समर्थन रहने बताए।

नेपालस्थित अमेरिकी दूतावासका नियोग उपप्रमुख जेसन मिक्सले यो सम्झौता नेपालको विकास र समृद्धिप्रति अमेरिकाको स्थायी प्रतिबद्धताको प्रतीक भएको बताए। उनका अनुसार, एमसिसी कम्प्याक्ट केवल प्रसारण लाइन र पूर्वाधार निर्माण मात्र नभई नेपालका नागरिकका दीर्घकालीन हितका लागि आर्थिक वृद्धि तीव्र पार्ने सहकार्य हो।

एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले अमेरिकी सहयोग र पछिल्लो अनुमतिले परियोजना अघि बढाउन सहज भएको बताए। उनका अनुसार, यो राष्ट्रिय गौरव आयोजनामा नेपाल सरकार र सबै सरोकारवालाको साझा प्रतिबद्धता स्पष्ट देखिन्छ।

एमसिसी नेपाल कम्प्याक्ट नेपालको दीर्घकालीन आर्थिक विकासलाई गति दिनका लागि गरिएको ६९ करोड ७० लाख अमेरिकी डलर बराबरको ऐतिहासिक लगानी हो। यसअन्तर्गत विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजनामार्फत पूर्वाधार सुदृढीकरण, सीमापार ऊर्जा व्यापार विस्तार र यातायात सञ्जाल सुधार गरी आर्थिक वृद्धिमा टेवा पुर्याउने लक्ष्य राखिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको