Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार दिनभरको समाचार एकै ठाउँ (भिडियो)

अर्थ संसार

सोमबार, २६ मंसिर २०७९, २२ : ३५ मा प्रकाशित

१. नबिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेकाे छ । बैंकले सेयरधनीहरुलाई चुक्ता पुँजीको १८.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ११.५ प्रतिशत नगद लाभांश गरि कुल ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका हो। 

२. पुष १ गतेदेखि लागू हुनेगरी निक्षेपको ब्याजदर राम्रै घट्ने देखिएकाे बैंकर परशुराम कुँवर क्षेत्री बताउँछन् । बैंकहरुको थप कर्जा दिन सक्ने सुविधाजनक अवस्था, उच्च ब्याजदर आदिका कारणले कर्जाको मागमा कमी, बैंकहरुले राष्ट्र बैंकबाट लिने रिपो र SLF मा उल्लेख्य गिरावट, अन्तरबैंक ब्याजदरमा उल्लेख्य गिरावट आदिका  कारणले पौष १ गतेबाट लागू हुने गरी निक्षेपको ब्याजदर राम्रै घट्ने देखिएकाे उनकाे तर्क छ ।

३. सनराइज बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएकाे छ । बैंककाे आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ काे वित्तीय विवरण पारित गरेकाे छ । साेही बैठकले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई कुनै पनि प्रकारकाे लाभांश वितरण नगर्ने निर्णय गरेकाे हाे ।

४. ब्याजदर घट्ने हल्लाले सेयर बजारमा वृद्धि देखिएकाे छ । साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक १६.९६ अंकले बढेर १९०२.२७ विन्दुमा पुगेकाे छ । नेप्से ०.९० प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ५.५७ अंकले बढेर ३७२.९३ विन्दुमा पुगेकाे छ । कूल २४५ वटा कम्पनीकाे ४४ लाख ७० हजार ६ सय २५ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३६ करोड ६० लाख १० हजार ४ सय ६४ रूपैयाँ बराबरको कारोबार भएकाे छ ।

५. अपर हेवाखोला हाइड्रोले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीकाे एघाराैँ वार्षिक साधारण सभा पुस २१ गते अनामनगरस्थित युनियन हाउसमा बिहान ११ बजेदेखि सुरू हुनेछ  । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ४ गतेदेखि पुस २१ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस ३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश भने प्रस्ताव गरेको छैन ।  

६. नेपाल राष्ट्र बैंकले साेमबार १३ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बाेलकबाेल गरेको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत भाेलि मंगलबार उक्त ट्रेजरी बिक्री गर्न लागेको हो । 

७. नेपाली कच्चा पदार्थको प्रयोग गरेर नेपालमै टायल उत्पादन सुरु भएकाे छ । यसका लागि बाराको जितपुर सिमरा उपमहानगरपालिका–८ मा उद्योग स्थापना गरिएको छ । लामो समयदेखि विदेशी टायल र हाडवेयर सामग्री नेपाल ल्याएर देशभर बिक्री गर्दै आएका दुई व्यवसायीले संयुक्तरुपमा उद्योग सञ्चालनमा ल्याएका हुन्  । 

८. नेपाल राष्ट्र बैंकले २ अर्ब रूपैयाँ बराबरकाे विकास ऋणपत्र बिक्री गर्ने भएकाे छ । बैंकले ३ वर्ष अवधिकाे "विकास ऋणपत्र २०८२ (छ)" नामकाे ऋणपत्र बिक्री गर्न लागेकाे हाे । उक्त ऋणपत्रकाे व्याजदर बाेलकबाेलकाे माध्यमबाट निर्धारण हुनेछ ।

९. सनिगाड हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने भएकाे छ । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ६७ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेकाे हाे । कम्पनीले आईपीओ निष्कासन गर्न सनराइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

१०. सोमबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ सय रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ९० रुपैयाँ कायम भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको