Like us!
Follow us!
Connect us!
Watch us!

दिनभरका यी आर्थिक घटना तपाईले छुटाउनु त भएन नि ? (भिडियो)

अर्थ संसार

सोमबार, ०४ पुस २०७९, २१ : १२ मा प्रकाशित

आज (पाैष ४ गते, साेमबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ ।

१. फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ  । संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ५ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

२. नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) काे उर्जा ऋणपत्र भर्ने म्याद लम्बिएकाे छ । यसअघि आज पुस ४ गतेसम्म आवेदन दिन पाइने भनिएकाेमा अब म्याद थपेर पुस १४ गतेसम्म लम्ब्याइएकाे छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र निष्कासन गरेकाे हाे । जसमध्ये, सर्वसाधारणका लागि १९ लाख कित्ता छुट्याइएकाे छ । बैंकले ७ वर्ष अवधि भएको वार्षिक ७ प्रतिशत व्याज भएको 'निफ्रा उर्जा ऋणपत्र, २०८५/८६' नाममा ऋणपत्र निष्कासन गरेको हो । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

३.  नेपाल एसबिआई बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको २९ औँ वार्षिक साधारण सभा पुस २५ गते साेमबार त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले सञ्चालकहरुको बैठक भत्ता वृद्धिको प्रस्ताव सेमत पारित गर्नेछ । बैंकले साधारण सभा तथा लाभांश प्रयोजनार्थ पुस १३ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

४. शिवम् सिमेन्ट्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे साताैँ वार्षिक साधारण सभा पाैष २९ गते, शुक्रबार सामना हाेटल, हेटाैँडा उपमहानगरपालिका, बैंकराेड, मकवानपुरमा बिहान १० बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस २० गते १ दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पुस १९ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

५. एक सातापछि सेयर बजार हरियाे भएर बन्द भएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक ३.८३ अंकले बढेर १८५८.८९ विन्दुमा पुगेकाे छ । नेप्से ०.२१ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १.१५ अंकले बढेर ३६३.९७ विन्दुमा पुगेकाे छ ।  कूल २५१ वटा कम्पनीकाे २६ लाख ९९ हजार ३ सय ३१ कित्ता सेयर खरिदबिक्री हुँदा ८८ करोड ६० लाख ९८ हजार रूपैयाँ बराबरको कारोबार भएकाे छ ।  कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ९ वटा उपसमूहबाहेक सेयर बढेकाे छ । बाँकी ४ वटा उपसमूहकाे सेयर भने घटेकाे छ ।

६.  हिमालयन पावर पार्टनर कम्पनी लिमिटेडले आफ्नो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समिती बैठकको निर्णय अनुसार वार्षिक साधारण सभा पुस २९ गते आम्रपाली व्यांक्वेट, भाटभटेनी काठमांडौमा बिहान ९ बजेदेखि सुरु हुनेछ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १३ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार अनुसार पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश भने घोषणा गरेको छैन । 

७. नेपाल राष्ट्र बैंकले ५ अर्ब रूपैयाँ बराबरकाे विकास ऋणपत्र बिक्री गर्ने भएकाे छ । बैंकले ४ वर्ष अवधिकाे "विकास ऋणपत्र २०८३ (ज)" नामकाे ऋणपत्र बिक्री गर्न लागेकाे हाे । उक्त ऋणपत्रकाे व्याजदर बाेलकबाेलकाे माध्यमबाट निर्धारण हुनेछ ।

८. बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाउन सुरू गरेकाे छ । बैंककाे वार्षिक साधारण सभाबाट पारित भएकाे करसहित १४.९५ प्रतिशत नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुकाे सम्बन्धित बैंक खातामा लाभांश जम्मा गरिएकाे बैंकले जनाएकाे छ । बैंकले नगद लाभांश खातामा नआएका सेयरधनीहरूलाई डिम्याट खाता र बैंक खाता अध्यावधिक गर्न आग्रह गरेको छ ।

९. नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ । बाेर्डले बाेर्डकाे अक्षय काेषमा रहेकाे लगानीयाेग्य रकम वाणिज्य बैंकहरुकाे मुद्दति खातामा लगानी गर्ने भएकाे हाे । इच्छुक वाणिज्य बैंकले आफूले दिन सक्ने एकवर्षे ब्याज दर र आवश्यक कागजातसहित सिलबन्दी प्रस्ताव पेस गर्न सक्छनेछन् ।

१०. सोमबार सुन र चाँदी दुवैकाे मूल्य स्थिर रहेकाे छ । आज पनि सुन प्रतिताेला १ लाख ५ सय रूपैयाँ र चाँदी प्रतिताेला १३ सय ८० रुपैयाँमा नै काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको