Like us!
Follow us!
Connect us!
Watch us!

अर्थसंसार बुलेटिन: यस्ता छ दिनभरका आर्थिक समाचार

अर्थ संसार

विहीबार, ०७ पुस २०७९, २२ : ०० मा प्रकाशित

१. नेरुडे लघुवित्त वित्तिय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई २२ प्रतिशत बोनस सेयर र १.१५ प्रतिशत नगद गरी कुल २३.१५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

२. मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ  । संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २३ प्रतिशत बोनस सेयर वितरण गर्ने घाेषणा गरेकाे हाे ।

३. साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) नेप्से परिसूचक स्थिर हुँदा काराेबार रकम भने अघिल्लाे दिनकाे तुलनामा बढेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ०.०१ अंकले घटेर १८६७.२१ विन्दुमा छ । यता, सेन्सेटिभ परिसूचक भने १.७२ अंकले बढेर ३६७.०६ विन्दुमा पुगेकाे छ । कूल २४७ वटा कम्पनीकाे ३१ लाख ११ हजार ८ सय ३३ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ११ करोड ९७ लाख ९७ हजार ९ सय २१ रूपैयाँ ३१ पैसा बराबरको कारोबार भएकाे छ ।

४.  मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले पनि लाभांश वितरण नगर्ने भएकाे छ । कम्पनीकाे हिजाे पाैष ६ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई कुनै पनि प्रकारकाे लाभांश वितरण नगर्ने निर्णय गरेकाे हाे ।

५. नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कालिका पावर र मल्टीपर्पस फाइनान्सकाे काराेबार राेक्का गरेकाे छ । दुवै कम्पनीले मूल्यसँग सम्बन्धित संवेदनशिल सूचना तथा जानकारी सर्वसाधारणलाई सूचना काराेबार समयमा दिएकाे भन्दै नेप्सेले यी २ कम्पनीकाे काराेबार राेक्का गरेकाे हाे । नेप्सेले दुवै कम्पनीलाइ ३ कार्यदिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएकाे छ । कालिका पावरले १५% बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९% नगद लाभांश गरी जम्मा १५.७८९% लाभांश दिने प्रस्ताव गरेकाे छ ।

६. एनआईबिएल एस क्यापिटल लिमिटेडले आज पुस ७ गतेदेखि 'एनआईबिएल ग्रोथ फण्ड' नामक नयाँ म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरेको छ । याे हालसम्मकै ठूलो म्युचुअल फण्ड हो । क्यापिटलले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १६ करोड इकाईहरु निष्कासन गरेकाे हो । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम एक कराेड ६० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । याे फण्डमा लगानीकर्ताले छिटोमा पुस १२ गतेसम्म र ढिलोमा पुस २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

७. पुस लागेसँगै सूचीकृत कम्पनीहरूलाई साधारण सभा सम्पन्न गर्ने चटाराे परेकाे छ । आज एकैदिन दर्जन भन्दा बढी सूचिकृत कम्पनीहरूले वार्षिक साधारण सभा आह्वान गरेका छन् । एनआईसी एशिया बैंक, सिभिल बैंक, हिमालयन बैंक, प्राइम बैंंक, लक्ष्मी बैंक, आईसीएफसी फाइनान्स, कालिका पावर, दिव्यश्वरी हाइड्राे, माउन्टेन हाइड्राे लगायतले साधारण सभा डाकेका हुन् । हरेक वर्षझैँ याे वर्ष पनि अधिकांश सूचीकृत कम्पनीकाे साधारण सभा पाैष २९ गते हुँदैछ ।

८.  नेपाल टेलिकमले गत वर्षको नाफाबाट लगानीकर्तालाई ४०% नगद लाभांश दिने भएको छ । उक्त लाभांश पारित गर्न यसले पुस २८ गते साधारण सभा डाकेको छ । सभा राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

९. सरकारले क्रिसमस डेकाे अवसरमा आगामी आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पाैष १० गते, आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेसँगै अब आइतबार सेयर बजार पनि बन्द हुनेछ ।
 
१०. बिहीबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर प्रतिताेला १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ । चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १४ सय ५ रुपैयाँ कायम भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको