अर्थ संसार, काठमाडौँ – नेपाल विद्युत प्राधिकरणको प्रदेश स्तरीय क्षेत्रीय कार्यालय सुर्खेतमा स्थापना भएको छ । प्रदेश नम्बर ६ को क्षेत्रीय कार्यालय आइतवार वीरेन्द्रनगरमा उद्घाटन गरिएको हो ।
ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले एक समारोहमा कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालय स्थापनासँगै अब यो प्रदेशमा विद्युत वितरण सम्वन्धी सबै काम सुर्खेतबाटै हुने भएको हो ।
यसअघि नेपालगंजमा रहेको क्षेत्रीय कार्यालयबाट यस सम्बन्धी काम हुँदै आएको थियो । सुर्खेतमा प्रदेश कार्यालय स्थापना भएसँगै अब यस क्षेत्रका ग्रामीण क्षेत्रसम्म विद्युत विस्तार गर्न सहज हुने अपेक्षा गरिएको छ ।
कार्यालय उद्घाटन गर्दै मन्त्री शाहीले जनताको आँगनमा सिंहदरबारको अनुभूति गराउने अभियान अन्तर्गत प्रदेश कार्यालय स्थापना भएको बताए । साथै उनले अब यो प्रदेशमा विद्युत विस्तार र उत्पादनको गति बढ्ने आश्वासन दिए । त्यसका लागि मन्त्रालयले कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ ।
नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण शाखाका प्रमुख दिपकजंग चौधरीले प्रदेश कार्यालय स्थापना भएसँगै अब प्रशारण लाइनको क्षमता पनि विस्तार हुने जानकारी दिए ।
यो प्रदेशको माग पूरा गर्नका लागि अब कोहलपुरदेखि सुर्खेतसम्म रहेको प्रशारण लाइनेको क्षमता विस्तार गरेर चार सय केभी पुर्याइने बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस