Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार दिनभरकाे आर्थिक समिक्षा एकै ठाउँमा (भिडियाे)

अर्थ संसार

विहीबार, १४ पुस २०७९, २१ : ०९ मा प्रकाशित

१. लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद  लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

२. मेरो माइक्रोफाइनान्स लघुवित्तले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाकाे १०औँ साधारण सभा माघ ६ गते हुनेछ । सभामा संस्थाका सेयरधनीहरूलाइ १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस २२ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

३. नेपाल राष्ट्र बैंकले ग्राहकबाट नियमविपरित लिएको प्रिमियम र ब्याज रकम फिर्ता गर्न निर्देशन दिएपछि बैंकहरूले साढे ४ अर्ब रुपैयाँ बढी प्रिमियम फिर्ता गर्ने प्रतिवद्धता जनाएका छन् । कृषि विकास बैंक बाहेकका २५ वाणिज्य बैंकले ग्राहकबाट नियम विपरित असुल गरेको रकम ४ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । यो सूचीको पहिलो स्थानमा एनआईसी एशिया, दोस्रो स्थानमा रहेको नबिल बैंकले ४७ करोड र तेस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेकाे छ । यता सबैभन्दा कम स्ट्याण्डर्ड चार्टड बैंकको ४० लाख रुपैयाँ मात्रै रकम फिर्ता गर्नुपर्ने देखिएको छ ।

४. प्रभु बैंक लिमिटेडको २१ औँ साधारण सभा आज बैंकको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा सम्पन्न भएकाे छ । सभाले बैंकको सञ्चालक समितीले प्रस्ताव गरेको ६.५० प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ । यसका साथै, सभाले प्रभु  बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई १ः१ सेयर स्वाप रेसियोमा प्राप्ति गर्ने प्रस्ताव पनि पारित गरेकाे छ ।

५. नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुमारी बैंक लिमिटेडकाे काराेबार राेक्का हुने भएकाे छ । एनसीसी बैंक र कुमारी बैंक एक आपसमा मर्ज भएपछि पौष १७ गतेबाट कुमारी बैंकको नाममा एकिकृत कारोबार हुँदैछ । याेसँगै कुमारी बैंकको सेयर कारोबार पुस १७ गतेदेखि १५ दिनका लागि रोक्का हुने भएको हाे ।

६. प्रभु बैंकमा विलय हुन लागेकाे सेञ्चुरी कमर्सियल बैंक लिमिटेडकाे वार्षिक साधारण सभा आज (बिहीबार) आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा सम्पन्न भएकाे छ । सभामा सेयरधनीहरुलाई चुक्ता पूँजीको ४.७५ प्रतिशत बाेनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएकाे छ । सभामा बैंकलाई प्रभु बैंकले १ः१ सेयर स्वाप रेसियोमा प्राप्ति गर्नका लागि अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गरिएकाे छ । 

७.  एभरेष्ट बैंकले पुस २५ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरमा २० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले १० वर्ष अवधिको उर्जा ऋणपत्र  जारी गर्न लागेको हो । यस ऋणपत्रकाे वार्षिक व्याजदर ७.५% रहेको छ । लगानीकर्ताले छिटाेमा पुस२८ गतेदेखी ढिलाेमा माघ १० गतेसम्म न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्तासम्म आवेदन दिन सक्नेछन् ।

८. अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ फेरि ओरालो लागेकाे छ । बिहीबार कच्चा तेलको मूल्यमा भारी गिरावट आएको हो  । आज ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ८२.७२ डलरमा झरेको छ । अर्कोतर्फ डब्ल्यूटीआई कच्चा तेलको मूल्य पनि प्रतिब्यारेल ७८.५१ डलरमा झरेको छ ।

९. गृहमन्त्री रवि लामिछानेले बिना अनुमति प्रहरीलाई नेता र राजदुत भेट्न प्रतिबन्ध लगाएका छन् । गृह मन्त्रालयको निर्देशन अनुसार अब विभागीय स्वीकृति लिएर मात्र सुरक्षा निकायका पदाधिकारीले कुटनीतिक नियोग र राजनीतिक दलका नेतृत्वसँग भेटघाट गर्न पाउनेछन् ।

१०. बिहीबार सुनको भाउ ताेलामा २ सय रुपैयाँले घटेर प्रतिताेला १ लाख ९ सय रुपैयाँ कायम भएको छ । चाँदीको भाउ पनि ताेलामा २० रुपैयाँले घटेर प्रतिताेला १३ सय ८० रुपैयाँ कायम भएको छ ।  

११. सेयर बजार २००० विन्दु नाघेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से परिसूचक ५६.८८ अंकले बढेर २०२९.०३ विन्दुमा पुगेकाे छ । नेप्से २.८८ प्रतिशतले बढेकाे हाे । यस्तै, सेन्सेटिभ परिसूचक पनि ९.९८ अंकले बढेर ३९१.३१ विन्दुमा पुगेकाे छ । कूल २५७ वटा कम्पनीकाे ८० लाख २४ हजार ५ सय ५९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ८६ करोड ३ लाख ४५ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको