Like us!
Follow us!
Connect us!
Watch us!

भूकम्प अनुदान रकम चोरी गर्ने दुईजना पक्राउ

बुधबार, १४ भदौ २०७४, १३ : ३९ मा प्रकाशित

भूकम्प अनुदान रकम चोरी गर्ने दुईजना पक्राउ

अर्थ संसार, गोरखा- गोरखाको धार्चे गाउँपालिका–६ काशीगाउँका सूर्य घलेको साथबाट रु एक लाख ३१ हजार चोरी गरेको आरोपमा प्रहरीले काशीगाउँका दुईजना युवालाई पक्राउ गरेको छ । पक्राउ भएका युवालाई आज जिल्ला प्रहरी कार्यालय गोरखा ल्याउने तयारी छ ।

घलेको साथमा रहेको निजी आवास पुनःनिर्माण अनुदान रकम चोरीमा संलग्न काशीगाउँका २१ वर्षीय यसा गुरुङ र २० वर्षीय कुमार गुरुङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक हेमबहादुर केसीले जानकारी दिनुभयो । चोरीमा संलग्न अर्का एकजना फरार छन् । उनको खोजी भइरहेको छ ।

चोरी गरेको रु एक लाख ३१ हजार बिम्बो घलेको घरबाट प्रहरीले मंगलबार बरामद गरेको छ । फरार रहेका बिम्बो घलेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी मान्वुका असई रेखबहादुर थापा नेतृत्वमा सातजना प्रहरी टोली चोरीमा संलग्नको खोजीमा लागिपरेका छन् । सोमबार राति १२ बजे भेडीगोठमा सुतिरहेका सूर्य घलेलाई कुटपिट गरी उनको साथबाट रकम लुटपाट भएको थियो । घलेको मुखमा गम्भीर चोट लागेकाले उनलाई हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि राजधानी लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको