फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणका खेलमा जर्मनीले विजयी शुरुआत गरेको छ भने जापान र नेदरल्याण्ड्सले अंक बाँडेका छन् । डलासमा सम्पन्न समूह ‘एफ’ को खेलमा जापानले नेदरल्याण्ड्ससँग २–२ को बराबरी खेल्यो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेदरल्याण्ड्सका कप्तान भर्जिल भान डाइकले ५१ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । तर ५७ औँ मिनेटमा केइतो नाकामुराले बराबरी गोल फर्काए । त्यसपछि ६४औँ मिनेटमा क्रिसेन्सियो समरभिलले गोल गर्दै नेदरल्याण्ड्सलाई पुनः अग्रता दिलाए । खेलको अन्त्यतिर जापानले निरन्तर दबाब सिर्जना गर्दै ८८ औँ मिनेटमा डाइची कामाडामार्फत बराबरी गोल निकाल्यो । बराबरीसँगै दुवै टोलीले पहिलो खेलबाट समान एक–एक अंक बटुलेका छन् ।
यसैगरी, ह्युस्टनमा सम्पन्न समूह ‘ई’ को खेलमा चार पटकको विश्वकप विजेता जर्मनीले विश्वकपमा पहिलो पटक सहभागी भएको कुरासाओलाई ७–१ गोल अन्तरले पराजित गर्यो । खेलको छैटौँ मिनेटमै फेलिक्स निमेचाले जर्मनीलाई अग्रता दिलाएका थिए । तर २१औँ मिनेटमा लिभानो कोमेनेन्सियाले विश्वकपमा कुराकाओको इतिहासकै पहिलो गोल गर्दै खेल बराबरीमा ल्याए ।
त्यसपछि जर्मनीले खेलमा पूर्ण नियन्त्रण कायम गर्दै लगातार गोल गर्यो । निको स्लोटरबेक, काइ हाभट्र्ज, जमाल मुसियाला, नाथानियल ब्राउन र डेनिज उन्डाभले गोल गरे । हाभट्र्जले दुई गोल गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए । जोशुआ किमिखले दुई गोलका अवसर सिर्जना गर्दै उत्कृष्ट प्रदर्शन गरे । यो जितसँगै जर्मनीले समूह ‘ई’ मा बलियो सुरुआत गरेको छ भने कुराकाओले पहिलो खेलमै ठूलो हार व्यहोरेको छ ।
यसैबीच फिलाडेल्फियामा समूह ‘ई’ अन्तर्गत आइभरी कोस्ट र इक्वेडरबीचको खेल चलिरहेको छ । दुवै टोली विजयी शुरुआत गर्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन् ।
विश्वकप अन्तर्गत आज हुने अर्को खेलमा समूह ‘एफ’ का स्वीडेन र ट्युनिसिया खेल्दैछन् । मेक्सिकोको मोन्टेरेमा हुने यो खेल नेपाली समयअनुसार बिहान पौने ८ बजे शुरु हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस