Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको ४०% को हकप्रद, भोलिबाट कारोबार फुकुवा हुने तपाईका लगानीका कम्पनी त परेनन ?

अर्थ संसार

मंगलबार, ०३ माघ २०७९, २२ : ०५ मा प्रकाशित

आज (माघ ३ गते, मंगलबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ । 

१. अपि पावर कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीकाे माघ २ गते सोमबार बसेको सञ्चालक समितिकाे बैठकले कम्पनीले सञ्चालन गरी विद्युत उत्पादन गरिरहेको आयोजनाहरुको ऋणमोचन गर्नका लागि हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।कम्पनीले हाल कायम चुक्ता पूँजी ३ अर्ब ८४ करोडमा गत आर्थिक वर्षको ७.५ प्रतिशत बोनस सेयर समेत समावेश गरी कायम हुने चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख रुपैयाको १ः०.४० को अनुपातमा १०० अंकित दरका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद निष्कासन गर्नेछ ।

२. कालिञ्चोक दर्शन लिमिटेडले आज माघ ३ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ लाख ९६ हजार ४ सय कित्ता आईपीओ बिक्री गर्न लागेकाे हाे । यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९ सय ९० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा माघ ६ गतेसम्म ढीलोमा माघ १७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

३. अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको २५ औँ वार्षिक साधारण सभा माघ २७ गते मैत्री हल, इन्द्रेणी कम्पलेक्स, नयाँ बानेश्वर काठमाडौँमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ माघ १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले माघ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

४. मंगलबार सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । बढेकाे बजारमा हाइड्राेपावर कम्पनीहरूमा लगानीकर्ताकाे धेरै आकर्षण देखिएकाे छ । सर्वाधिक कारोबार हुने र सर्वाधिक नाफा कमाउने दुवैतिर अधिकांश स्थान हाइड्रोपावर कम्पनीले नै ओगटेका छन् । यता सबैभन्दा धेरै बढ्ने उपसमूहमध्ये पनि दोश्रो स्थानमा हाइड्रोपाववर समूह नै रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से परिसूचक ३२.७२ अंकले बढेर २१८२.११ विन्दुमा पुगेकाे छ । नेप्से १.५२ प्रतिशतले बढेकाे हाे । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.८१ अंकले बढेर ४१६.०६ विन्दुमा पुगेकाे छ । कूल २५० वटा कम्पनीकाे एक कराेड १८ लाख ८३ हजार २ सय ८७ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५ सय ८७ रूपैयाँ बराबरको कारोबार भएकाे छ ।

५. नेपाल बीमा प्राधिकरणले अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड र युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडलाई मर्जरमा जान सैद्धान्तिक सहमति दिएको छ । "बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६ को" दफा ६ बमोजिम यी २ इन्स्योरेन्सलाई एक आपसमा गाभ्न र गाभिन प्राधिकरणले पाैष २९ गतेकाे पत्रमार्फत सैद्धान्तिक सहमति प्रदान गरेको हो। प्रभुसँग मर्जर भाँडिएपछि अजोड र यूनाइटेड इन्स्योरेन्सबीच पौष २६ गते मंगलबार मर्जर सम्झाैता भएकाे थियाे ।

६. गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीको २१औँ वार्षिक साधारण सभा माघ २७ गते, शुक्रबार गुहेश्वरी भवन, हरिहर भवन, ललितपुरमा बिहान १० बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्षकाे मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई ६.५० प्रतिशत बाेनस सेयर र ०.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि माघ २० गते बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, माघ १९ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

७. नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ३ कम्पनीकाे काराेबार फुकुवा गरेकाे छ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, महुली लघुवित्त वित्तीय संस्था लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडलाई सचेत गराउँदै काराेबार फुकुवा गरेकाे हाे । यी ३ वटै कम्पनीले नेप्सेमा लाभांश सम्बन्धी सूचना ढिला दिएका हुनाले सूचना लुकाएकाे आरोपमा यी कम्पनीको कारोबार रोक्का गरिएको थियाे ।

८. कुमारी बैंकले साविक नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र कुमारी बैंक लिमिटेड गाभिएपछिको एकिकृत वित्तीय विवरण सार्वजनिक गरेकाे छ । बैंकले नेप्सेमार्फत् वित्तीय विवरण सार्वजनिक गरेकाे हाे ।  जस अनुसार कुमारी बैंक र एनसीसी बैंक गाभिएपछि बैंकको खुद नाफा २ अर्ब १२ करोड रूपैयाँ पुगेकाे  छ । बैंककाे खुद ब्याज आम्दानी ५ अर्ब ८० करोड ४५ लाख ७९ हजार रूपैयाँ र चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रूपैयाँ पुगेको छ । 

९. प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २३ सदस्यीय भएको छ। मंगलवार १५ जना मन्त्रीले शपथ लिएसँगै ‘क्याबिनेट’ २३ सदस्यीय भएको हो। यसअघि पुस ११ गते ८ जनाको मन्त्रिपरिषद् गठन भएको थियो। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले  आज शपथ लिएका हुन्।

१०. मंगलबार सुनकाे भाउ ताेलामा १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५ हजार १ सय रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ९० रुपैयाँ कायम भएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको