Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार दिनभरको आर्थिक समाचार

अर्थ संसार

शुक्रबार, ०६ माघ २०७९, २१ : ५६ मा प्रकाशित

आज दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ : 

१. नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंककाे नाफामा उछाल देखिएकाे छ । समिक्षा अवधिसम्म बैंककाे नाफा ७४ प्रतिशतले बढेर ६० करोड ४१ लाख ८ हजार रुपैयाँ पुगेकाे छ । बैंकको खुद व्याज आम्दानी पनि ६०.८८ र सञ्चालन मुनाफा पनि ७३.०९४ प्रतिशतले बढेकाे छ । बैंकको ईपीएस ७ रुपैयाँ ०९ पैसा र प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ७३ पैसा रहेको छ ।

२. आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ १६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १ लाख ६९ हजार ७ सय ५५ कित्ता र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि २० हजार ३ सय ३८ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले लघुवित्तको आईपीओमा माघ १६ गतेदेखि फागुन १ गतेसम्म आवेदन दिन सक्नेछन् भने सर्वसाधारणले फागुन ११ गतेदेखि १५ गतेसम्म आवेदन दिन सक्नेछन्  । 

३. यस साता नेप्से परिसूचक २९.४२ अंकले बढेर २१७८.८१ विन्दुमा पुगेकाे छ । नेप्से १.३७ प्रतिशतले बढेकाे हाे । यस साता काराेबार भएका कुल १३ उपसमूहमध्ये ३ वटा उपसमूहले आरालो यात्रा तय गरेका छन् । बाँकी १० वटा उपसमूह बढेकाे छ । आइतबार र सोमबार २ दिन बिदा परेको हुनाले यो साता ३ दिन मात्रै बजार खुलेको थियो । ३ काराेबार दिनमा नेप्से २९.४२ अंकले बढेकाे हाे ।  

४. नारायणी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार समिक्षा अवधिसम्ममा बैंक १ करोड ६६ लाख २९ हजार रुपैयाँ नोक्सानीमा छ ।  पुस मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर नोक्सानी ५ रुपैयाँ २३ पैसा रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ ५३ रुपैयाँ २३ पैसा छ ।  

५. सिन्धु विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । बैंककाे तेर्हाैँ वार्षिक साधारण सभा माघ २७ गते, शुक्रबार, हाेटल सारथी, धुलिखेल, काभ्रेपलाञ्चाेकमा बिहान ९ बजेदेखि सुरू हुनेछ । बैंकले आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट सेयरधनीहरुलाई कुनै प्रकारकाे लाभांश वितरण नगर्ने निर्णय गरेकाे छ । त्यसैले बैंकका लगानीकर्ताकाे हात खाली हुनेछ । बैंकले साधारण सभा प्रयाेजनका लागि माघ १६ गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, माघ १५ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् । 

६. आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । कम्पनीकाे साधारण सभाबाट पारित गरिएकाे ५ प्रतिशत नगद लाभांश सेयरधनीहरूको खातामा पठाइएकाे हाे । कम्पनीले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने सेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ । कम्पनीले बैंक खाताका साथसाथै प्यान नम्बर पनि अद्यावधिक गर्न आग्रह गरेकाे छ ।

७. दरम खोला हाइड्रो इनर्जी कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडसँग सम्झौता गरेको छ ।

८. नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले अनाधिकृत व्यक्तिबाट कार्य सञ्चालन गराएका समाचारप्रति नेप्से कर्मचारी संघले गम्भिर ध्यानाकर्षण जनाएकाे छ । संघले केही दिन अघि विभिन्न सञ्चार माध्यममा आएको समाचार नेप्सेका प्रमुख कार्यकारी अधिकृतले अनाधिकृत व्यक्तिलाई कार्यालयमा प्रवेश गराई दैनिक कार्य सञ्चालन गराउदै आएको विषयप्रति ध्यानाकर्षण जनाएकाे हाे । संघले यस घटनाको सम्बन्धित निकायबाट निष्पक्ष छानविन गरी सत्य तथ्य पत्ता लगाई दोषीलाई कडा कारबाहीको माग गरेकाे छ ।

९. प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन् । शुक्रबार बिहान बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानहरूसँग भेट गर्दै उनले यस्ताे बताएका हुन् । अघिल्लो सरकारसँग भएको सम्झौता हेरेर हजारौँ किसान पीडित भएकाे मिटरब्याजी समस्यालाई आफूले प्राथमिकतामा राखी समाधान गर्ने उनले बताए ।

१०.  शुक्रबार सुनकाे भाउ ताेलामा ७ सय रुपैयाँले बढेर प्रतिताेला १ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँ कायम भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको